• ८ वैशाख २०८१, शनिबार

रोजगारीका लागि बिदेसिनेको सङ्ख्या घट्यो

blog

काठमाडौँ, जेठ १४ गते । पछिल्लो पटक वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा ओरालो लागेको छ । नेपाली श्रमिकका गन्तव्य देशमा समेत आर्थिक मन्दीसँगै वैदेशिक रोजगारीका लागि माग कम आएकाले रोजगारीका लागि बिदेसिनेको सङ्ख्यामा ओरालो लागेको हो । 

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा सबैभन्दा कम वैशाखमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । पछिल्लो समय नेपाली युवाको उच्च माग हुँदै आएको मलेसियाले समेत विदेशी श्रमिक कोटा घटाएको छ । 

चालु आर्थिक वर्षको भदौमा वैदेशिक रोजगारीका लागि जारी भएको श्रम स्वीकृति उच्च बिन्दु रहे पनि त्यसयता श्रम स्वीकृति लिने युवा प्रत्येक महिना घट्दो क्रममा रहेका छन् । विभागका अनुसार चालु आर्थिक वर्षको भदौमा ७६ हजार युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकामा वैशाखमा घटेर ५४ हजारमा खुम्चिएको छ ।  

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले पछिल्लो पटक वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या घट्नुमा युरोपमा माग प्रमाणीकरण हुन नसक्नु, मलेसियामा नेपाली श्रमिकको माग घट्नु र विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दी मुख्य कारण रहेको जानकारी दिनुभयो । मलेसिया सरकारले पछिल्लो पटक यसअघि ‘एप्प्रुबल’ भएका आप्रवासी श्रमिक आपूर्ति नभएसम्म नयाँ माग नगर्न स्थानीय रोजगारदातालाई निर्देशन दिएसँगै मलेसियामा नेपाली श्रमिकको माग घटेको उहाँको बुझाइ रहेको छ । 

गत वर्षको तुलनामा चालु आवको वैशाखसम्म छ लाख ४० हजार युवा वैदेशिक रोजगारीमा गएको तथ्याङ्कले देखाएको छ । यद्यपि यो सङ्ख्या गत आर्थिक वर्षको तुलनाभन्दा बढी हो । गत वर्षको वैशाखसम्म वैधानिक तरिकाले विदेश जानेको सङ्ख्या पाँच लाख ५९ हजार रहेकोमा चालु आर्थिक वर्षको सो अवधिमा यो सङ्ख्या छ लाख ४० हजार पुगेको छ ।

विभागका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जान छ लाख ३५ हजारले श्रम स्वीकृति लिएका थिए । विभागको दुई आर्थिक वर्षको १० महिनाको तथ्याङ्क हेर्दा चालु आवमा दैनिक औसत दुई हजार दुई सयभन्दा बढी युवाले श्रम स्वीकृति लिएको देखिन्छ । 

गत वर्षको फागुनसम्म मासिक औसत ५० हजार युवाले श्रम स्वीकृति लिएकोमा चालु आवमा यो सङ्ख्या मासिक ६४ हजार रहेको छ । चालु आवको साउनमा ६३ हजार, भदौ ७६ हजार, असोज ५६, कात्तिक र मङ्सिरमा ६८ हजार, पुसमा ६५ हजार, माघमा ६४, फागुनमा ६१ र चैतमा ६१ हजार ४७८, वैशाखमा ५४ हजारले श्रम स्वीकृति लिएको देखिन्छ ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या खाडी देशबाट मलेसियातिर बढ्न थालेको भए पनि हाल आएर त्यहाँ जाने युवा सङ्ख्या घटेको छ । विगत १० महिनायता मलेसिया जानेको सङ्ख्यासमेत घट्दै गएको छ । 

कोरोनापछि लयमा फर्किएको वैदेशिक रोजगारी पछिल्लो पटक क्रमशः  खुम्चिन थालेको छ । साउनपछि लगातार उकालो लागेको विदेश जाने क्रम हालसम्म पनि घट्दो रूपमा रहेका कारण आगामी दिनमा आउने विप्रेषणसमेत घटने देखिएको छ ।

गत आर्थिक वर्षमा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ३.६८ गुणाले वृद्धि भएर छ लाख ३६ हजार पुगेको थियो । गत वर्ष श्रम स्वीकृति लिनेको सङ्ख्या अघिल्लो आवको सोही अवधिको तुलनामा तेब्बर बढी छ । अघिल्लो आवमा एक लाख ६६ हजार ६९८ युवाले विदेशमा रोजगारीमा जाने जनाउँदै श्रम स्वीकृति लिएका थिए । यस्तै आव २०७६/७७ मा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या तीन लाख ६५ हजार ४३३ रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।