ज्ञानु पंगेनी
मध्यविन्दु, पुस ६ गते । मध्यविन्दु नगर अस्पतालको आइतबार उद्घाटन गरिएको छ । नगर प्रमुख भीमलाल अधिकारीले अस्पताल भवनको उद्घाटन गर्नुभएको हो ।
चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रूपमा स्तरोन्नति गरि १५ शय्याको नगर अस्पताल सञ्चालन गरिएको हो । अत्याधुनिक सुविधासहितको भवन निर्माण सम्पन्न गरी गत भदौबाट नै स्वास्थ्य सेवाहरू, नव निर्मित भवनबाट सञ्चालनमा ल्याइएको थियो । जसको विधिवत रूपमा उद्घाटन भने आइतबार भएको हो ।
२०७९ मङ्सिर २३ गते शिलान्यास गरिएको भवन तीन वर्षभित्र निर्माण सम्पन्न भएको हो । भ्याटसमेत १७ करोड ५६ लाख २८ हजार एक सय ८७ रुपिँया लागतमा अस्पताल भवन निर्माण भएको हो । भुइँतलामा रहेको २१ वटा कोठामा ओपिडी , ल्याब , अपरेसन थियटर , फार्मेसी लगायतका सेवाहरू सञ्चालन गरिएको छ भने पहिलो तलामा पनि २१ वटा कोठा छ जसमा अतरङ्ग विभाग र प्रशासनिक सेवा सञ्चालन गरिएको छ । दोश्रो तलामा ४ वटा चिकित्सक आवास कक्ष रहेका छन् ।
सुविधासम्पन्न पूर्वाधारको अस्पताल निर्माण भएको र अब गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि सेवाहरू थप गर्नेक्रममा रहेको नगर प्रमुख अधिकारीले बताउनु भयो । यसै महिनादेखि एमडिजिपी सहित, दैनिक रूपमा हरेक दिन एउटा विशेषज्ञ सेवा प्रदान गर्नेगरी काम अगाडि बढाएको नगर प्रमुख अधिकारीले बताउनुभयो । उहाँले बालरोग विशेषज्ञ, फिजियोथेरापी, हाडजोर्नी लगायतका सेवाहरू प्रदान गर्ने बताउनु भयो ।
अस्पतालमा केही समय अघिदेखि शल्यक्रिया सहितको आँखा अस्पताल पनि सञ्चालन आएको भन्दै अधिकारीले अब आँखा उपचार र आधारभूतका धेरै स्वास्थ्य उपचारका लागि कावासोती र भरतपुर धाउन नपर्ने गरी नगर अस्पतालले आफ्नो सेवा दिने बताउनु भयो ।
अहिले नगर अस्पतालमा दैनिक रूपमा तीन सय हाराहारी बिरामी सङ्ख्या उपचारका लागि आउने गरेको अस्पतालका कार्यालय प्रमुख अमरेशचन्द्र शाहले जानकारी दिनु भयो । आफ्नै ठाउँमा विशेषज्ञ सुविधा सहितको अस्पताल भवन निर्माण भएपछि स्थानीले पनि खुसी व्यक्त गरेका छन् । स्थानीय समाजसेवी बाबुराम पाण्डेले सामान्य उपचारका लागि पनि कावासोती वा भरतपुर धाउनुपर्ने अवस्थाको अब अन्त्य भएको भन्दै सुविधा युक्त भवनबाट गुणस्तरीय सेवा पाउनेमा विश्वस्त रहेको धारणा राख्नु भयो ।