युवा शक्ति राष्ट्र निर्माणको स्तम्भ हो । राष्ट्रले खोजेको युवा शक्ति हो, किनभने समयमै सजग र सचेत भई युवा अगाडि बढेमा राष्ट्र अगाडि बढ्न सकिन्छ । युवा राष्ट्रका लागि समर्पित हुन सर्वप्रथम प्रत्येक युवाले आफूलाई शारीरिक, मानसिक, बौद्धिक र आध्यात्मिक रूपमा सबल र सशक्त बनाउनु पर्छ । राज्यले युवा शक्ति सदुपयोगका लागि योजना, लगानी र अवसर तयार पारेको छ कि छैन ? राज्यका लागि युवा बेरोजगार, रोगी, निर्धन, अपाङ्गता, अनाथ, आश्रित, दुर्बल हुनुभएन । राज्यले युवामाथि जात, जाति, लिङ्ग, धर्म, वर्ग, हैसियत, राजनीतिक विचार आदि विषयका आधारमा भेदभाव गर्नु हुँदैन । मानवीय मूल्य र योग्यताका आधारमा प्रोत्साहन दिई युवा वर्गलाई अघि बढ्न अवसर दिनु पर्छ । युवामा पनि विभिन्न इच्छा, आकाङ्क्षा र आवश्यकता हुन्छ । राज्यले युवालाई सबै क्षेत्रमा अवसर दिनु पर्छ । स्वदेशमा राम्रो शिक्षा र रोजगार पाउन नसक्नु नै युवा बिदेसिनुका प्रमुख कारण हो ।
बिदेसिनुका पीडा
युवामा विभिन्न अवस्थाले वितृष्णा बढेको छ । राज्यमा व्याप्त अराजकता, भ्रष्टाचार, कुशासन, बेथिति र कानुनी शासनको पालना नहुनाले युवा निराश छन् । विसङ्गति, विकृति र विकासको आशा नदेखिएकाले आजकालको नयाँ युवापुस्ता जसोतसो विदेश जान नै मरिहत्ये गर्छ । विभिन्न उपाय खोज्छन् । अचेल भिजिट भिसाको कारणले पनि विदेश जानमा सजिलो भइरहेको छ । विदेशको सुविधाप्रति मोह जाग्नु विदेशमा ग्रिन कार्ड, स्थायी बसोबास बस्ने अनुमति, नागरिकको दर्जा र विभिन्न व्यवसाय गर्ने अवसर प्राप्त हुने भएकाले युवा शक्तिलाई विदेश जानबाट रोक्न सकिएन ।
प्रतिष्ठाका लागि भए पनि अभिभावकले छोराछोरीलाई विदेशै पठाउने प्रचलन हाबी भएको छ । विदेशको जीवन सहज छैन तर पनि आफ्ना सन्तानलाई स्वदशमै केही गर्न सकिन्छ भन्ने सकारात्मक सोचको विकास परिवारमा अझै चेतना आएको छैन । राज्यले पनि युवा बिदेसिएकाबारे खासै सरोकार राखेको पाइँदैन । सजिलै बाह्य देशबाट आइरहेको रेमिट्यान्स आप्रवाहमा वृद्धि भई अर्थतन्त्रलाई सघाएकै छ । त्यसैले पनि राज्य खुसी भएर युवालाई बिदेसिन प्रोत्साहन नै गरिरहेको छ ।
युवा शक्ति
राष्ट्रका लागि इमानदार, मेहनती र शालीन युवाको खाँचो छ । काम खोज्ने होइन काम दिने युवा उत्पादन हुनु पर्छ । यसका लागि सिप विकास, व्यवसाय विस्तार र बजारीकरणको उपाय खोज्नु पर्छ । युवालाई आत्मनिर्भर बहुआयामिक रणनीति शिक्षा नीति चाहिएको छ । शिक्षित दक्ष र प्रतिभाशाली युवा खास गरी इन्जिनियर, डाक्टर, प्राध्यापक उच्चशिक्षा पाएका युवा स्वदेशमै रोजगारी पाउन सकेमा विदेश पलायन हुनुपर्ने स्थिति आउँदैन । लाखौँ/करोडौँ खर्च गरी उत्पादन गरेका शिक्षित दक्ष युवा विदेशका लागि काम गर्न जाँदा देशलाई घाटा भएको छ । राम्रो आयआर्जन गर्न अवसर त मिल्छ तर राष्ट्रले आफ्नो दक्ष श्रमिक गुमाउनुपर्ने हुन्छ । करिब ७० लाखको हाराहारीमा वैदशिक रोजगारीका लागि युवा तथा प्रौढ विदेश गएको तथ्याङ्क छ ।
२०८१/८२ मा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या आठ लाख नाघ्ने देखिएको छ । वैदशिक रोजगारीका विभाग अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म सात लाख ६० हजार ३९१ जनाले श्रम स्वीकृति लिइसकेका छन् । यसरी ठुलो जनशक्ति बाहिरिनु राष्ट्रका लागि चुनौतीको विषय बनेको छ । यसले भविष्यमा राष्ट्रको दिगो आर्थिक विकासका लागि ठुलो धक्का पु¥याउने छ । हुन त यसरी बिदेसिएकाहरूबाट राज्यका लागि ठुलो धनराशि उपलब्ध भएको छ । राज्य यही आम्दानीले धानिएको छ । १८ खर्बको हाराहारी विपे्रषणबाट विदेशी मुद्रा आर्जन गरेको छ । विप्रेषण राज्यको अर्थतन्त्र बलियो बनाउने दीर्घकालीन समस्याको समाधान भने होइन । विप्रेषणको मोहमा युवालाई विदेश पठाउनु भन्दा स्वदेशमै रोजगारको अवसर सिर्जना गर्नु जरुरी छ ।
शिक्षा, विज्ञान र प्रविधिको विकासले युवा धेरै चनाखो भइसकेका छन् । युवा वर्गले धेरै कुरा सिकिसकेको हुन्छन् । विभिन्न सङ्गतले गर्दा विकसित मुलुकको जस्तो जीवनयापन गर्न अग्रसर हुन्छन् । स्वदेशमा आफूले जानेको ज्ञान, सिप अवसरको प्रयोग ल्याउन नसकिएको कारण विदेशमा गएर त्यस्ता अवसर खोज्न जाने गर्छन् । युवा एसइई र ११ –१२ सक्नेबित्तिकै विदेशतिर लाग्ने योजना बनाउँछन् । कोही कामका लागि जान्छन् त कोही उच्च शिक्षा अध्ययनका लागि । आफ्नै देशमा श्रम शक्ति खाँचो छ । लाखौँ नेपाली बिदेसिएर अरूको देशमा जोखिमपूर्ण अमानवीय र न्यून पारिश्रमिकको भरमा काम गर्नु परेको छ । लाखौँ बालबालिका बाबुआमाविहीन अवस्थामा हुर्किनु परेको छ । घरघरमा असक्त बुढाबुढी बस्न विवस छन् । गाउँठाउँको खेत बाँझो स्थितिमा छ । श्रीमान्श्रीमती लामो समयसम्म छुट्टिएर बस्नु पर्दा आपसी सम्बन्ध नराम्रो भई सम्बन्धविच्छेदसम्मको अवस्था उत्पन्न भएको छ । कतिका बालबालिका टुहुरा भएका छन् । सामाजिक विकृतिको सामना गरिरहनु परेको छ । गाउँ नै युवाविहीन हुने खतरा बढ्दो छ । कतिपय क्याम्पसमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीको कमी हुँदै गएको छ । अब बिस्तारै देशमा जागिरे, बुढाबुढी र विदेश जान नसक्ने शारीरिक अस्वस्थ हुने युवा मात्र बाँकी रहने छन् ।
युवाका लागि अवसर
युवाको सहभागिता र संलग्नताबिना विकासको कल्पनासमेत गर्न सकिन्न । राज्यको हरेक योजनामा युवा सहभागिता, सशक्तीकरण र साझेदारीलाई प्राथमिकता दिनु जरुरी छ । यसले युवा वर्र्गलाई उद्यमशील बन्न र रोजगारी वृद्धिमा सघाउन पु¥याउँछ । युवालाई रोजगारीमा आबद्ध गर्न सकिए पलायन हुनबाट रोक्न सकिन्छ । हाल राज्यले युवा वर्गका लागि केही योजनामा प्राथमिकता दिएको छ । दिगो विकास लक्ष्य २०३०, युवा भिजन २०२५, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, सिप विकास कार्यक्रम, युवा स्वरोजगार योजना, हाल राष्ट्रिय युवा नीति, २०६६ ले विभिन्न क्षेत्रमा परिलक्षित गरेका लक्ष्य र उद्देश्य हासिल गर्न विविध कार्यक्रम सञ्चालन गरिँदै आएको छ । यस युवा नीति अन्तर्गत शिक्षा, रोजगारी, स्वास्थ्य तथा सामाजिक सुरक्षा, युवा सशक्तीकरण तथा नेतृत्वको विकास, कला साहित्य, संस्कृति, खेलकुद र मनोरञ्जन, लागुपदार्थको बेचबिखन नियन्त्रण, मानव तस्करी तथा बेचबिखन नियन्त्रण आदि क्षेत्रको विकासका लागि ध्यान पु¥याएको छ ।
विसं २०८१ को घोषणा अनुरूप स्टार्ट अप नेसन २०३० कार्यक्रम आदिले युवा देश विकासमा संलग्न हुने अवसर मिल्ने छ । स्टार्ट अप नेसन कार्यक्रमले एक लाख युवा र अन्यलाई रोजगारी दिने लक्ष्य लिएको छ । यस योजना अन्तर्गत क्रिएटिभ इकोनोमी र इनोभेटिम सोलुसनको आधार लिएको छ । यसले बृहत् रोजगारी सिर्जना गर्न सहयोग पु¥याउने छ । युवा पलायनमा न्यून हुने छ ।