• १२ वैशाख २०८१, बुधबार

'जाऊँ हिँड् रेसुङ्गा' अभियान सुरु

blog

तम्घास, जेठ २१ गते । पर्यटकीय क्षेत्र रेसुङ्गाको प्रचारप्रसार गर्नका लागि रेसुङ्गा नगरपालिकाले 'जाऊँ हिँड् रेसुङ्गा' अभियानको सुरुवात गरेको छ । आइतबार एक कार्यक्रमकाबीच नगरप्रमुख खिलध्वज पन्थीले सो अभियानको सुरुवात गर्नुभएको हो ।

अभियानको सुरुवात गर्दै पन्थीले रेसुङ्गा क्षेत्रको प्रचारप्रसार गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नका लागि नगरले सो अभियान सञ्चालन गरेको बताउनुभयो । चालु आर्थिक वर्षमा करिब एक लाख आन्तरिक र बाह्य पर्यटकहरूलाई रेसुङ्गामा ल्याउने गरी आफूहरूले योजना बनाएको उहाँको दाबी छ ।

पर्यटनको माध्यमबाट रेसुङ्गाको प्रचारप्रसार र युवाहरूलाई रोजगारी सृजना गर्ने गरी आफूले योजना बनाएको उहाँको भनाइ छ ।

अभियानमा 'जाऊँ हिँड् रेसुङ्गा' लेखिएको टिसर्ट लगाएर रेसुङ्गासम्म पुगेर फर्किने कार्यक्रम तय भएको हो । रेसुङ्गा र अयोध्याबीचको सम्बन्ध त्रेता युगदेखि नै रहेको छ । अयोध्याका राजा दरथलाई सन्तान नभएपछि रेसुङ्गा क्षेत्रमा तपस्या गरेका ऋषि शृङ्गले अयोध्या पुगेर पुत्रेष्टि महायज्ञ गरेपछि सन्तान नभएको कथा छ । यही कथा अनुसार रेसुङ्गा र अयोध्याबीच सम्बन्ध रही आएको विभिन्न वेद पुराणहरूमा उल्लेख छ । यो सम्बन्धलाई प्रगाढ गर्न भन्दै केही दिनअघि रेसुङ्गामा सन्त सम्मेलन गरिएको थियो । अहिले फेरि जाऊँ हिँड् रेसुङ्गा अभियानले पनि यो सम्बन्धलाई थप प्रगाढ बनाउने सङ्कल्प गरेको छ । 

सो अभियानमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, राजनीतिक दल, सरोकारवालासहित पत्रकारहरूको उल्लेख्य मात्रामा उपस्थिति थियो ।