• ६ पुस २०८२, आइतबार

कोशी प्राइड लिग क्रिकेट फागुनमा

blog

केपीएलको लोगो सार्वजनिक गरिँदै । तस्बिर : गोरखापत्र

काठमाडौँ, पुस ६ गते । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । 

आयोजक कोशी प्राइड प्रालिले आइतबार काठमाडौँमा लिगको मिति, लोगो तथा सहभागी टोलप्को नाम सार्वजनिक गरेको हो । सुनसरीको डा. खलिल आजाद क्रिकेट मैदानमा सञ्चालन हुने लिगमा सात टोलीको सहभागिता रहनेछ ।

जसमा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्नास र गोर्खा एभेन्जर्स रहेका छन् । 

आयोजकले सातवटै टोलीको मालिकसमेत सार्वजनिक गरेको थियो । केपीएलमा प्रत्येक टोलीमा कम्तीमा ११ खेलाडी रहनेछन् । जसमा एक मार्की, एक आइकोनिक, राष्ट्रिय टोलीबाट ड्राफ्ट हुने तीन खेलाडी रहनेछन् । 

सहभागी खेलाडीलाई तीन श्रेणीमा अक्सनबाट लिईने बताईएको छ । श्रेणी ‘ए’को तीन जना खेलाडी यू(१९ वा राष्ट्रिय टोलीबाट कम्तिमा एउटा खेल खेलेको खेलाडी हुनुपर्नेछ । जसको मुल्य ४५ देखि ६५ हजार तय गरिएको छ ।

यस्तै श्रेणी ‘बी’ मा दुई खेलाडी रहने र उसको मुल्य २५ देखि ४५ हजार तथा श्रेणी ‘सी’मा एक खेलाडी र उसको मुल्य पाँच देखि २५ हजार रहनेछ । खेलाडी अक्सन चाँडै गरिने पनि आयोजकले जनाएको छ ।

यस लिगबाट क्रिकेटका राम्रा खेलाडी उत्पादनमा सहयोग पुग्ने अपेक्षा आयाजकले गरेको छ ।