• ८ वैशाख २०८१, शनिबार
blog

शालिग्राम नेपाल 

चितवन, जेठ ११ गते । भरतपुर महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको छ। २०७९ वैशाख ३१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भरतपुर महानगरपालिकाका जनप्रतिनिधिले जेठ ११ देखि कार्यभार सम्हाल्नुभएको थियो।  

विसं २०७९ को निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) लगायतको गठनबन्धनका उम्मेदवारका रूपमा नेकपा (माओवादी केन्द्र) का रेनु दाहालले विजय हासिल गर्नुभयो। प्रमुख दाहाल २०७४ सालको निर्वाचनबाट पनि प्रमुखमा निर्वाचित हुनुभएको थियो। दोस्रो कार्यकालको एक वर्ष बिते पनि प्रमुख दाहालले महानगरको नेतृत्व गरेर छ वर्ष बिताउनुभएको छ। उहाँ यो अवधिमा महानगरमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य काम भएको बताउनुहुन्छ। यस अवधिमा भएका काममध्ये सबैभन्दा महत्वपूर्ण सडक नै हो।

महानगरपालिकामा पहिलो पटक निर्वाचित जनप्रतिनिधि आउँदाको समयमा महानगरभित्र सडक त थिए तर भत्केका र ग्राभेल सडक मात्रै। अहिले २९ वटै वडा फराकिलो कालोपत्रे सडकको सञ्जालले जोडिएको छ। महानगरपालिकाभित्र पर्ने ग्रामीण क्षेत्रदेखि पहाडी क्षेत्र कविलाससम्म जाँदा अहिले कालोपत्रे सडक भएर पुगिन्छ। 

“महानगरपालिकालाई चिनाउने पहिलो आधार भनेकै सडक हो। त्यसैले हामीले यहाँका सडकलाई कालोपत्रे गर्न जोड दिएका थियौँ,” महानगर प्रमु्ख रेनु दाहालले भन्नुभयो। पहिलो कार्यकालदेखि नै सडकलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो। “पहिला सडक कालोपत्रे गर्नु पर्छ भनेर काम सुरु गरेका थियौँ। अहिले मुख्य तथा सहायक एउटा सडक पनि कालोपत्रे नभएको छैन,” दाहालले भन्नुभयो। छ वर्षको अवधिमा भरतपुर महानगरका सात सय किलोमिटरभन्दा बढी सडक कालोपत्रे भइसकेको छ। सडक कालोपत्रे गरिए पनि ढलको भने अभाव खड्किएको छ। 

पुलचोक–गोन्द्राङ छ लेन सडक 

महानगरपालिकाको गौरवको आयोजनाका रूपमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुर–टाँडी खण्डको पुलचोक–गोन्द्राङ छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। महानगरपालिकामा पर्ने ६.०८ किलोमिटर सडक विस्तारले यहाँको सवारी चाप कम हुने छ। एक अर्ब १२ करोड रुपियाँ निर्माण लागत रहेको सडक आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ।

मुख्य सडकमा स्मार्ट लाइट

उज्यालो भरतपुर कार्यक्रम अन्तर्गत महानगरको मुख्य सडकमा स्मार्ट लाइट जडान गर्ने पहिलो चरणको काम सम्पन्न भएको छ। भरतपुरमा पहिलो चरणमा ७८.२ किलोमिटर सडकमा १० वटा ‘हाई मास्ट’, ६० वटा ‘मिनी मास्ट’ जडान गरिएको थियो। यो अभियानमा भरतपुरभित्र छ हजारभन्दा धेरै स्मार्ट बत्ती जडान हुने छन्। दोस्रो चरण अन्तर्गत भरतपुरका विभिन्न स्थानमा ११८ किलोमिटरमा तीन हजार ९३५ वटा सडक बत्ती, ६० वटा ‘मिनी मास्ट’ र आठवटा ‘हाई मास्ट’ जडान गर्ने कार्यव्रmम रहेको महानगरले जनाएको छ। 

नारायणीमा तटबन्ध

जमिन कटान र डुबानलाई जोगाउँदै पर्यटकीय स्थल निर्माण गर्न पाँच अर्ब रुपियाँको लगानीमा नारायणी नदीमा तटबन्ध निर्माणको काम भइरहेको छ। बहुवर्षीय आयोजनाका रूपमा नारायणी नदी किनारमा पाँच वटा प्याकेजमा तटबन्धको काम भइरहेको हो। गुरुयोजना अनुसार नदी तटबन्ध गरिँदै गर्दा एक लाख ९८ हजार छ जना प्रत्यक्ष रूपबाट लाभान्वित हुने छन्। १४ हजार १९ हेक्टर जमिन डुबानबाट बच्ने र कम्तीमा ८० हेक्टर जमिन संरक्षण गरी उपयोगमा ल्याउन सकिने छ। 

तीन हजार जना क्षमताको सिटी हल

भरतपुरको वडा नं. १० बाइपास सडक नजिक तीन हजार जना क्षमताको सिटी हल निर्माण भइरहेको छ। चार बिघा चार कट्ठा जग्गामा अत्याधुनिक सिटी हल निर्माण भइरहेको हो। अन्तर्राष्ट्रियस्तरको हलमा सातवटा ठूला साना हल बन्ने छन्। ती हल दुई हजारदेखि तीन हजार जनासम्मको क्षमताका रहने छन्। हलबाहेक आधुनिक फुड कोर्ट, आइटी रुम, प्रशासनिक कोठा, पाहुना कक्ष रहने छन्। सिटी हल निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

विद्युतीय तार भूमिगत प्रणालीमा

भरतपुर महानगरपालिकाभित्रका मुख्य सडकमा विद्युतीय तार भूमिगत गरिएको छ। उपत्यकाबाहिर पोखरा र भरतपुर महानगरपालिकामा एकै पटक विद्युतीय तार भूमिगत गर्ने कार्य भइराखेको हो। महानगरको मुख्य सडकमा बिजुली, टेलिफोन तथा अप्टिकल फाइबरलाई भूमिगत प्रणालीमा लैजाने कार्य अगाडि बढाइएको छ।

दुध उत्पादकलाई अनुदान

महानगरपालिकाले विगत पाँच वर्षदेखि दुधमा अनुदान दिँदै आएको छ। नेपालका ७५३ स्थानीय तहमा सबैभन्दा धेरै अनुदान दिनेमा भरतपुर पर्छ। आर्थिक वर्ष २०७४/७५ देखि प्रतिलिटर २५ पैसा अनुदान दिएर सुरु गरेको महानगरले हरेक आवमा वृद्धि गर्दै २०७८/७९ देखि अनुदान रकम बढाएर प्रतिलिटर तीन रुपियाँ पु-याएको छ। महानगरले यो अनुदान वृद्धि गरेर पाँच रुपियाँ पु¥याउने लक्ष्य लिएको नगर प्रमुख दाहालले बताउनुभयो। गत आवमा ५४ सहकारी संस्था र १३ वटा निजी व्यावसायिक फार्ममार्फत आठ हजार ७४८ किसानलाई अनुदान रकम उपलब्ध गराइएको छ। 

बोरिङमार्फत सिँचाइ

पश्चिम चितवनको सुक्खाग्रस्त क्षेत्रमा बोरिङबाट बाह्रै महिना सिँचाइको व्यवस्था भएको छ। महानगरपालिका र चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनामार्फत पश्चिम चितवनमा दुई वर्षको अवधिमा डिप ट्युबवेल र स्यालो ट्युबवेल निर्माण गरिरहेको हो। आयोजनाबाट ६० वटा ठूला डिप ट्युबवेल सिँचाइ र ३२५ वटा स्यालो ट्युबवेल निर्माण गरिएको छ। सिँचाइ सुविधा उपलब्ध भएसँगै यस क्षेत्रको चार हजार बिघा जमिन सिञ्चित भएको छ। 

सामुदायिक विद्यालयको स्तर वृद्धि

विगत छ वर्षको अवधिमा भरतपुर महानगरका सामुदायिक विद्यालयमा सात हजार विद्यार्थी थपिएका छन्। सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी अहिले निजी विद्यालयमा पढ्ने विद्यार्थी जस्तै गरी स्कुल बसमा जाने गर्छन्। ‘अटिजम’ तथा ‘डाउन सिन्ड्रोम’ भएका बालबालिकाका लागि अटिजम विशेष विद्यालय स्थापना गरिएको छ। 

सामुदायिक विद्यालयमा लोपोन्मुख तथा अति सीमान्तकृत समूहका बालबालिकाको शिक्षामा निरन्तरताका लागि कक्षा १ देखि ८ सम्मका बालबालिकालाई महानगरपालिकाको आन्तरिक स्रोतबाट छात्रवृत्ति प्रदान गर्न बजेट विनियोजन गरी कार्यक्रम  अगाडि बढाइएको छ।

घर घरमा शुद्ध खानेपानी

भरतपुरका सबै जनतामा खानेपानीको पहुँच पु-याउन चार अर्ब रुपियाँको लागानीमा  खानेपानी आयोजना सञ्चालनमा छन्। भरतपुर महानगरपालिकामा २०७४ यता सङ्घ, प्रदेश र स्थानीय तह गरी विभिन्न २३ खानेपानी आयोजनाको निर्माण एवं मर्मतसम्भार भएका छन्। सो अवधिमा करिब तीन अर्ब ७७ करोड रुपियाँ खानेपानीको क्षेत्रमा विनियोजन भएको छ। महानगरपालिकाले सात हजार लिटरसम्म खानेपानी खपत गर्ने ग्राहकलाई निःशुल्क व्यवस्था गरेको छ।  


भरतपुरलाई देशकै नमुना सहर बनाउँछौँ 



० भरतपुर महानगरको प्रमुखमा दोस्रो कार्यकालको एक वर्ष पूरा भएको छ। यो अवधि कस्तो रह्यो ? 

यो एक वर्ष महत्वपूर्ण रह्यो। पहिलो कार्यकालमा गर्छु भनेको तर गर्न बाँकी रहेका काम अगाडि बढायौँ। महानगर प्रमुखका रूपमा दोस्रो कार्यकालको पद बहालीकै व्रmममा दुई दूरगामी निर्णय ग¥यौँ– भरतपुरमा जन्मिने छोरीका लागि निःशुल्क जीवन बिमा र सात हजार युनिटसम्म पानी खपत गर्ने विपन्नलाई निःशुल्क खानेपानीको व्यवस्था। पहिलो कार्यकालमा सुरु भएका योजनालाई निरन्तरता दिँदै नयाँ योजना सुरु भएका छन्। हाम्रो ध्यान भरतपुरलाई दिगो ढङ्गबाट सन्तुलित विकास गर्नेतर्फ केन्द्रित छ। केही दूरगामी महत्वका विकासका परियोजनालाई निकास दिन सफल भएका छौँ। गौतम बुद्ध अन्तर्राष्ट्रिय व्रिmकेट रङ्गशाला, भरतपुर विमानस्थलको विस्तारलगायतका काम अगाडि बढेका छन्। 

० यो अवधि कति उपलब्धिपूर्ण भएको मान्नुहुन्छ ?

विकास निर्माणको हिसाबले पाँच छ वर्षमा भरतपुरमा निकै परिवर्तन भएको छ। पूर्वाधार मात्र विकास होइन भन्ने मान्यताका आधारमा भरतपुरवासीलाई खुसी बनाउने गरी कार्यक्रम  अगाडि बढाएका छौँ। सडकलगायतका भौतिक पूर्वाधार, शैक्षिक, खेलकुदलगायत चौतर्फी विकास भएको छ। नारायणीमा सिग्नेचर ब्रिज निर्माण हुँदै छ। अबको दुई वर्षपछि सडक निर्माणको काम लगभग सकिन्छ। हाम्रो प्राथमिकता सडकपछि हरियाली प्रवर्धन, सौन्दर्यीकरण र उत्पादनतर्फ छ। हामीले पहिलो कार्यकालमा जति पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका थियौँ, अहिले भने उत्पादनलाई राखेका छौँ। हामी सहरी पूर्वाधार विकासमा ७५३ मध्ये उत्कृष्ट, वित्त आयोगको मूल्याङ्कनमा उत्कृष्ट, खेलकुद क्षेत्र उत्कृष्ट, बेरुजु कम र आर्थिक पारदर्शितामा अब्बल छ। यही नतिजाबाटै थाहा हुन्छ, भरतपुरले विकासमा धेरै फड्को मारेको छ।

० यो अवधिमा निर्वाचनको बेला तपाईंले गर्नुभएका वाचा कति पूरा भए ?

निर्वाचनको समयमा गरेका वाचा धेरै छन्। भरतपुरको एकै वर्षमा पूरा गर्न सकिँदैन। अझै चार वर्ष बाँकी छ। प्राथमिकता र आवश्यकताका आधारमा ती वाचा व्रmमैसँग पूरा हुने छन्। भरतपुरलाई देशकै हेर्नलायक सहर बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित छ। 

स्थानीय सरकारले जनताका सानोभन्दा सानो समस्या पनि बुझेको हुन्छ। सिंहदरबारको अधिकार गाउँ गाउँसम्म पु¥याउने स्थानीय सरकारको काम कर्तव्य पनि हो। त्यही अनुरूप हामीले जनतालाई कसरी खुसी र सुखी बनाउने भन्नेतर्फ ध्यान केन्द्रित गरेका छौँ। यी सबै काम गर्न भने स्रोतको समस्या हुन्छ। भरतपुरको आन्तरिक राजस्वबाट मात्रै सबै काम गर्न सम्भव छैन। प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरेर हामी अगाडि बढेका छौँ। 

० महानगर स्थानीय सरकार हो। त्यसैले महानगरले भौतिक पूर्वाधारलाई मात्रै जोड दिएको देखिन्छ। जनताको जीवनस्तर उकास्ने खालका कार्यक्रम  छन् कि छैनन् ? 

हामीले भौतिक विकाससँगै आर्थिक–सामाजिक पक्षलाई पनि ध्यान दिइरहेका छौँ।  जनताको जीवनस्तर उकास्न रोजगारी सिर्जना गर्नु पर्छ। जनतालाई उत्पादनसँग जोड्नु पर्छ । यसका लागि सीपमूलक तालिम, कृषि उत्पादन वृद्धि गर्ने जस्ता कार्यक्रमलाई प्राथमिकता दिई आत्मनिर्भर बनाउनेतर्फ काम अगाडि बढाएका छौँ। यसले नगरवासीको जीवनस्तर उकास्न सहयोग पु-याउनेमा हामी आशावादी छौँ। महानगरपालिकाले यस वर्ष मात्रै दुई हजार जनालाई निःशुल्क तालिम दिन लागेको छ। भरतपुरका ठूला निर्माण आयोजना सम्पन्न भएसँगै प्रशस्त रोजगारी सिर्जना हुन्छ। 

० देशकै नमुना महानगर बनाउने बताउनुभयो। यसका लागि के कस्ता कार्यक्रम  छन् त ? 

एउटा व्यवस्थित महानगरलाई आवश्यक पर्ने सबै पूर्वाधारको निर्माण भइरहेका छन्। यी सबै जल, जमिन र जङ्गलसँग सम्बन्धित छन्। भरतपुरमा अहिले निर्माणाधीन आयोजना सम्पन्न भएसँगै आर्थिक, पर्यटन, शैक्षिक र स्वास्थ्यको हब बन्छ। भरतपुर स्मार्ट सिटी निर्माण गर्ने गरी गुरुयोजना अनुसार अगाडि बढेका छौँ। 

०  जनताको अपेक्षा अनुसार काम भएको छैन भन्ने गुनासा पनि सुनिन्छन्। तपाईं के भन्नुहुन्छ ?

भरतपुरमा विकास भएन भन्ने मान्छे मैले भेट्टाएको छैन। जनताले विकासको अनुभूति राम्रै गर्नुभएको छ। जनताका अपेक्षा अनुसार नै नीति तथा कार्यव्रmम ल्याएका छौँ। एकै पटकमा सबै अपेक्षा समेट्न नसकिए पनि बिस्तारै पूरा हुने छन्। 

० फोहोर र पार्किङको दीर्घकालीन व्यवस्थापनमा महानगर चुकेको हो ? 

फोहोर र पार्किङको समस्याको दीर्घकालीन समाधानका लागि प्रयास भएका छन्। दुवै प्राविधिक विषय भएकाले यसको थप कार्य अगाडि बढाउन केही असहज भएको मात्रै हो। यो कार्यकालमा यी दुवै कामले पूर्णता पाउँछ। मेरो पहिलो कार्यकालमा अधुरा रहेका आयोजना पूरा गर्नुलाई नै आफ्नो दोस्रो कार्यकालको लक्ष्य बनाएकी छु। अब ल्यान्डफिल साइट निर्माण गर्ने काम बाँकी छ। यो कार्यकालमा फोहोर व्यवस्थापनको कामले पूर्णता पाउँछ।