• १३ वैशाख २०८१, बिहिबार

काम सुरु भएको तीन वर्षमा पनि बनेन अस्पताल

blog

रामेछाप समाचारदाता

रामेछाप, जेठ १५ गते । नागरिकले अझै पनि संविधानले दिएको मौलिक हकका रूपमा रहेको आधारभूत स्वास्थ्य सेवा पाउनबाट वञ्चित रहेका छन्। सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तह बनेर सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेपछि संविधान र जनस्वास्थ्य सेवा ऐन अनुसार नागरिकले गुणस्तरीय सेवा पाउने विश्वास गरिएको थियो तर स्थानीय तह बनेको छ वर्षको अवधिमा समेत स्वास्थ्य क्षेत्रमा न्यूनतम काम हुन सकेको छैन।

गाउँवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि रामेछापको खाँडादेवी गाउँपालिकाले आफ्नै लगानीमा १५ शय्याको अस्पताल बनाउन सुरु गरेको तीन वर्षभन्दा बढी भइसक्यो तर अहिलेसम्म उक्त अस्पताल निर्माणको काम सम्पन्न भएको छैन। 

खाँडादेवी गाउँपालिका–५, पकरवासस्थित सुलीथुम्का सामुदायिक वनमा आत्रियाशिवको बस्नेत जेभीले तीन करोड ७२ लाख रुपियाँको लागतमा निर्माण गर्ने गरी सम्झौता गरेर तीन वर्षअघि नै खाँडादेवी अस्पताल निर्माण सुरु गरेको थियो। अस्पताल भवन निर्माण कम्पनीले भर्खर मात्रै ढलानको काम गरेको छ। 

अस्पताल भवन छिटो बनेमा उपचारका लागि काठमाडौँ जान नसक्नेले गाउँमै उपचार पाउने स्थानीय इन्द्रसिंह तामाङले बताउनुभयो। “अस्पताल बनाउने काम सुरु भएको तीन/चार वर्ष नै भइसक्यो, लामो समय काम रोकेर भर्खर ढलान भएको छ, गाउँमा नै छिटो अस्पताल बने गाउँमा बस्ने मानिसलाई निकै सहयोग पुग्ने थियो,” उहाँले भन्नुभयो। गाउँपालिकाले छिटोभन्दा छिटो अस्पताल भवन बनाई दक्ष चिकित्सकसहितको प्रभावकारी स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने उहाँको माग छ। 

खाँडादेवी गाउँपालिका–५ का वडाध्यक्ष मजोज पौडेलले भन्नुभयो, “निर्माण व्यवसायी जिम्मेवार नबन्दा अस्पताल निर्माणको काम ढिला भयो, समयमै अस्पताल नबन्दा भौतिक अभावले स्वास्थ्य सेवाप्रवाहमा समस्या भइरहेको छ।” 

अस्पताल भवन निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरिदिएका कारण अस्पताल निर्माणमा ढिलाइ भएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो। “समयमै अस्पताल निर्माण गरेर प्रभावकारी स्वास्थ्य सेवा दिने गाउँपालिकाको लक्ष्य हो तर निर्माण कम्पनीले काममा ढिलाइ गर्दा समस्या भयो, अब फेरि काम सुरु भएकाले अर्को वर्षसम्म यो भवनबाट अस्पतालको सेवा सञ्चालन हुन्छ,” उहाँले भन्नुभयो। 

सङ्घीय र प्रदेश सरकारले भवन निर्माणका लागि बजेट नदिएपछि गाउँपालिकाको आफ्नै लगानीमा अस्पताल निर्माण गरिरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो।