• १७ कात्तिक २०८२, सोमबार

महायज्ञमा साढे दुई करोड दान सङ्कलन

blog

महायज्ञमा प्रवचन दिनुहुने वाचन प्रवीण पण्डित दिनबन्धु पोख्रेल । तस्बिर– अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक १७ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी र बुढीमाई मन्दिर संरक्षण, भौतिक पूर्वाधार विस्तार र धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा दुई करोड ५० लाख दान सङ्कलन भएको छ ।  

महायज्ञ मूलसमारोह समितिका आर्थिक संयोजक मनोजकुमार श्रेष्ठले महायज्ञ अवधिभर सो रकम सङ्कलन भएको जानकारी महायज्ञमा तीन परिवार र एक सस्थाले पाँच लाखभन्दा धेरै दान दिएका छन् । आँबुखैरेनी गाउँपलिका–३ निवासीहरु अणमान श्रेष्ठ र सरस्वती श्रेष्ठले पाँच लाख ११ हजार १११, त्यसैगरी अमृत केसी र गोमा केसीले पाँच लाख पाँच हजार पाँचसय ५८ रुपियाँ, महायज्ञ मूल समारोह समितिका संयोजक तथा छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङ र इन्द्रमाया तामाङले पाँच लाख एक हजार एकसय एक रुपियाँ र आँबुखैरेनी गाउँपालिकामा कार्यरत कर्मचारीहरुले पाँच लाख ५५ हजार ५५५ रुपियाँ दान गर्नुभएको छ । 

महायज्ञ कात्तिक ८ देखि १५ गतेसम्म सञ्चालन गरिएको थियो  । छिम्केश्वरी पर्यटन विकास समितिले सङ्कलित रकम मन्दिर क्षेत्रका स्थायी संरचना, ध्यान केन्द्र, सभाहल, विश्रामगृह, शौचालय, सरसफाइ पूर्वाधार र बाटो तथा पार्किङ निर्माणमा प्रयोग गर्ने जनाएको छ । समितिले मन्दिर क्षेत्र संरक्षण, फूल तालिम केन्द्र स्थापना, भक्तजन आवागमन सहज बनाउने, विश्रामगृह निर्माण र सरसफाइ सुदृढीकरणलाई प्राथमिक कार्ययोजनाका रूपमा अघि सारेको छ ।

महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलको प्रवचन दिनुभएको थियो । समुद्र सतहदेखि दुई हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध, सैपाल र अपि हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । धार्मिक विश्वासअनुसार गोरखाको मनकामनामाईकी दिदीको रूपमा पूजिँदै आएकी छिम्केश्वरी र बुढीमाईको दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ । महायज्ञ आँबुखैरेनी गाउँपालिका–३ आँबुखैरेनी बजारमा गरिएको थियो ।