• १ पुस २०८२, मङ्गलबार

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

blog

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा प्रभातफेरी कार्यक्रममा सहभागीहरू । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, मङ्सिर ९ गते । जिल्लामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।

बागलुङमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाउने योजना बनेको बागलुङ नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख रचना आचार्यले जानकारी दिनुभयो । 

मङ्गलबार भएको पहिलो दिनको शुभारम्भ गण्डकी प्रदेश सभाकी सदस्य कुशुम बुढा र बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले गर्नुभयो ।

सो अवसरमा सांसद बुढाले लैङ्गिक हिंसा व्यवहारमा मात्र नभइ सोचाइ र सभ्यतामा देखिनुपर्ने बताउनुभयो । बुढाले हिंसा गर्नेलाई कारबाही गर्न राज्य सँधै लाग्नुपर्ने भन्दै हिंसा सहेर बस्दा पनि समाजमा समस्याहरू उत्पन्न भएको बताउनुभयो । 

कार्यक्रममा नगर प्रमुख बसन्तकुमार श्रेष्ठले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा धेरै कार्यक्रम समावेश गरिने बताउनुभयो ।

उहाँले हिंसा प्रायः महिलामाथि हुने गरेको भनिए पनि पुरुष समेत हिंसाको सिकार बनेका घटना धेरै रहेको बताउँदै त्यसका लागि समाज सभ्य र हिंसा विरुद्ध लाग्ने तत्परता चाहिएको धारणा व्यक्त गर्नुभयो । 

श्रेष्ठले नगरपालिकाभित्र गरिने विकास निर्माणदेखि अन्य काममा महिला र पुरुषको समान सहभागिता मार्फत हिंसा न्युनीकरणको अभ्यास गरिएको जानकारी दिनुभयो । 

पछिल्लो समय उपभोक्ता समितिमा महिलाको उपस्थिति र पदाधिकारीमा अनिवार्य गरिएको छ । महिला पदाधिकारी भएको उपभोक्ता समितिमा राजश्व छुटको समेत व्यवस्था गरिएको छ । 

नगर प्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षता, महिला शाखा प्रमुख रचना आचार्यको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले हिंसा विरुद्ध सबै लड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले कार्यक्षेत्रमा हुने, घरेलु हिंसा र अन्य क्षेत्रका हिंसाबाट मुक्त समाज बनाउन राज्यका निकाय बाहेक सामाजिक अभियान्ताहरु समेत सहभागी बन्नुपर्नेमा जोड दिनुभयो । 

त्यसअघि बागलुङ नगरपालिका, विभिन्न आमा समूह, प्रहरी, सामाजिक संस्थाले प्रभातफेरी गरेका थिए । उनीहरुले हिंसा विरुद्धका प्लेकार्ड पनि बोकेका थिए ।

१६ दिनसम्म मनाइने कार्यक्रममा नगरपालिका, विभिन्न स्थानीय तहसहित वडा वडामा पनि रचनात्मक काम गरेर दिवस मनाउने लक्ष्य राखिएको आचार्यले जानकारी दिनुभयो । दिवसको अवसरमा सेतो रिबन लगाउने काम पनि सुरु भएको छ ।