• ३ असार २०८१, सोमबार

फजुल खर्च घटाउँदै सुनकोशी गाउँपालिका

blog

शेरबहादुर राई

ओखलढुङ्गा, जेठ ३१ गते । सुनकोशी गाउँपालिकाले फजुल खर्च कटौती गरेको छ । गाउँपालिकाले अतिथि सत्कारमा मात्र २३ हजार खर्च गरेको पाइएको छ । 

गाउँपालिकाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा अतिथि सत्कार बापत मात्र २३ हजार खर्च गरेको हो । ‘अतिथि सत्कारका लागि गाउँपालिकाबाट पाँच लाख रुपियाँ विनियोजन गरिएको गाउँपालिका अध्यक्ष कमल तामाङले बताउनुभयो । 

"पाँच लाखमध्ये मात्र २३ हजार खर्च भएको छ," अध्यक्ष तामाङले भन्नुभयो, "अझै चार लाख ७७ हजार गाउँपालिकाको खातामा छ ।" विगतका वर्षहरूमा अतिथि सत्कारका लागि लाखौँ खर्च गर्ने परिपाटीलाई सुधार गरिएको अध्यक्ष तामाङले बताउनुभयो । "यसै वर्ष गाउँपालिका कार्यालयमा सयौँको सङ्ख्यामा अतिथिहरू आउनुभएको थियो, मेरो निजी घरमा व्यवस्थापन गरेर राखेँ, गाउँपालिकालाई आर्थिक भार दिइन," उहाँले भन्नुभयो । 

गाउँपालिकाबाट हुने खर्च व्यवस्थापन गर्दै भ्रष्टाचार अन्त्य गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष तामाङले बताउनुभयो । आफ्नो कार्यकालमा भ्रष्टाचार मुक्त गाउँपालिका बनाउने लक्ष्य रहेको तामाङको भनाइ छ । गाउँपालिकाबाट सञ्चालन भएका प्रत्येक विकास निर्माण तथा गतिविधिहरूमा कडा निगरानी र खबरदारी गरी भ्रष्टाचार निवारणमा सहयोग गर्न सरोकारवालाहरूलाई अध्यक्ष तामाङले आग्रह गर्नुभएको छ ।