• १३ वैशाख २०८१, बिहिबार

सेयर बजारमा उच्च गिरावट

blog

काठमाडौँ, जेठ १७ गते । सरकारले बजेट सार्वजनिक गरेपछिको सेयर बजारमा उच्च गिरावट आएको छ । धितोपत्र बजारमा आयकर र पुँजीगत लाभ करको विषयमा अन्योल देखिएका कारण सेयर बजारमा पहिरो गएको हो । साताको तेस्रो दिन मङ्गलबार सेयर बजारमापक नेप्से परिसूचक ५३.१६ अङ्कले ओरालो लागेर एक हजार ८८८.६१ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ८.७२ अङ्कले ओरालो लागेर ३६०.७१ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा तेस्रो दिनको नेप्से २.७४ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि २.३६ प्रतिशतले ओरालो लागेको छ । आइतबार १७.३८ अङ्कको गिरावट आएको सेयर बजारमा सोमबार सार्वजनिक बजेटपछि मङ्गलबार उच्च गिरावट आएको हो ।

कारोबार दुई अर्ब ३४ करोड नाघ्यो

नेप्सेमा गिरावट आए पनि तेस्रो दिनको कारोबार रकम भने दुई अर्ब ३४ करोड नाघेको छ । मङ्गलबार दिनभर २७५ कम्पनीको ७० लाख ७४ हजार २५५ कित्ता सेयर ४० हजार ६३४ पटक खरिदबिव्रmी हुँदा दुई अर्ब ३४ करोड १७ लाख ७७ हजार ८४४ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

तेस्रो दिन २१ करोड २४ लाख ८१ हजार ९४३ रुपियाँ बराबरको सेयर कारोबार भएर शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ भने ग्लोबल आइएमई प्रमोटर सेयरको १० करोड ११ लाख छ हजार ६५० रुपियाँ, नेसनल लाइफ इन्स्योरेन्सको आठ करोड चार लाख ५३ हजार ७३० रुपियाँ, चिलिमे हाइड्रोपावरको सात करोड चार लाख ५३ हजार ८१६ रुपियाँ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको पाँच करोड ९७ लाख ६७ हजार ५९१ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

नेप्से भारी अङ्कले ओरालो लागे पनि तेस्रो दिन दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मङ्गलबार आत्मनिर्भर लघुवित्त र बिपिडब्लु लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यस्तै श्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन र सिटिजन्स म्युचुअल फन्ड १ को मूल्य नौ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य करिब नौ प्रतिशतले ओरालो लागेको छ ।

मङ्गलबार कारोबारमा आएका १३ उपसमूहकै सूचक ओरालो लागेको छ । निर्जीवन बीमा उपसमूहको सूचक सर्वाधिक ३.५० प्रतिशतले ओरालो लागेको तेस्रो दिन लघुवित्त उपसमूहको सूचक ३.४२ प्रतिशत, अन्य उपसमूहको सूचक ३.२८ प्रतिशत, जीवन बीमा ३.१४ प्रतिशतले ओरालो लागेको छ ।

बजार बिगार्ने कुनै नियत छैन : अर्थमन्त्री 

यता अर्थमन्त्री डा प्रकाशशरण महतले सेयर बजारप्रति सकारात्मक रहेको भन्दै सेयर बजार बिगार्ने कुनै नियत नभएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेटका बारेमा मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बजेटमा सेयर बजारलाई उत्थान गर्ने कार्यव्रmम नल्याएपछि बजार उच्च अङ्कले घटेपछि यस्तो  प्रतिक्रिया  दिनुभएको हो ।

धितोपत्र बजारमा आयकर र पुँजीगत लाभ करको विषयमा देखिएको अन्योलबारे बोल्दै अर्थमन्त्री महतले बजेटमा सेयर बजारलाई असर गर्ने कुनै कार्यक्रम  नभएको बताउनुभयो । धितोपत्र बजारलाई निरुत्साहित पार्ने नभई लगानीकर्ताको हितमै भएको भन्दै उहाँले सेयर बजारका लगानीकर्तालाई थप करको बोझ पर्ने गरी बजेट नआएको बताउनुभयो ।

बुझ्ने कोही भएनन् : लगानीकर्ता

सेयर लगानीकर्ता सङ्घ नेपालका अध्यक्ष ताराप्रसाद फुल्लेल बजेट आएको अर्को दिन सेयर बजारले बजेटलाई स्वागत गर्नुपर्नेमा भारी गिरावट आउनु दुर्भाग्य भएको बताउनुभयो । चाहिनेभन्दा नचाहिने विषयमा बजेटमा चर्चा गरिँदा अहिलेको हालत आएको भन्दै उहाँले भन्नुभयो, “२०७७÷७८ को बजेटमै समावेश भएर आएका कुरा, कर कार्यालयबाट मिलिसकेको कुरा अहिले कोट्याउनुपर्ने आवश्यकता थिएन । लगानीकर्तालाई तर्साउने, मनोबल गिराउने काम भयो । यस्तै कारणले बजारमा पहिरो गएको हो ।”

पुँजी बजारमा संस्थागत लगानीकर्तालाई प्रोत्साहित गरिने तथा गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा सूचीकृत भएका जलविद्युत् र अन्य वास्तविक क्षेत्रका कम्पनीमा लगानी गर्न खुला गर्ने व्यवस्था मिलाइएको कुरा सकारात्मक भए पनि धितोपत्र बजारमा आयकर र पुँजीगत लाभ करको विषयमा लगानीकर्तालाई अन्योल बनाइएको उहाँको टिप्पणी छ ।

देशमा सेयर बजार बुझ्ने कोही नभएको भन्दै अध्यक्ष फुल्लेलले भन्नुभयो, “न त राष्ट्र बैङ्कबाटै बुझ्ने प्रयत्न गरियो । लगानीकर्ताले प्रत्यक्ष बुझ्ने गरी नीति निर्माण गर्नतिर लागिएन । ढुक्क भएर लगानी गर्ने वातावरण भएन । अरू देशमा राम्रो भइरहेको छ तर हाम्रो सन्दर्भमा सेयर बजारप्रतिको बुझाइ नै भएन । लगानीकर्ता कति पीडामा छन् । कतिले आत्महत्या गरे । बैङ्कको ब्याज तिर्न नसक्ने अवस्था आएको छ । घर खर्च कसरी चलाउने भन्ने हालतमा लगानीकर्ता पुगेका छन् ।”

बजेटमार्फत सेयर प्रिमियमबाट भएको आम्दानीबाट लाभांश वितरण गर्दा करयोग्य आयमा समावेश गरी कर तिरेर मात्र वितरण गर्नुपर्ने व्यवस्थाको असर मङ्गलबारको सेयर बजारमा देखिएको हो ।

प्रिमियम आम्दानीलाई लाभांशका रूपमा वितरण गर्नुभन्दा अघि आयमा देखाई आयकर भुक्तान गरेपछि मात्र लाभांश वितरण गर्नुपर्ने व्यवस्था आयकर ऐन २०५८ मा रहेको थियो ।

आगामी आव २०८०/८१ को बजेटमा मर्जरको लाभबाट तिर्नुपर्ने व्यवस्था गरिएको छ । अर्का लगानीकर्ता उमेश पोख्रेल बजेट अगाडि र नीति तथा कार्यक्रमपछि सेयर बजारमा एक किसिमको आशा पलाएको भन्दै बजेटले लगानीकर्तालाई निराश बनाएको बताउनुभयो । सेयर बजारमैत्री बजेट नआएको उहाँको गुनासो छ ।

बजेटमा पुँजी बजार

बजेटमार्फत पुँजी बजारलाई पारदर्शी र प्रतिस्पर्धी बनाई लगानीकर्ताको हित सुनिश्चित गरिने बताइएको छ । पुँजी बजारमा संस्थागत लगानीकर्तालाई प्रोत्साहित गरिने तथा गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा सूचीकृत भएका जलविद्युत् र अन्य वास्तविक क्षेत्रका कम्पनीमा लगानी गर्न खुला गर्ने व्यवस्था मिलाइने भएको छ । यस्तै धितोपत्र औजारहरूको विस्तार र विविधीकरण गरिने बजेटमा उल्लेख छ ।

पुँजी बजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समयानुकूल संशोधन गरिने भएको छ भने आवश्यक पूर्वाधार तयार गरी कमोडिटिज एक्सचेन्ज मार्केट तथा एसएमइज प्लेटफर्म सञ्चालनमा ल्याइने बताइएको छ ।