• १६ चैत २०८०, शुक्रबार

चिसापानी सडक निर्माण अलपत्र

blog

विष्णुप्रसाद पोखरेल

दमक, जेठ २१ गते । झापाको दमकबाट उत्तरी पहाडी जिल्ला जोड्ने दमक चिसापानी सडक (प्रस्तावित फाल्गुनन्द मार्ग) निर्माणको काम अलपत्र परेपछि स्थानीय सडक उपभोक्ताहरूले आक्रोश व्यक्त गर्दै तत्काल सडक निर्माणको काम सुरु गर्न दबाब दिएका छन् । दमकबाट इलामको चिसापानीसम्म पुग्ने ३२ किलोमिटर लामो यो सडकलाई महत्त्वाकाङ्क्षी योजनाको रूपमा हेरिएको हो ।

माङसेबुङ ३ का अगुवा केहरसिंह योङहाङको नेतृत्वमा सरोकार समिति बनाएर सरोकारवाला निकायहरूलाई काम गर्न दबाब दिन थालिएको छ । उहाँको अगुवाइमा सरोकार समितिले माङसेबुङ गाउँपालिका ४ मार्चेबुङमा वृहत् भेला आयोजना गरेर निर्माण कम्पनीलाई काम चाँडो गर्न दबाब दिने निर्णय गरेको जनाइएको छ  । यस विषयमा सडक डिभिजन कार्यालय दमकको पनि ध्यानाकर्षण गराइएको छ ।

योङहाङका अनुसार सडक डिभिजन कार्यालय दमकका प्रतिनिधि, निर्माण कम्पनीको प्रतिनिधिहरूलाई समेत बोलाएर काम छिटो सुरु गर्नका लागि लिखित रूपमा प्रतिबद्धता गर्न लगाइएको छ । निर्माण व्यवसायीहरूले यहाँ काम गरेका मजदुरहरूलाई काम गरेको ज्याला समेत नदिएको भन्दै विरोध हुँदै आएको थियो । 

सडकको कालोपत्रे स्तरमा स्तरोन्नति गर्ने कार्यको करिब २५ किलोमिटरको ठेक्का लुम्बिनी गणपति जेभीले लिएको थियो । यो २५ किलोमिटर दूई प्याकेजमा ठेक्का सम्झौता भएको जनाइएको छ । सडक डिभिजन कार्यालय दमकका अनुसार पटकपटक म्याद थप गर्दा आधा पनि काम सकिएको छैन ।

माङसेबुङ ४ का निवर्तमान वडा सदस्य समेत रहनुभएका सन्त विश्वकर्माका अनुसार आफू सहित आफूले लगाएका कामदारहरूले तीन वर्षअघिदेखि काम गरेको ज्याला नपाउँदा समस्या भएको छ । 

"निर्माण व्यवसायीबाट १० लाखभन्दा बढी ज्याला मैले पाउनु पर्नेछ र यो नदिएसम्म काम गर्ने अवस्था आउँदैन", उहाँले भन्नुभयो । माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङका अनुसार सडक निर्माणमा खटिएका मजदुरहरूलाई पारिश्रमिक नदिने र काम समेत नगर्ने निर्माण व्यवसायीलाई स्थानीयले काम गर्नका लागि अन्तिम मौका दिएको बताउँदै अब काम अघि बढ्ने विश्वास लिइएको जनाउनुभएको छ ।

यसैगरी सडकको पहिलो खण्ड अर्थात् सात किलोमिटर सडक पटकपटक म्याद थपिँदा पनि अलपत्र नै रहेको छ । यो सडक कालोपत्रे गर्ने ठेक्का महालक्ष्मी–किरातेश्वर जेभीले ३० महिनाभित्र सक्ने गरी २०७५ साल साउन २९ गते ठेक्का सम्झौता गरेको थियो । 

यस्तै, २२ करोड ५९ लाख ६४ हजार ६२७ रुपियाँमा ठेक्का लिएको बताइएको छ । यो काम पनि पटकपटक म्याद थप गर्दा पनि पुरा भएको छैन ।

झापा र इलामको सिमानादेखि मर्चेबुङसम्मको करिब ७ किलोमिटर सडकखण्ड र इलामको माङसेबुङदेखि चिसापानीसम्मको २५ किलोमिटर सडकखण्डलाई कालोपत्रे स्तरमा स्तरोन्नति गर्न बेग्लाबेग्लै ठेक्का लागेको थियो । २०७६ साल फागुन महिनामा सडक कालोपत्रेको शिलान्यास तत्कालीन अवस्थामा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो ।

सडक डिभिजन कार्यालय दमकका इन्जिनियर सुधीरकुमार झाका अनुसार तीन प्याकेजमा ठेक्का सम्झौता भएर काम सुरु भएपनि निर्माण व्यवसायीले सन्तोष जनक काम नगरेको पाइएको छ । “धेरै नै सुष्त रूपमा काम भएको छ”, उहाँले भन्नुभयो, “अब तीव्र गतिमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।”

यसरी ७ किलोमिटरको पहिलो प्याकेज अन्तर्गत ५५ प्रतिशत, दोस्रो प्याकेज अन्तर्गत १५ किलोमिटरको ६० प्रतिशत र अन्तिम अर्थात् तेस्रो प्याकेज अन्तर्गत १० किलोमिटर सडकमा २६ प्रतिशतमात्र काम भएको छ ।