• २३ असार २०८१, आइतबार

लम्पी स्किन रोगबाट गुल्मीमा १५० गोईगोरु मरे, पाँच हजार सङ्क्रमित

blog

तिलाचन पाण्डे
तम्घास, जेठ २८ गते ।
 पछिल्लो समय लम्पि स्किन रोगको सङ्क्रमणका कारण गुल्मीमा १५० गाईगोरु मरेको छ ।

जिल्लाका १२ वटै स्थानीय तहमा फैलिएको उक्त रोगका कारण १५० गाईगोरु मरेको र करिब पाँच हजार पशु सङ्क्रमण भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख डा. भरत काफ्लेले जानकारी दिनुभयो ।

सुरुमा पशुमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागहरूमा गिर्खा आउने र पाक्ने जस्ता लक्षणहरू देखा पर्ने गरेको उहाँले बताउनुभयो । पशुहरूमा देखिएको उक्त रोग लामखुट्टे र झिँगाबाट सर्ने गर्दछ ।

यो रोग विशेष गरी गाईगोरुमा देखा परेको र भैँसीहरूमा बिरलै भएको काफ्लेको भनाइ छ । दूध दिने गाईहरूमा उक्त रोग देखा परेपश्चात् आधा जति दूधमा कमी आएको कार्यालयले जनाएको छ । लम्पी स्किप रोगको सङ्क्रमणका कारण १० प्रतिशत पशुहरूको मृत्युदर हुने सम्भावना रहेको काफ्लेले बताउनुभयो ।

उक्त रोग न्यूनीकरण गर्नका लागि कार्यालयले प्राविधिक र विज्ञ सेवा प्रदान गर्दै आएको छ । कार्यालयमा बजेट नभएकाले स्थानीय तहहरूसँग सहजीकरण गरी आफूहरूले प्राविधिक र विज्ञ सेवाहरू प्रदान गर्दै आएको काफ्लेले बताउनुभयो ।

स्थानीय तहहरूको सहयोगमा पशुहरूमा करिब २५ लाख रुपियाँ बराबरको औषधि र भ्याक्सिन लगाइएको छ ।

यता धुर्कोट गाउँपालिकाका भूपाल पोखरेलले पालिकाभित्र एक दर्जनभन्दा बढी पशुहरू मरिसकेको बताउनुहुँदै हजार बढी पशुहरूमा भ्याक्सिन लगाइसकेको बताउनुभयो ।

जिल्लामा रहेको विज्ञ केन्द्रलाई प्रदेश सरकारले राम्रोसँग व्यवस्थापन गर्न नसक्दा यस्ता महामारीमा कुनै काम नरहेको उहाँको भनाइ छ ।

नामको मात्रै विज्ञ केन्द्रको औचित्य नभएको भन्दै स्थानीय सरकारलाई अझ प्रभावकारी बनाउनुपर्ने उहाँको धारण छ ।