• ८ वैशाख २०८१, शनिबार

प्लास्टिकका कारण जनस्वास्थ्यमा गम्भीर असर

blog

काठमाडौँ, जेठ २३ गते । थानकोटकी गोमा लामा सोमबार बिहान तरकारी किन्न बजार पुग्नुभयो। उहाँले दैनिक किन्ने गरेका दुध, पाउरोटी, फलफूल पनि किनमेल गर्नुभयो। फर्कंदा प्लास्टिकका झोलाका पोका हातभरि देखेपछि जिज्ञासा राख्दा उहाँले भन्नुभयो, “घरबाट झोला बोक्ने झन्झट गर्नुपर्दैन। पसलेले प्लास्टिकको झोला दिइहाल्छ, सामान बोक्न पनि सजिलो हुन्छ।”

प्रयोग गर्न सजिलो लाग्ने प्लास्टिकले आफू, परिवार र समुदायकै लागि रोगको घर बन्दै गएकोप्रति भने उहाँ जस्तै आमनेपाली अञ्जान छन्। नेपाल सरकारले २०७२ सालदेखि ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोला प्रयोग गर्न नपाउने कानुनी बन्देज लगाएको थियो तर बजारमा मापदण्डभन्दा पातला प्लास्टिकका झोला जथाभाबी प्रयोग भइरहेका छन्। 

सोमबार ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल गरौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ विश्व वातावरण दिवस नेपालमा पनि मनाइयो। विश्वमा ४० करोड मेट्रिक टनभन्दा बढी प्लास्टिक दैनिक उत्पादन हुने गरेको संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको तथ्याङ्क छ। उपभोक्ताले प्रयोगपछि दैनिक दुई हजार ट्रक प्लास्टिकजन्य फोहोर समुद्र, नदी तथा पोखरीछेउमा फ्यालिने गरेको तथ्य संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले उल्लेख गर्नुभएको छ। सोमध्ये १० प्रतिशत पुनः प्रयोग हुने गरेको छ। 

उहाँका अनुसार प्लास्टिकका कण खाना र पानीमार्फत हरेक दिन मानव शरीरमा प्रवेश गरिरहेको हुन्छ। उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ, “प्लास्टिक जैविक इन्धनयुक्त पदार्थबाट बन्छ। बढी प्लास्टिक उत्पादन गर्नु भनेको बढी त्यस्ता इन्धनको खपत गर्नु हो। त्यो भनेको जलवायु सङ्कट निम्त्याउनु हो।” आगामी सन् २०४० सम्ममा ८० प्रतिशत प्लास्टिकजन्य प्रदूषण कम गर्ने लक्ष्य छ। एउटा देशको पहलले मात्र सम्भव नहुने भएकाले प्लास्टिक प्रदूषणसम्बन्धी सन्धिको तयारी भइरहेको छ। 

क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बरालका अनुसार प्लास्टिकमा प्रयोग हुने हानिकारक रसायनको प्रत्यक्ष र अप्रत्यक्ष असर क्यान्सरको कारक तत्व हुन्। उहाँले भन्नुभयो, “फोक्सोको क्यान्सरमा प्लास्टिकको प्रत्यक्ष असर हुन्छ। स्तन, पाठेघर तथा छालाको क्यान्सरलगायतमा अप्रत्यक्ष असर प्लास्टिकमा प्रयोग हुने रसायनले पार्छ।”