• २९ वैशाख २०८१, शनिबार

राष्ट्रिय गौरवका आयोजना : मेलम्ची खानेपानीको उल्लेख्य प्रगति, चुरेको कम

blog

काठमाडौं, असार ३ गते । निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनामध्ये मेलम्ची खानेपानी आयोजनाको प्रगति सबैभन्दा बढी रहेको छ । कम प्रगति भएको आयोजनामा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम रहेको देखिएको छ ।  

दिगो विकास तथा सुशासन समितिको बैठकमा आइतबार प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव मणिराम पोखरेलले गौरवका आयोजनाको प्रगति समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै मेलम्ची खानेपानी आयोजनको (क्षति हुनुअघि) भौतिक प्रगति ९९.४७ प्रतिशत भएको बताउनुभयो । जसको वित्तीयतर्फ ९२.७३ प्रतिशत प्रगति भएको छ । 

सबैभन्दा कम प्रगति भएको गौरवको आयोजना राष्ट्रपति चुरे संरक्षण आयोजनाको भौतिक प्रगति ४.८४ प्रतिशत छ । यसको वित्तीय प्रगति ४.९९ प्रतिशत छ । 

हाल नेपालमा राष्ट्रिय गौरवको आयोजना सङ्ख्या २४ रहेको छ । जसमध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् ।

यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, बुढीगढडकी जलविद्युत आयोजना, पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण कार्य सुरु नै भएको छैन । १० प्रतिशतभन्दा कम प्रगति हुने आयोजनामा सुनकोशी मरिन डाइभर्सन आयोजना, विद्युत प्रसारण आयोजना र राष्ट्रपति चुरे संरक्षण आयोजनाको रहेको पाइएको छ । 

आयोजना समयमै सम्पन्न गर्न निर्देशन 

राष्ट्रिय गौरवका आयोजनाहरू देखिएका समस्याहरू समाधान गरी समयमा नै सम्पन्न गर्ने कार्ययोजना बनाउन सरकारलाई दिगो विकास तथा सुशासन समितिले निर्देशन दिएको छ । 

आइतबार बसेको राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय गौरवका कार्ययोजनाको विषयमा छलफल पश्चात् सरकारलाई यस्तो निर्देशन दिएको हो । समिति सभापति प्रकाश पन्तले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले राष्ट्रिय गौरवका कार्ययोजनाका समस्या समाधान गरी समयमा नै सम्पन्न गर्न छुट्टै कार्ययोजना बनाउन आग्रह गर्नुभयो ।

उहाँले राष्ट्रिय गौरवका आयोजनाहरू समयमा नै सम्पन्न गर्न आयोजनामा देखापरेका समस्या हल गर्ने गरी आयोजना विशेषको कार्ययोजना बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले आयोजना कार्यान्वयनको लागि आवश्यक पर्ने नीतिगत सुधार केके हुनसक्ने भन्ने विषय समेटेर कार्ययोजना बनाउनु पर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय गौरवका आयोजनाहरू समयमा नै सम्पन्न गर्न आयोजनामा देखापरेका समस्या हल गर्ने गरी आयोजना विशेषको कार्ययोजना बनाउने र आयोजना कार्यान्वयनको लागि आवश्यक पर्ने नीतिगत सुधार केके हुन सक्छन् । तह गत मन्त्रालयगत समन्वयका आधारमा स्थानीय र प्रदेश सरकारसँग कसरी गर्न सकिन्छ भन्ने कार्ययोजना बनाउन निर्देशन दिन चाहन्छु ।’’

उहाँले मन्त्रालय गत आधारमा स्थानीय र प्रदेश सरकारसँग कसरी गर्न समन्वय गर्न सकिन्छ भन्ने कार्ययोजना बनाउन निर्देशन दिने बताउनुभयो । उहाँले मन्त्रीपरिषद् कार्यालय र समिति सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो । 

निर्माणाधीन १८ आयोजनाको प्रगति कति ?

मेलम्ची खानेपानी आयोजना 

बहुप्रतीक्षित आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानीको भौतिक प्रगति ९९.४७  भने यसको वित्तीय प्रगति भने ९२.७३ प्रतिशत रहेको छ । 

हुलाकी राजमार्ग 

गौरवको आयोजनाको रुपमा रहेको यस आयोजनाको भौतिक प्रगति ८८ प्रतिशत र वित्तीय प्रगति पनि ८८ प्रतिशत  छ । 

लुम्बिनी क्षेत्र विकास कोष 

गौरवको आयोजनामध्ये तेस्रो धेरै प्रगति भएको आयोजनको भौतिक प्रगति ८७ प्रतिशत र वित्तीय प्रगति ६५.७५ प्रतिशत छ ।

 सिक्टा सिँचाई आयोजना 

गौरवको आयोजनाको रुपमा रहेको यस आयोजनको यस आयोजनाको भौतिक प्रगति ७३.९३ प्रतिशत र वित्तीय प्रगति ७३.५ प्रतिशत रहेको छ । 

पुष्पलाल मध्यपहाडी राजमार्ग

यस आयोजनाको भौतिक प्रगति ६९ प्रतिशत र वित्तीय प्रगति ७४.०४ प्रतिशत भएको छ । 

पशुपति क्षेत्र विकास कोष 

पशुपति क्षेत्र विकास कोषको भौतिक प्रगति ६५ प्रतिशत र वित्तीय प्रगति ६२.७६ प्रतिशत छ । 

बबई सिँचाई आयोजना 

यस आयोजनाको भौतिक प्रगति ६२.२३ प्रतिशत र वित्तीय प्रगति ५८.८४ प्रतिशत भएको छ । 

रानी जमरा कुलरीया सिँचाई आयोजना 

यस आयोजनाको भौतिक प्रगति ५८.५० प्रतिशत र वित्तीय प्रगति ५८.७ प्रतिशत छ । 

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना 

 गौरवको आयोजनाको रुपमा रहेको यस आयोजनाको भौतिक प्रगति ४२.८२ प्रतिशत र वित्तीय प्रगति ५८.८० प्रतिशत छ । 

उत्तर दक्षिण कोशी कोरीडोेर 

गौरवको आयोजनाको रुपमा रहेको यस आयोजनाको भौतिक प्रगति ४१ प्रतिशत र वित्तीय प्रगति ४०.१६ प्रतिशत छ । 

रेल्वे तथा मेट्रो रेल विकास आयोजना

 यस आयोजनाको भौतिक प्रगति ३८.५ प्रतिशत र ३८.९२ प्रतिशत छ । 

उत्तर दक्षिण कालीगण्डकी कोरीडोर लोकमार्ग 

यस आयोजनको भौतिक प्रगति ३६ प्रतिशत र वित्तीय प्रगति ३५ प्रतिशत छ ।

काठमाडौं तराई फास्ट ट्रयाक

यस आयोजनाको भौतिक प्रगति २३.४५ प्रतिशत  वित्तीय प्रगति २५.६४ प्रतिशत छ ।

उत्तर दक्षिण कर्णाली कोरीडोर लोकमार्ग

यस आयोजनाको भौतिक प्रगति २२ प्रतिशत र वित्तीय प्रगति १८.७६ प्रतिशत छ । 

महाकाली सिँचाई आयोजना 

यस आयोजनाको भौतिक प्रगति १५.७३ प्रतिशत र वित्तीय प्रगति १५.४३ प्रतिशत छ । 

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना 

यस आयोजनाको भौतिक प्रगति ७.६ प्रतिशत र वित्तीय प्रगति ७.५७ प्रतिशत रहेको छ । 

विद्युत प्रसारण आयोजना 

यस आयोजनाको भौतिक प्रगति ६.९७ प्रतिशत र वित्तीय प्रगति ६.९७ प्रतिशत छ । 

राष्ट्रप्रति चुरे संरक्षण आयोजना 

यस आयोजनाको भौतिक प्रगति ४.८४ प्रतिशत र वित्तीय प्रगति ४.९९ प्रतिशत देखिएको छ । 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।