• १९ वैशाख २०८१, बुधबार

किसानलाई मौरी पालन सामाग्री वितरण

blog

मौरी पालक किसानलाई आवश्यक सामाग्री तथा घार वितरण गर्दै ।

मीना कंडेल

कावासोती, जेठ २१ गते । नवलपरासीको कावासोती नगरपालिकाले पालिकाभित्र रहेका मौरी पालक किसानलाई आवश्यक सामाग्री वितरण गरेको छ । मौरी पालक किसानको लागत घटाउँदै धेरै मुनाफा लिनसक्ने र आर्थिक अभिवृद्धि गर्ने उद्देश्यले सामाग्री वितरण गरिएको हो । 

नमुना मौरी पालक समूह मार्फत सामाग्री किसानलाई प्रदान गरिएको छ जसमा १८ जना मौरी पालेका किसान प्रत्यक्ष रूपमा लाभान्वित भएको समूहका अध्यक्ष कविराम भण्डारीले बताउनुभयो ।

मौरीको घार दुई सय ७० थान, महदानी दुई थान, चाका १०० थान, टोपी २० थान, मैन बक्स ३ थान लगायतका सामाग्रीहरू मौरी पालक किसानलाई हस्तान्तरण गरिएको कावासोती नगरपालिका कृषि शाखा प्रमुख शिवनारायण कुमालले बताउनुभयो । कावासोती नगरपालिकाको ५० प्रतिशत अनुदान र ५० प्रतिशत लागत सहभागिता गरी कुल १४ लाख रुपियाँ बराबरका सामाग्री प्रदान गरिएको हो ।

व्यवसायीक रूपमा मौरी पालनलाई प्रोत्साहन गरी आर्थिक विकासमा सहयोग पुगोस् भनेर अनुदानमा सामाग्री वितरण गरिएको नगरप्रमुख विष्णुप्रसाद भुसालको भनाइ छ। नगरपालिकामा सीमित स्रोतको बावजुत समेत केही मात्रमा भएपनि प्रोत्साहनका लागि अनुदानमा सामाग्री प्रदान गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै मौरी पालन पेसा सहजै जस्तो भएपनि किसानले चरनको समस्या झेल्ने गरेको बताउनुभयो । मौरी चरनका लागि विभिन्न समस्या झेल्नुपर्ने अवस्था रहेको बताउँदै यसको समाधानका लागि तोरी लगायतका बालीमा कडा खालका विषादी प्रयोग घटाउनुपर्ने अध्यक्ष भण्डारीले बताउनुभयो । 

नगरपालिकाले अनुदानमा सामाग्री वितरण गरेपछि मौरीपालक किसानले खुसी व्यक्त गरेका थिए । मौरी पालन व्यवसायलाई थप प्रवर्द्धन गर्न नगरपालिकाको सहयोगले टेवा पुग्ने किसानको भनाइ छ ।