• ६ पुस २०८२, आइतबार

सुम्हात्लुङ मिनि म्याराथन पुरुष र महिला दुवै विधामा

blog

फिदिममा आयोजना गर्न लागिएको सुम्हात्लुङ मिनि म्याराथनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम, पुस ६ गते । चासोक तङनामको अवसरमा आठौ संस्करणको सुम्हात्लुङ मिनि म्याराथन आयोजना गरिने भएको छ । महिला र पुरुषका छुट्टाछुट्टै प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्थाले पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएको हो।

प्रतियोगिता पुस १२ गते गर्नेगरी तयारी थालिएको बताइएको छ । पुरुषतर्फ प्रतियोगिता साढे नौ किलोमिटर, र महिलातर्फ साढे पाँच किलोमिटर दुरी तय गरिएको आयोजक संस्था सुम्जिरी सुम्हात्लुङ आम्बेपज संरक्षण एवम् विकास प्रतिष्ठानका अध्यक्ष नन्द लावतीले बताउनुभयो ।

सुम्हात्लुङ मन्दिरबाट सुरु हुने दौड पाँचथर क्याम्पस, आहालगैरी, जोरसाल, पल्लोटार, कालुरम ग्यारेज, फिदिम मावि, ठाडो लाइन, हुलाक लाइन होटल सरगम ओरालो र जिल्ला प्रहरी कार्यालय हुँदै फिदिम ४ को सुम्हात्लुङ मन्दिरमा पुगेर समापन हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम द्वितीय र तृतीय हुने धावकले उपाधिसँगै क्रमशः तीस हजार, बीस हजार, दश हजार नगद पुरस्कारसँगै मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने महिला धावकतर्फ प्रथम द्वितीय र तृतीय हुनेले क्रमश पन्ध्र हजार, दश हजार र पाँच हजार नगद पुरस्कारसँगै मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सुम्हात्लुङ मन्दिरको संरक्षण र प्रचार प्रसार सगै खेलकुद र संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्धन गर्ने उदेश्यले मेला आयोजना गरिएको हो । सुम्हात्लुङ मिनि म्याराथन २०७३ सालदेखि आयोजना गर्न थालिएको हो । प्रतियोगितामा नेपालका विभिन्न जिल्लासँगै भारत र सिक्किमसम्मका धावकले भाग लिन सक्ने आयोजकले जनाएको छ ।

यस्तै, सोही कार्यक्रममा रमाइलो मेलासँगै विविध सांस्कृतिक कार्यक्रम र झाँकी, केलाङ, धाननाँच, हाक्पारे, मारुनी नाच, डम्फू नाच, सुनवार नाच, बालन र सँगिनी समेत प्रस्तुत गरिनेछ ।

किराँत लिम्बू हरुको महान पर्व चासोक तङनामको सन्दर्भ पारेर आयोजना गरिने चासोक मेला तथा सुम्हात्लुङ मिनि म्याराथन ऐतिहासिक स्थल सुम्हात्लुङ गडी मन्दिर परिषरमा आयोजना हुन्छ । जस्को प्रवर्धनका लागि फिदिम नगरपालिकाको चार नम्बर वडा कार्यालयले सहयोग गर्दै आएको छ ।

यो वर्ष सञ्चालन हुन लागेको मेला र म्याराथन आठौं संस्करणका हुन । २०७३ सालदेखि शुरु भएका दुवै कार्यक्रम २०७६ र ०७७ सालमा भने कोरोना महामारीका कारण स्थगन गरिएका थिए ।