• ६ कात्तिक २०८१, मङ्गलबार

काठमाडौँ महानगरका जनप्रतिनिधिको एक वर्ष

महानगरवासीको चाहना पूरा गर्ने प्रयास

blog

काठमाडौँ, जेठ १६ गते । गत वर्षको वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा निर्वाचित भएपछि काठमाडौँ महानगरपालिकाका प्रमुख, उपप्रमुखसहितका जनप्रतिनिधिले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको छ। 

स्वतन्त्र उम्मेदवारका रूपमा प्रमुखमा निर्वाचित बालेन्द्र शाह र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार सुनिता डङ्गोलसहितका निर्वाचित जनप्रतिनिधिले यो एकवर्षे कार्यकालमा महानगरवासीको चाहना पूरा गर्ने प्रयास गर्नुभएको छ। यस अवधिमा धेरै उपलब्धि हासिल नभए पनि निराशाजनक अवस्था छैन। 

सङ्घीय सरकारको राजधानीका रूपमा रहेको काठमाडौँ महानगरपालिका प्रमुख शाहको पाँचवर्षे कार्यकालको पहिलो वर्षमा गरेको र गर्ने प्रयास गरिएका काममा केही आलोचना भए पनि धेरै कामको अनुभूति महानगरवासीले गरेका छन्।

विषयगत समिति सक्रिय

यसअघि प्रभावकारी हुन नसकेको नगर कार्यपालिकाका विभिन्न विषयगत समितिलाई नगर प्रमुख शाहको कार्यकालको पहिलो वर्षमा प्रभावकारी रूपमा सञ्चालन भएका छन्। समितिको क्षेत्राधिकारका विषयमा व्यस्थापकीय तथा कार्यकारी भूमिका समितिबाटै निर्वाह गर्ने अभ्यासको सुरुवात भएको छ। 

सहरी व्यवस्थापन र सौन्दर्यीकरण 

सहरी योजना तथा व्यवस्थापनका लागि अध्ययन अनुसन्धान तथा सिफारिस गर्न गठन गरिएको सहरी योजना आयोगलाई पूर्णता दिई सक्रिय  बनाइएको छ भने  नदीनालामाथि अतिक्रमण गरी बनाइएका अनधिकृत भवन संरचना हटाई नदीको बहाव क्षेत्र दायाँबायाँको सार्वजनिक क्षेत्र संरक्षण गरिएको काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिनुभयो। 

उहाँका अनुसार यस अवधिमा नदी कोरिडोरको विकासमा अग्रसरता देखाइएको छ भने धेरै स्थानमा भएका अतिक्रमण हटाइएको र हटाउने क्रम जारी रहेको छ । पैदल यात्रीको सहज आवागमनका लागि फुटपाथ नियन्त्रण तथा व्यवस्थापन प्रभावकारी रूपमा भएको, तार व्यवस्थापनमा विभिन्न सङ्घ संस्थासँग सहकार्य गरी सहरी सौन्दर्य र सुरक्षा प्रवर्धनको कार्य भएको छ। यसै अवधिमा सार्वजनिक शौचालय विस्तार तथा निजी शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्ने सरकारी, निजी र विभिन्न सङ्घ संस्थासँग सहकार्य गरिएको, नक्सापासबमोजिम सवारीसाधन पार्किङ स्थललाई सोही प्रयोजनमा प्रयोगमा ल्याउने कार्य अभियानका रूपमा सञ्चालन गरी सवारी पार्किङ, व्यवस्थापनमा सुधार गरिएको महानगरले जनाएको छ। 

यसै अवधिमा फोहोरमैलाको वैज्ञानिक तथा दिगो व्यवस्थापनका लागि अध्ययन तथा अनुसन्धान कार्य गरिएको छ भने सडक बत्ती स्तरोन्नतिका लागि विद्युत् प्राधिकरणसँग सहकार्य गरी सहरी सौन्दर्य कायम गरिएको छ। 

निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालेको यो एक वर्षको अवधिमा काठमाडौँ महानगरले ९५ हजार ५३८ वर्गफिट पार्किङ खाली गराएको छ भने एक लाख ८० हजार ७५६ वर्गफिट कालोपत्रेमाथिको पार्किङ हटाइएको छ। यसै गरी करिब २० हजार विज्ञापन बोर्ड हटाइएको, ८० स्थानमा रहेका अनधिकृत संरचना हटाइएको, एक हजार २० स्थानमा सडक पेटी अतिक्रमण नियन्त्रण गरिएको, करिब ३० ट्रक तार व्यवस्थापन गरिएको महानगरले जनाएको छ। यसै अवधिमा २७० स्थानमा आगलागी नियन्त्रण गरिएको छ भने बालाजुमा वारुण यन्त्र शाखा सञ्चालनमा ल्याइएको, दमकल छिर्न नसक्ने साँघुरा गल्लीमा फायर हाइड्रन्ट जडान गरिएको, नदीको स्वचालित बहाव कायम गर्न खोला सरसफाइ गरिएको छ। 

प्रशासनिक सुधार 

सेवालाई थप प्रभावकारी बनाउन काठमाडौँ प्लाजामा स्थानान्तरण गरी कार्यालय सञ्चालनमा ल्याइएको, नगर कार्यपालिकाको बैठक प्रत्यक्ष प्रसारण गरी पारदर्शी तथा जनउत्तरदायी निर्णय प्रक्रियालाई संस्थागत गरिएको, नगर सभा तथा नगर कार्यपालिकाका निर्णय वेबसाइटमार्फत सार्वजनिक गर्ने प्रयास भएको छ। 

स्थानीय तहको विवाद निरूपणका लागि नियमित सुनुवाइ र निर्णय कार्यान्वयनको सुनिश्चितताका लागि विशेष जोड दिइएको छ। कानुन तर्जुमामा उल्लेख्य सुधार भएको छ भने वडा तहसमेतबाट निःशुल्क कानुनी सेवा प्रदान गर्ने गरिएको र विवाद समाधानमा मेलमिलापलाई संस्थागत तथा स्तरोन्नति गरिएको तथा वडा कार्यालयमा वडा महिला सञ्जाल गठन गरी सञ्चालन गरिएको महानगरले 

जनाएको छ। बेरुजु फस्र्योटमा उल्लेख्य सुधार गरिएको महानगरले जनाएको छ। कार्यालयबाट भुक्तानी गर्नुपर्ने रकम विद्युतीय माध्यमबाट छिटो छरितो र प्रभावकारी रूपमा भुक्तानी प्रक्रिया सुरु गरिएको, राजस्व सङ्कलनलाई सबलीकरण गर्न अनलाइन प्रणाली प्रयोगमा ल्याई कार्यान्वयनका लागि वडास्तरमा अधिकार प्रत्यायोजन गरिएको छ।

स्वास्थ्य सेवा प्रवर्धन 

स्वास्थ्य सेवा प्रवर्धन सञ्चालन कार्यविधि जारी गरी सबै वडा कार्यालयमा चिकित्सकसहितको स्वास्थ्य प्रवर्धन केन्द्र सुरु गरिएको, काठमाडौँ उपत्यकाभित्र निःशुल्क एम्बुलेन्स सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको, विभिन्न अस्पतालसँग स्वास्थ्य उपचारसम्बन्धी सहकार्य गरिएको, इलेक्ट्रोनिक लजिटिस्क इन्फरमेसन सिस्टम र इलेक्ट्रोनिक हेल्थ इन्फरमेसन रेकडिङ एन्ड रिपोर्टिङ सिस्टमलाई स्वास्थ्य सेवासँग आबद्ध गरी प्रभावकारी सेवा सुरु गरिएको, पशुपन्छीको उपचार व्यवस्थापनमा संंस्थागत संयन्त्रको विकास भएको छ। 

सम्पदा संरक्षण तथा पूर्वाधार सुधार 

महानगरले ऐतिहासिक पोखरीको संरक्षणमा विशेष कार्यक्रम  सञ्चालन गरेको छ भने ढुङ्गेधाराको पुनर्जीवन तथा जमिनमुनिको पानीको पुनर्भरणको अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्ने काम सुरु गरेको छ। महानगरले यो एक वर्षको अवधिमा २५ वटा पार्क निर्माण, एक हजार सात सय स्मार्ट सडक बत्ती जडान, ८२ किलोमिटर सडक कालोपत्रे, सात किलोमिटर ढल निर्माण, चार वटा वडा कार्यालय भवन निर्माण, एक हजार पाँच सय मिटर फुटपाथ निर्माण, छ वटा नयाँ सार्वजनिक शौचालय निर्माण र सामुदायिक विद्यालयको भवनमा पूर्वाधार तथा मर्मत कार्यमा उल्लेख्य 

उपलब्धि हासिल गरेको छ।  

विद्यालय शिक्षा सुधार कार्यक्रम 

सामुदायिक विद्यालयमा गुणस्तर अभिवृद्धि गर्न सूचना प्रविधिमा आधारित डिजिटल स्मार्ट बोर्ड राखिएको, विद्यालय स्तर शिक्षामा सिप विकास कार्यक्रम सुरु गरिएको महानगरले जनाएको छ।  सिकाइमा नवीन अवधारणा ‘बुक फ्री फ्राइडे डे’ र इसिए प्रवर्धन कार्यक्रम सुरु गरिएको छ भने नमुना विद्यालयको अवधारणा विकास गरी सो अनुरूप विद्यालयलाई व्रmमशः स्तर वृद्वि गरिएको महानगरपालिकाले जनाएको छ।