• १७ कात्तिक २०८२, सोमबार

मौसममा सुधार नआउँदा लमजुङका किसान चिन्तित

blog

लमजुङ मध्यनेपालका किसान धान थन्काउँदै । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, कात्तिक १७ गते । लगातारको झरी रोकिए पनि मौसममा सुधार नआउँदा लमजुङका किसानहरु चिन्तित बनेका छन् । झरी रोकिए पनि घाम नलाग्दा किसानहरु चिन्तित बनेका हुन् । 

केही दिनअघि लगातार परेको वर्षाका कारण पाकेको धान भित्र्याउन नपाउँदै खेतमा ढल्न थालेको थियो । बङ्गालको खाडीबाट विकसित ‘मोन्था’ चक्रवातको कारण भएको वर्षाले पाकेको धान ढलेपछि किसानलाई मर्का परेको हो ।

उन्नत जातका धान पाकेर पहेँलपुर भए पनि स्याहार्न नपाउँदै निरन्तर झरी परेपछि खेतमै भिजेको थियो । आइतबार दिउँसो मौसम सफा भएपछि किसानहरुले धान काटेका थिए, तर साँझ पुनः वर्षा भएपछि किसानहरु थप पीडामा परेका छन् । सोमबार बिहानदेखि केहीबेर घाम लाग्ने र केहीबेर बादल लाग्ने भएर मौसम बिग्रिएपछि धान काट्ने कि नकाट्ने दोधारमा परेको मर्स्याङ्दी–९ सिम्पानीटारका किसान उमाकान्त गौतमले बताउनुभयो । 

वर्षाले पाकेको धान झार्ने र काटेको धान बिगार्ने भएपछि आफूहरु समस्यामा परेको किसानहरुले बताएका छन् । सुन्दरबजार नगरपालिकाका किसान सुरेन्द्र पौडेलले बेमौसमी वर्षाले किसानमाथि वज्रपात भएको गुनासो गर्नुभयो । मुस्किलले एक हप्तापछि भित्र्याउन सकिने धानलाई पानीले क्षति गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘तत्काल नगरपालिकाको कृषि शाखाले क्षतिको मूल्याङ्कन गरी किसानलाई राहत उपलब्ध गराउनुपर्छ ।’ साउनको दोस्रो सातासम्म धान रोपाइँका लागि वर्षा नहुँदा किसानले जसोतसो रोपाइँ गरेका थिए । तर, धान भित्र्याउन नपाउँदै वर्षाले क्षति पुर्‍याएकाले किसानलाई राहत दिनुपर्ने उहाँको माग छ ।

सामन्यतय मङ्सिर महिनामा धान थन्काउने गरिए पनि पछिल्लो समय उन्नत तथा वर्णसङ्कर जातका धान लगाउँदा छिटो पाकेका कारण मौसम प्रतिकूल हुँदा किसानलाई समस्या परेको कृषि प्राविधिकहरु बताउँछन् । यस वर्ष मौसमले साथ दिएका कारण लमजुङमा धान उत्पादन बढ्ने अनुमान गरिए पनि थन्काउने बेलामा भएको वर्षाले क्षति पुगेको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । अन्न भण्डारको रुपमा चिनिने लमजुङका राइनासटार, करापुटार, भोर्लेटार बेंसीशहर, भोटेओडार रामचोकफाँट, गाउँसहर भकुण्डे लगायतका फाँटमा अहिले धान काट्ने र थन्काउने चटाराे छ ।

कृषि ज्ञान केन्द्रका अनुसार लमजुङमा १६ हजार ४ सय ६३ हेक्टरमा धानखेती हुँदै आएको छ । १५ हजार ५ सय ५२ हेक्टरमा बर्खे धान हुन्छ । ९० प्रतिशतभन्दा बढीमा उन्नत जातको धान खेती हुँदै आएको ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाले बताउनुभयो । कार्यालयको तथ्याङ्कअनुसार उन्नत जातका रामधान, सावित्री, लोकतन्त्र, हर्दिनाथ, सुनौलो सुगन्ध, खुमल ४, सुक्खा १, २, ३, ४ जातका धन खेती गरिँदै आएको छ । वर्णसङ्करमा यूएस ३१२, शङ्कर, गोरखनाथ, चाँदनी र पृथ्वी जातका धान खेती गर्ने गरिएको छ । यस्तै,स्थानीय जातमा एक्ले, मन्सरा, मधेसे, अनादी, आँगा छन् ।