• ९ मंसिर २०८२, मङ्गलबार

लागु औषधसहित भारतीय नागरिक पक्राउ

blog

सशस्त्र प्रहरीले मटिहानीको सीमा नाकाबाट ठुलो परिमाणको लागु औषधसहित नियन्त्रणमा लिएको भारतीय नागरिक । तस्विर:रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, मङ्सिर ९ गते  । सशस्त्र प्रहरीले नेपाल-भारत सीमा नाकाबाट ठुलो परिमाणको लागुऔषधसहित एक भारतीयलाई पक्राउ गरेको छ ।

 सशस्त्रले विभिन्न ५ प्रकारका नियन्त्रित लागु औषधसहित भारत विहारको मधवापुर, मधुवनी गाउँपञ्चायत–२ का ३५ वर्षीय विनोद साहलाई नियन्त्रणमा लिएको हो । 

बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनीका नायब महानिरीक्षक ( डिआइजी ) कृष्ण ढकालका अनुसार साहको साथबाट निटजासकपान ट्याबलेट तीन हजार २९८ थान, डाइजापाम इन्जेक्सन २९९ भाइल, फेनारगन इन्जेक्सन ३०० भाइल, बुप्रेनोफिन इन्जेक्सन २७४ थान तथा पहिचान खुल्न नसकिएको लागु औषध जस्तो देखिने खैरो पदार्थ ६५० मिलिग्राम बरामद भएको हो । 

मटिहानीस्थित सशस्त्रको बोर्डर आउटपोस्ट (विओपी) का सप्रनानि टीकाबहादुर अधिकारीको कमान्डमा खटेर गएको तीन जनाको टोलीले नेपालतर्फ आँउदै गरेका साहलाई मटिहानी नगरपालिका–८ स्थित सानो सीमा स्तम्भ नं.२९५-५ नजिक रहेको नं.२ बोर्डरमा तलासी लिएको थियो । 

तलासीका क्रममा साहले बोकेको नीलो रङ्गको झोलाबाट उक्त परिमाणका लागुऔषध बरामद भएको डिआइजी ढकालले जानकारी दिनुभयो । लागु औषधका साथै साहको साथबाट मोबाइल, आइप्याड तथा नेपाली र भारतीय रुपियाँसमेत बरामद गरेको जनाइएको छ ।

 पक्राउ परेका साहलाई बरामद लागु औषध तथा सामग्रीसहित जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्रले जनाएको छ । 

सशस्त्र डिआइजी ढकालले लागु औषध तस्करीविरुद्ध सीमा क्षेत्रमा सुरक्षा निगरानीलाई थप कडा पारिएको बताउनुभयो ।