• १६ चैत २०८०, शुक्रबार

दुर्घटना रोक्न सडकमै सवारी साधनको परीक्षण

blog

तिलाचन पाण्डे

तम्घास, जेठ २१ गते । सवारी दुर्घटना कम गर्नका लागि गुल्मीमा सडकमै सवारी साधनको जाँच र चालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ । ‘आफू बाँचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी, गुल्मी यातायात प्रालिको संयुक्त आयोजनामा बस, ट्रक, जिप लगायतका विभिन्न सवारी साधनहरूमा दक्ष प्राविधिकद्वारा सवारी चेकजाँच तथा चालकहरूको आँखा तथा स्वास्थ्य परीक्षण गरिएको हो ।

जिल्ला आँखा उपचार केन्द्र, गुल्मी मोडल हस्पिटल, प्राविधिक सहयोगमा जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर ४ को तम्घास–सिमलटारी सडक खण्डको अर्खलेमा सडकमै पुगेर चेक जाँच तथा स्वास्थ्य परीक्षण गरिएको थियो । ८५ वटा साना–ठुला सवारी साधनका चालकहरूको आँखा परीक्षण एवम् स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । 

परीक्षणबाट ६ जना चालकहरूमा उक्त रक्तचापको समस्या तथा ५ जना चालकहरूमा आँखामा समस्या देखिएको थियो । सवारीहरूमा समेत समय–समयमा मर्मत सम्भार, समिसिङ्ग, टाइफाइड, टायर लगायतको समस्या देखिएकोमा उक्त समस्या तत्काल सुधार गर्न र समय समयमा आँखा, स्वास्थ्य एवम् सवारी परीक्षण गरी सवारी साधन चलाउनको लागि चालकहरूलाई आग्रह गरिएको आचार्यले बताउनुभयो ।  

दुर्घटनाको एउटा पक्ष चालकको स्वास्थ्य र सवारी साधनाको अवस्था पनि हुने भएकाले सडकमै सवारी साधानहरुको चेकजाँच र चालकहरूको स्वास्थ्य परीक्षण कार्यक्रम राखिएको गुल्मी यातायात प्रालिका सञ्चालक हिमाल कुँवरले बताउनुभयो । चेक जाँचको क्रममा समस्या भए यातायात प्रालिले आफ्ना सदस्यहरूलाई सहजीकरणको लागि विभिन्न सहयोग गर्ने उहाँको भनाइ छ ।

जिल्लाको उपल्लो तम्घासबाट सुरु भएको अभियान जिल्लाका विभिन्न स्थानमा पुगेर चेकजाँच गरिने छ । ट्राफिक प्रहरीको सक्रियतामा यो अभियान जिल्ला भर सञ्चालन गरिने कुँवरले  बताउनुभयो ।

बढ्दो दुर्घटना न्यूनीकरण गर्न भन्दै प्रहरीले सडकमै चालक, सहचालक, यात्रु र विद्यार्थीहरूलाई राखेर प्रशिक्षण दिँदै आएको छ ।