• ८ वैशाख २०८१, शनिबार

‘जनताले फेरि आन्दोलन गर्न नपर्ने गरी गणतन्त्र प्राप्त भएको छ’

blog

काठमाडौं, जेठ १२ गते । मन परेको व्यक्ति, मन परेको दल छान्ने । मन नपरे परिवर्तन गर्ने । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले भन्नुभयो, “आफूले चाहेको आफ्नो प्रतिनिधि जिताएर त्यसमार्फत परिवर्तन गर्ने संविधानको सुनिश्चित्ता गरेका छौं ।”

उहाँले देशमा भएको लामो समयको आन्दोलनसँगै २०६२–६३ को संयुक्त आन्दोलनको परिणाम स्वरुप संविधान सभाबाट नयाँ संविधान जारी भएको बताउनुभयो ।  गणतन्त्र प्राप्त भएको १५ वर्षको अवधिमा उहाँले फेरि आन्दोलन गर्नुपर्छ कि, देशमा अप्ठ्यारो पो पर्छ कि भन्ने स्थितिको अन्त्य भएको भन्नुहुँदै यो गणतन्त्रको ठूलो उपलब्धि भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “त्यसैले विगतमाजस्तो अब चार–पाँच वर्षमा वा पाँच–सात वर्षमा फेरि आन्दोलन गरिराख्नुपर्ने अवस्था अहिले होइन । हामीले यो ठूलो उपलब्धि हासिल गरेका छौं । म त भन्छु, अहिलेका दलहरुले आफ्ना कामकारबाही, व्यवहारलाई पछाडि फर्केर हेर्छौँ, हेर्नेछौँ । कमीकमजोरी सच्याउनेछौँ । सच्याउँदै जनताको चाहना र भावना बमोजिम हामी अगाडि बढ्नेछौँ । हामीले त्यो गर्न सक्यौं भने, जनताले फेरि मौका दिनेछन् । होइन, हामीले त्यो गर्न सकेनौं भने नयाँ साथीहरुले ठाउँ पाउनुहुनेछ ।” 


संविधान निर्माण 

संविधान सभाको २०६५ जेठ १५ गतेको पहिलो बैठकबाट २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य भयो । वि.सं. २०६४ र २०७० दुवै कार्यकालमा संविधान सभा अध्यक्ष रहनुभएका नेम्वाङले यसअघिका सबै संविधान शासकले लेख्ने गरेकोमा मुलुकमा गणतन्त्र पुनःस्थापनापछि जनताले जनताको लागि संविधान निर्माण गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीतासहितको समाजवादउन्मुख संविधान यसको आधारमा प्राप्त भयो, यो महत्वपूर्ण हो । नेपालको संवैधानिक इतिहासमा जनताद्वारा बनाइएको पहिलो संविधान हो । त्यसैले यो संविधान भनेको तराई मधेसदेखि पहाड–हिमालसम्मका सबै जाति, भाषा, धर्म, संस्कृतिका जनताले बनाएको संविधान, यसको अर्को विकल्पै छैन ।” 

जनता अधिकार सम्पन्न 

उहाँले जनता अधिकार सम्पन्न भएको र जनादेशबाट जुनसुकै परिवर्तन हुने व्यवस्था ठूलो राजनीतिक उपलब्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनतालाई यति अधिकार सम्पन्न तुल्यायौं कि, अब जुनसुकै परिवर्तन जनताको आशीर्वाद, जनताबाट जनादेश प्राप्त गर्ने, आवधिक निर्वाचनमार्फत संसदमा पुगेर कुनै पनि परिवर्तन गर्ने, यो साह्रै ठूलो उपलब्धि हो । यही उपलब्धिमा उभिएर आज गणतन्त्र दिवसको सन्दर्भमा हामीले प्रण गर्नुपर्छ, हामी अगाडि बढ्नुपर्छ ।” 

उहाँले भन्नुभयो, “संविधानमा आवधिक निर्वाचनको व्यवस्था गरेका छौं । ठीक समयमा संविधान बनेपछि हामीले दुई पटक निर्वाचन सम्पन्न गरेका छौं । गत मंसिर ४ गते आम निर्वाचन सम्पन्न भयो । 

संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा नागरिकका मौलिक हकको अवस्थाको जिज्ञासामा उहाँले नागरिकका मौलिक अधिकार सम्पन्न गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मौलिक अधिकारलाई सम्पन्न गरेका छौं, थुप्रै मौलिक अधिकार राखिएका छन्, संविधानमा । विश्वको कुनै पनि संविधानलाई हामी चुनौती दिन सक्छौं, यति मौलिक अधिकार सम्पन्न छौं । यो व्यवहारमा उतार्ने कुरामा कतिपय प्रश्नहरु, समस्याहरु देखिएका छन् । त्यसमा जनताले प्रश्न उठाएका छन् ।”

राजनीतिक अधिकार सम्पन्न, जनताको सार्वभौम अधिकार सम्पन्न गरिएको तर, आर्थिक, सामाजिक, सांस्कृति अधिकारको प्रसङ्गमा कमीकमजोरी रहेको उहाँको भनाइ छ । “तर, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको जहाँसम्म प्रसङ्ग छ, यी प्रसङ्गमा आउने कमीकमजोरी देखिए । त्यसैगरी, कतिले घटनाक्रममा अहिले पछिल्लो समयमा भ्रष्टाचारका कुरा, यस्ता कुराहरुले प्रश्नहरु उठेका छन्” उहाँले भन्नुभयो । 

शान्ति प्रक्रियाको टुङ्गो 

नेकपा (एमाले) का उपाध्यक्ष समेत रहनुभएका उहाँले विश्वमै नेपालको शान्ति प्रक्रिया एक मोडलको रुपमा स्थापित रहेको बताउनुभयो । तर यो यति राम्रो र महत्वपूर्ण भए पनि यसलाई हामीले प्रस्तुत गर्न नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यो विश्वकै सन्दर्भमा शान्ति प्रक्रियाको सन्दर्भमा नेपालको मोडल हो । हामीले यो कुरा प्रस्तुत गर्न सकेका छैनौं । अब यसलाई टुङ्गोमा लग्न थोरै काम बाँकी छ, यसमा हामी लागिरहेका छौं ।” यसका लागि पुराना र नयाँ राजनीतिक सबै दल एक ठाउँमा उभिएर अघि बढ्नुपर्नेे अवस्था छ ।  

विगतजस्तो भ्रष्टाचारको विरोध गर्दा वा कुनै कुरा ठीक भएनभन्दा सुरक्षा कानुन त लाग्दैन, राजकाज मुद्दा त खेप्न पर्दैन नि, उहाँले भन्नुभयो । हामीले यी सबै कुरालाई टुंगोमा लग्ने, सम्बोधन गर्ने व्यवस्था पनि राखेका छौं । त्यसैले, एउटा लोकतान्त्रिक संविधान बनाएका छौं । हामीले शान्ति प्रक्रिया लगभग टुंगोमा पुर्‍याएर सेना समायोजन गरेका छौं ।”

जनतामा निहीत सार्वभौमसत्ता 

कतिपय विषयमा प्रश्नहरु उठ्ने गर्छ, जनताको बीचमा र संसदमा पनि त्यसैले त यो लोकतन्त्र हो । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो । म के भन्छु भने संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीतासहितको समाजवादउन्मुख संविधान हामीले बनायौँ । जनतालाई संविधान संशोधन गर्ने अधिकार दियौं । जनताले जस्तोसुकै परिवर्तन गर्न सक्छन् । छोटोमा भन्नुपर्दा अब फेरि गणतन्त्रका लागि जनताले आन्दोलन गर्नुपर्दैन । इच्छा लागेको परिवर्तन गर्न सकिन्छ, राष्ट्रिय अखण्डता र जनतामा निहीत सार्वभौमसत्ता बाहेक ।

अहिले नै संविधान संशोधन गर्ने बेला यो प्रसङ्गमा भइसकेको छ कि छैन भन्ने चाहिँ कुरा हो, उहाँले भन्नुभयो, “त्यसैले यी महत्वपूर्ण कुराहरुमा अहिले नै विचार गर्नुपर्ने बेला भयोजस्तो लाग्दैन । तर प्रश्नहरु उठेका छन्, प्रश्नहरु उठ्नुलाई अन्यथा म मान्दिनँ । छलफल गर्दै अघि बढौं । हामीले बनाएको सुन्दर समझदारीको दस्तावेज परिवर्तन गर्न नसकिने दस्तावेज होइन । जनताले चाहँदा जस्तोसुकै परिमार्जन हुन सक्छ ।”


संविधान कार्यान्वय चुनौती

अधिकारसम्पन्न नागरिकले यो संविधानको अनुभूत गर्न कति समय लाग्ला भन्ने जिज्ञासामा उहाँले सर्वस्वीकार्य संविधान बनेको तर यसलाई व्यवहारमा जनताले महसुस अर्थात् अनुभूत हुनेगरी कार्यान्वयन गर्नु चुनौती रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अझै कतिपय महत्वपूर्ण काम हुन बाँकी छ । यसलाई बुद्धिमानीपूर्वक अगाडि बढाउनुपर्छ । संविधान जारी गरिरहँदा, संविधान सभाको अध्यक्षको कुर्सीबाट मैले भनेको थिएँ कि जतिसुकै राम्रो संविधान बनोस्, संविधानले बुद्धि, विवेक र क्षमता देखाउँदैन । त्यो बुद्धि, विवेक र क्षमता हामीले देखाउनुपर्छ, राजनीतिक दल, राजनीतिक दलका कार्यकर्ताले देखाउनुपर्छ ।”

गणतन्त्रको बलमा नेपालको संविधान २०७२ जारी हुँदा देशका साना, ठूला सबै क्रियाशील राजनीतिक दल नछुटेको उहाँले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “निरंकुश पञ्चायती व्यवस्थालाई समर्थन गर्ने राजनीतिक दल, त्यसको विरोध गर्ने कांग्रेस, एमालेजस्ता दलहरुदेखि यो कुनै पनि दलले लिएको बाटो ठीक भएन भन्ने सशस्त्र क्रान्ति गर्न हिडेका माओवादी केन्द्रजस्ता दलहरु एक सिट प्राप्त गरेका साना दलहरु ३१ वटा राजनीतिक दलहरु सबै हिसाबले समावेशी संविधान बनाएको” एउटा राजनीतिक दलको प्रभुत्व भएको छिमेकीमुलुक भारतको संविधानसभाले बनाएको संविधान स्वीकार गर्न १० वर्ष लागेको तर, नेपालमा ६ वर्ष पनि नलागेको उहाँले प्रष्ट पार्नुभयो ।  

उहाँले भन्नुभयो, “म भन्छु, आज गणतन्त्र दिवसको सन्दर्भमा हामीले त्यो कुरालाई महसुस गरेर अगाडि बढ्नुपर्छ । हामी सफलतामा पुग्छौं ।”

तस्बिर र भिडियो : केशब गुरुङ 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।