• १ असार २०८१, शुक्रबार

पुल बनेपछि यात्रा सहज

blog

तिनाउ नदीको बाँधबारीमा सम्पन्न भएको पुल । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, जेठ २८ गते । चर्चरे–सराई–आर्यभञ्ज्याङ सडकखण्डको बाँधबारीमा पक्की पुल बनेपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ । लुम्बिनी प्रदेश सरकार भौतिक तथा पूर्वाधार मन्त्रालयको लगानीमा बाँधबारीमा पक्की पुल बनेपछि यो सडकखण्ड भएर यात्रा गर्ने यात्रुलाई जुनसुकै बेला यात्रा गर्न सहज भएको हो । 

यसअघि पुल नहुँदा जोखिम मोलेर तिनाउ नदी तर्नुपर्ने बाध्यता थियो । माथागढी गाउँपालिका वडा नं. १ चिदीपानी, वडा नं २ रुप्से र वडा नं. ३ कसेनी र बगनासकाली गाउँपालिकाको पोखराथोक जोड्ने गरी बाँधबारीमा पुल बनेको हो । पक्की पुल निर्माण सकिएपछि यस भेगका नागरिकलाई हिउँद तथा वर्षात्को समयमा तिनाउ खोला पार गर्न सहज भएको छ । 

१८ महिनाभित्र पुल निर्माणको काम सकिने गरी वि.स. २०७७ भदौ २५ मा सम्झौता भएको थियो । तर निर्माण व्यवसायी काष्ठमण्डप÷तिरुपति जेभी, सुनवललले ढिला गरी काम सकेको सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले जानकारी दिनुभयो । पुल निर्माणमा चार करोड आठ लाख ४९ हजार रुपियाँ खर्च भएको गुप्ताले बताउनुभयो । 

पुलको ४० मिटर लम्बाई र ११ मिटर चौडाइ रहेको छ । तिनाउ खोला तर्नका लागि यो पुल निर्माण गरिएको कार्यालयले जनाएको छ । पुल बनेपछि बाह्रै महिना चर्चरे– सराई हुँदै चिदीपानी आर्यभाङ्ज्याङ् सडक खण्डमा यात्रा गर्न सहज भएको छ । पुल निर्माणपछि सिद्धार्थ राजमार्ग हुँदै राम्दी तथा स्याङ्जा, पोखरा, बुटवल जान आउनका लागि सहज भएको स्थानीय बासिन्दाको भनाई छ । 

बाँधबारीमा पुल बनेपछि अब जुनसुकै बेलामा छोटो दुरीबाट पाल्पा र स्याङ्जासम्मको यात्रा गर्न सहज भएको तिनाउ–५, बिसुनडाँडाका यमबहादुर सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले चर्चरेबाट राम्दीसम्म पुग्न १७ किलोमिटर लामो यात्रा गर्नुपर्ने बाध्यता थियो अब उक्त बाध्यता हटेको छ ।”

चर्चरे–आर्यभाङ्ज्याङ् सडकको अर्को स्थान चर्चरेमा समेत पक्की पुल निर्माणको काम यसअघि नै सकिएको छ । यो सडकको दुई स्थानमा पक्की पुल भएपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुका लागि समय र खर्चको समेत बचत भएको छ । सिद्धार्थ राजमार्ग भएर स्याङ्जा, पोखरा, रामपुर जान आउनका लागि छोटो दुरीको वैकल्पिक सडक बनेको माथागढी–१, चिदीपानीका स्थानीय बासिन्दा दिनेश घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “अब कम समयमा छोटो दुरी पार गर्दै बुटवल जान र आउन तथा पोखरा, स्याङ्जा जान आउन सजिलो हुने भयो ।” पुल बनेपछि यस भेगका स्थानीय बासिन्दा समेत खुसी भएका छन् । 

विगत दुई दशकअघिदेखि बाँधबारीमा पुल बनाउने सपना पूरा भएको स्थानीय बासिन्दा तथा माथागढी–१, का वडा अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो ।