काठमाडौं, जेठ २६ गते। बालबालिकामा देखिने स्वास्थ्य समस्यामध्ये पेट दुखाई सम्बन्धी समस्या प्रमुख बन्दै गएको छ। त्रिवि शिक्षण अस्पतालका बाल शल्यचिकित्सक डा. गेहराज दाहालका अनुसार अस्पतालमा आएका मध्ये ३० देखि ४० प्रतिशत बालबालिका पेट दुखाइको समस्या देखिएको छ ।
पेट दुखाइको समस्या लिएर अस्पतालमा आउने धेरैको समस्याको समाधान औषधिबाटै हुने उहाँको भनाइ छ। अस्पताल पुगेका केही बिरामीलाई मात्र शल्यक्रिया आवश्यक पर्नुपर्ने डा. दाहालको भनाइ छ।
बालबालिकालाई एउटै स्वास्थ्य समस्याले मात्र नभई विभिन्न अङ्गमा हुने समस्याले गर्दा पेट दुख्ने गरेको डा. दाहालको ठहर छ।
उहाँ भन्नुहुन्छ, “बालबालिकालाई कुनै एक कारणले मात्र नभई विभिन्न कारण जस्तै दिसा, पिसाब, किड्नीमा सङ्क्रमण, पाँचन सम्बन्धी समस्या, कब्जियत, जन्डिस, पेटमा भएका रगतका नसामा अवरुद्ध भएमा, सानो, ठुलो आन्द्रा र कलेजोमा सङ्क्रमण भएमा पेट दुख्ने हुन्छ।”
त्यसका अलाव झाडापखाला लाग्ने, नियमित रूपमा दिसा नहुने, दिसामा रगत जाने, पेट फुल्ने, पेटमा गाठागुठी आउने जस्ता लक्षण देखिने डा. दाहालको भनाइ छ। पेट दुखाइको समस्याले बच्चा चिडचिडे हुने, एकनासले रुने, खुट्टा खुम्चाएर सुत्ने, आतिने जस्ता लक्षण लिएर अस्पतालमा आउने गर्दछन्।
कुनै बेलामा विभिन्न मानसिक समस्याले गर्दा पनि पेट दुख्यो भनेर अस्पतालमा आउने गरेको डा. दाहालको भनाइ छ। डा. दाहालका अनुसार दिसा पातलो वा कब्जियत भएमा बालबालिका दिसा पिसाब गर्ने बेला दुखेर रुने गर्दछन् ।
बालबालिकाले दुख्यो भने भन्न नसक्ने हुँदा अभिभावकले आफ्नो बालबालिकाले कस्तो व्यवहार देखाउँछन् के गर्दा बढी रुन्छन् भन्ने कुराको ध्यान दिन डा. दाहालको सुझाव छ।
अन्य मानिसको तुलनामा बालबालिकाको नाजुक हुने हुँदा कहिलेकाहीँ बालबालिकाको रोग पहिचानमा ढिलाइ हुने चिकित्सक बताउँछन्। रोग पहिचानमा ढिलाइ भएपछि उपचारमा पनि ढिलाइ हुने डा. दाहालको भनाइ छ। यदि, रोगको पहिचान समयमा नै भएमा सम्पूर्ण उपचार नेपालमा नै हुने चिकित्सक दाहालको भनाइ छ।
बालबालिकाको पेट के कारणले दुख्छ भन्ने विषयमा केन्द्रित भएर त्रिवि शिक्षण अस्पतालका बालशल्य चिकित्सक डा. गेहराज दाहालसँग गोरखापत्र अनलाइनका लागि सिर्जना खत्रीले गरेको कुराकानीका आधारमा मनोजरत्न शाहीले तयार पर्नुभएको भिडियो संवादः
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                