• १५ वैशाख २०८१, शनिबार

राष्ट्रिय परिचयपत्रको काममा अवरोध

blog

काठमाडौँ, जेठ २० गते । राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण काममा अवरोध भएको छ। परिचयपत्र निर्माणसम्बन्धी सफ्टवेयर बन्द भएपछि देशभरि नै बिहीबारदेखि सोसम्बन्धी सम्पूर्ण कार्य अवरुद्ध भएको छ। परिचपत्र निर्माणसम्बन्धी काम गर्ने कम्पनीको सम्झौता थप हुन नसक्दा परिचयपत्र निर्माणसम्बन्धी सम्पूर्ण काम अवरोध भएको हो। 

राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले राष्ट्रिय परिचयपत्र निर्माणसम्बन्धी सर्भरमा समस्या आएको बताउँदै सोको व्यवस्थापन भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सर्भरमा समस्या आएको हो। त्यसको व्यवस्थापन हुँदै छ।”

राष्ट्रिय परिचयपत्र निर्माणसम्बन्धी ‘अपरेसन’ गरिरहेको फ्रान्सेली कम्पनी आइडेमियासँगको सम्झौता अवधि समाप्त भई सो कम्पनीले सर्भर नै बन्द गरिदिएको हो। उहाँले भन्नुभयो, “हामीले ‘कोर्डिनेट’ गरिरहेका छौँ।” उहाँका अनुसार सम्झौताको अवधि आठ महिनाअघि नै समाप्त भइसकेको हो।

सो कम्पनीसँग कहिले नवीकरण हुन्छ ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “नवीकरणको प्रक्रिया सुरु नभएको होइन, अलिकति ढिलो मात्र भएको हो।” उहाँले परिचयपत्र निर्माणसम्बन्धी काम छिट्टै सुरु हुने बताउनुभयो।

राष्ट्रिय परिचयपत्र कल सेन्टरमा कार्यरत नासु सरिन शाहीले भन्नुभयो, “बिहीबार बिहानदेखि नै सर्भर पूरै डाउन छ। भोलि पनि चल्छ कि चल्दैन, यसै भन्न सकिँदैन। हामीले सेवाग्राहीलाई आउँदो आइतबारदेखि हेरौँ भनिरहेका छौँ। ठोस निर्णय भएको छैन।”

परिचयपत्र निर्माणका लागि फ्रान्सेली कम्पनी आइडेमियासँग तीन वर्षका लागि २०७६ असारमा सम्झौता भएको थियो। सोसम्बन्धी सफ्टवेयरका लागि करिब ८३ करोड रुपियाँमा र नेपालमा बनाइने पूर्वाधारका लागि १३ करोड ६१ लाख रुपियाँ लागतमा सो कम्पनीसँग सम्झौता भएको थियो।

मुलुकको सुरक्षा व्यवस्थापनलाई थप चुस्त दुरुस्त बनाउने उद्देश्यसहित आर्थिक वर्ष २०६६/६७ मा सरकारको वार्षिक नीति तथा कार्यक्रममा नेपाली नागरिकलाई बहुउपयोगी राष्ट्रिय परिचयपत्र (बायोमेट्रिक स्मार्ट कार्ड) उपलब्ध गराउने अवधारणा ल्याइएको थियो। 

त्यसपछि मन्त्रीपरिषद्को २०६७ असार १६ गतेको निर्णय अनुसार छुट्टै निकायका रूपमा राष्ट्रिय राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना भएको थियो। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग स्थापना गरी यससम्बन्धी कार्य भइरहेको छ।