• २ जेठ २०८१, बुधबार

सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन नगर्न निर्देशन

blog

काठमाडौं, जेठ ११ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यले एक सूचना जारी गर्नुहुँदै सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न, नगराउन निर्देशन दिएको हो ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन,२०६८ को दफा ४ अनुसार सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नहुने व्यवस्था अनुरूप जिल्ला प्रशासन कार्यालयले यस्तो आग्रह गरेको हो ।

जिप्रकाले पार्क, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारीसाधन, विमानस्थल, सार्वजनिक शौचालय, चलचित्र घर, रङ्गशाला, धार्मिकस्थल र प्रतीक्षालय लगायतका सार्वजनिक स्थानमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्ने, नगराउन निर्देशन दिएको छ । 

त्यस्तै, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न सूचनामा उल्लेख गरिएको छ । १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ वितरण नगर्ने जिल्ला प्रशासन कार्यालयको निर्देशन छ ।

सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गरी, गराई सूचनाको पालना नगरेमा उक्त ऐनको दफा १७ बमोजिम कडा कारबाही गर्ने जिप्रकाले चेतावनी दिएको छ ।

सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, नगराउने कार्यमा सुरक्षाकर्मी सामुदायिक संस्था तथा आमनागरिकबाट आवश्यक जागरूकता, सचेतना र सहकार्य गर्न जिप्रकाले अनुरोध गरेको छ ।