• १२ असोज २०८१, शनिबार

नेपाल र फिलिपिन्सको खेल आज

blog

मैत्रीपूर्ण खेलअघि अभ्यास गर्दै नेपाली टोली । तस्बिर : एन्फा

काठमाडौं, जेठ ३२ गते । भारतको बेंगलाेर असार ६ देखि १८ गतेसम्म आयोजना हुने १४औँ साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि नेपाली टोलीले फिलिपिन्ससँग उसैको मैदानमा बिहीबार (आज साँझ) मैत्रीपूर्ण खेल खेल्दैछ । 

तुलनात्मक रुपमा बलियो फिलिपिन्सविरुद्धको खेललाई नेपालले आफ्नो गल्ती र कमजोरी औँल्याउने अवसरको रूपमा लिएको छ । मैत्रीपूर्ण खेलकै दिन बिहीबार बिहान मनिलामा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पका कारण स्थानीय रेल सेवा अवरुद्ध भएको थियो । भूकम्पले ठुलो क्षति नपुगेका कारण नेपाल र फिलिपिन्सबीचको फुटबल खेल समय साँझ ४:४५ बजे हुने बताइएको छ । 

मैत्रीपूर्ण खेलपछि नेपाली टोली उतैबाट भारत जानेछ । मैत्रीपूर्ण खेल खेल्न जानुअघि नेपालले एक दिन मात्र एकल टोलीको रूपमा दशरथ रङ्गशालामा अभ्यास गरेको थियो । शहीद स्मारक ‘ए’ डिभिजन लिगका कारण नेपाली टोलीले आवश्यक तयारी र बन्द प्रशिक्षण गर्न पाएको थिएन । 

मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपका लागि एन्फाले एक साताअघि मात्र २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरिसकेको छ । टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले अनुभवी र ‘ए’ डिभिजन लिगमा राम्रो खेलिरहेका खेलाडीलाई टोलीमा सामेल गर्नुभएको छ । रक्षक विमल पाण्डे, सीमान्त थापा र मिडफिल्डर लाकेन लिम्बुले राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाउनुभएको छ । 

नेपाल दक्षिण एसियाकै ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० ले दुई साताअघि गरेको समूह विभाजनमा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा आयोजक भारत, पाकिस्तान र आमन्त्रित टोली कुवेत रहेको छ । भारत र कुवेत नेपालका लागि तुलनात्मक रूपमा कठिन प्रतिद्वन्द्वी हुन् ।

यस्तै समूह ‘बी’ मा मालदिभ्स, भुटान, बङ्गलादेश र लेबनान परेको छ । लेबनानले पनि पहिलो पटक आमन्त्रित टोलीको रूपमा साफ च्याम्पियनसिप खेल्न लागेको हो । विश्व फुटबल महासङ्घ (फिफा) को निलम्बनका कारण श्रीलङ्काले भाग लिने छैन । नेपालले अहिलेसम्म साफ फुटबलको उपाधि जित्न सकेको छैन ।

मालदिभ्समा भएको १३औँ संस्करणमा नेपाल उपविजेता बनेको थियो । फाइनलमा नेपाल भारतसँग ३–० गोलले पराजित भएको थियो । साफमा नेपालको यो नै अहिले सम्मको उत्कृष्ट नतिजा हो । 

यसपटक तुलनात्मक रूपमा कठिन समूहमा पर्नु र राष्ट्रिय टोलीका तीन दर्जन रोजाइका खेलाडी विदेश पलायन हुनाले साफ फुटबल नेपालका लागि झनै कठिन हुने देखिएको छ । नेपालले असार ६ गते कुवेतसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । 

नेपाली टोली 

गोलरक्षक : किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ

रक्षक : विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सीमान्त थापा

मिडफिल्डर : पूजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु र आभास लामिछाने  

स्ट्राइकर : आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष् चौधरी र विमल घर्तीमगर ।