टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी) कात्तिक १९ गते । गुल्मीमा खाद्य व्यवस्था एवं व्यापार कम्पनी लिमिटेड गुल्मी शाखाले चार बिक्री केन्द्र मार्फत सहुलियत मार्फत दसैँतिहारमा मात्रै ५२०.५७ क्विन्टल चामल बिक्री भएको छ । तम्घास बिक्री केन्द्रबाट ९५.२६, बलेटक्सारबाट १६९.४६, बाँझकटेरीबाट १४०.२५ र अर्खबाङ्गबाट ११५. ६० क्विन्टल गरेर ४२ लाख ९३ हजार ५५० रुपियाँ बराबरको चामल र चिनी बिक्री भएको छ ।
कुल बिक्री भएको ५२०.५७ क्विन्टल मध्ये १५८.५८ क्विन्टल चिनी र बाँकी चामल बिक्री भएको छ । चार प्रकारका चामल मध्ये स्टिम जिरा मसिनो र सोना मनसुली चामल सवैभन्दा बढि बिक्री भएको छ । जिरा मसिनो १२५ र मनसुली १६८ क्विन्टल बिक्री भएको छ । त्यसपछि चिनी बढी मात्रामा बिक्री भएको छ । गुल्मीलाई प्राप्त एक हजार क्विन्टल चामलको कोटा मध्ये ४७९.४३ क्विन्टल अझै बाँकी रहेको खाद्य व्यवस्था एवं व्यापार कम्पनी लिमिटेड गुल्मीका लेखापाल समेत रहनुभएका राजाबाबु साहले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाको कोटा अझै बाँकी रहेकाले छुट सुविधा पनि कायम रहेको छ । संस्थानका चार बिक्री केन्द्र मध्ये बलेटक्सार र बाँझकटेरीबाट सवैभन्दा बढी खाद्यान्य बिक्री भएको छ । सहुलियत पसलबाट दुई लाख ६० हजार २८५ रुपियाँ नागरिकले छुट पाएका छन् । खुद ४० लाख ३३ हजार २६५ रुपियाँको खाद्यान्य बिक्री भएको छ ।
गुल्मीमा संस्थान डेढ दशकपछि २०८० मङ्सिरबाट खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेडको रुपमा पुर्नस्थापना भएको छ । तत्कालिन समयमा तम्घासमा खाद्य संस्थानको प्रमुख कार्यालय र मजुवा तथा चौरासीमा डिपोहरु संचालनमा थिए । निजी स्तरमा पसलहरु संचालन हुन थालेपछि बिस्थापित कम्पनी फेरि नागरिकहरुको बिचमा आएको छ ।
खाद्य सुरक्षाको सुनिश्चतामा योगदान दिने, खाद्यान्यको अभावमा जीवन जोखिमको न्यूनिकरण गर्ने र महामारी तथा प्रकोपमा खाद्यान्य अभाव हुने नदिने उद्येश्यले खाद्य डिपो स्थापना गरिएको साहले जानकारी दिनुभयो ।