• १३ मंसिर २०८०, बुधबार

जलन उपचारको व्यवस्था

blog

स्वास्थ्य सेवा विभागको तथ्याङ्क उल्लेख गर्दै पछिल्लो वर्ष मात्रै देशभर सामान्य र गम्भीर गरी ७६ हजारभन्दा बढी मानिस जलनबाट प्रभावित भएको प्रतिवेदन छ । झन्डै साढे पाँच लाखभन्दा बढी नेपालीले आफ्नो जीवनकालमा कुनै न कुनै जलन भोगेको प्रकाशमा आएको छ । सरकारी स्वास्थ्य तथ्याङ्क अनुसार, सन् २०१९ र २०२० बीचको एक वर्षको अवधिमा एक हजार सात सयभन्दा बढी जलन घाइते अस्पताल भर्ना भएका थिए भने ८३ हजार ६६० जनाले बहिरङ्ग उपचार पाएका थिए । तीमध्ये ८९ जनाको मृत्यु भएको थियो । जलनका बिरामी ९० प्रतिशत विपन्न वर्गका हुनाले हाम्रो देशमा जलन उपचारलाई बेवास्ता गरिएको विषय छ तर जब प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी नै जलनमा पर्नुभयो अनि यो गभ्भीर समस्याका रूपमा चर्चा हुन थाल्यो । 

गत फागुन ५ गते वीर अस्पतालमा नियुक्त हुँदा साथ कार्यकारी निर्देशक डा सन्तोष पौडेलले वीर अस्पतालमा अत्याधुनिक जलन उपचार कक्ष (वर्न वार्ड) सञ्चालन गर्ने निर्णय गर्नुभएको थियो तर तीन महिना बित्दा पनि त्यसबारे काम अगाडि बढेकै छैन । वीर अस्पताल प्रशासन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच समन्वयको अभाव र मतभिन्नता देखिएको छ । वीर अस्पतालले जलन वार्डका लागि केही भौतिक पूर्वाधार तयार पारे पनि सञ्चालनका लागि मन्त्रालयसँग बजेट मागेको तर रकम नआउँदा सञ्चालन गर्न नसकिएको बताएको छ । मन्त्रालयले भने बजेट अभावकै कारण वार्ड सञ्चालन गर्न नसकिने अवस्था नरहेको तर्क गरेको छ । त्यसो त तत्कालीन सरकारले हरेक पालिकामा आधारभूत अस्पताल निर्माण गर्ने निर्णयसँगै प्रत्येक ठुला (प्रदेश) अस्पतालमा वर्न वार्ड बनाउने तयारी गरेको थियो । सोही बखत कोभिड महामारीको फैलावटका कारण त्यता सरकारको ध्यान गएन । बरु महामारी नियन्त्रामै केन्द्रित हुन पुग्यो । 

विश्व स्वास्थ्य सङ्गठनको एक प्रतिवेदन अनुसार नेपालमा साना ठुला गरेर हरेक वर्ष ७५ हजार हाराहारीमा जलनका घटना हुन्छन् । आगोको जलन, ग्यास लिक भएर हुने जलन, एसिडको जलन, तेल पड्किने, दाल पोखिने, चिया पोखिने, दुध पोखिने, तातो चिज उछिट्टिने, कुँडो पकाएको भाँडामा खस्ने, तातो चिजमा पर्ने र विद्युतीय जलन आम रूपमा हुने जलन हुन् । बन्द कोठामा आगलागी हुँदा त्यहाँ कार्बन मोनोअक्साइड ग्यास उत्पादन हुन्छ । कार्बन मोनोअक्साइड ग्यास र तातो धुवाँमा श्वास फेर्दा उच्च तापक्रमले मानिसको मुखदेखि श्वासप्रश्वास र फोक्सोसम्मै जलाउन सक्ने विज्ञहरू बताउँछन् । त्यसरी भएको घाउ देखिँदैन । जलनमा पर्नेहरूको श्वास नली सुनिँदै गएर बन्द हुन्छ र ज्यानसमेत जान सक्छ । नेपालमा जटिल जलन उपचार गर्न पर्याप्त स्रोतसाधन छैन । नेपालमा जलनको उपचार गर्ने प्लास्टिक सर्जन जम्मा १३ जना मात्रै दर्ता छन् । अन्य स्वास्थ्यकर्मीलाई तालिम र उपकरणको अभाव छ ।

वीर अस्पतालमा जलन वार्ड सञ्चालनका लागि आवश्यक चिकित्सक, शय्या, सघन उपचार शय्या तथा स्थानसमेतको व्यवस्था भइसकेको भए पनि केही उपकरण र नर्सिङ जनशक्ति पूरा नभएको एवं त्यसका लागि  मन्त्रालयले आवश्यक बजेट व्यवस्था गर्न नसकेको बताइएको छ तर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अस्पतालको जलन वार्ड सञ्चालन गर्ने फाइल नै मन्त्रालयमा आएको छैन र त्यसका लागि मन्त्रालयको बजेट कुरिरहनु आवश्यक छैन । यो दन्तबझानले देखाउँछ, जलन समस्या राज्यको प्राथमिकतामै परेको छैन । नेपालमा जलनका घाइतेलाई उपचार गर्न भनेर बनाइएका सरकारी अस्पताल छैनन् । जलन उपचार जटिल हुन्छ । आवश्यकीय सुविधासम्पन्न छुट्टै अस्पताल बनाउन लागतको हिसाबले अहिलेलाई नसकिने भए पनि कम लागतमै ठुला अस्पतालमा प्रविधि, जनशक्ति र आवश्यक पूर्वाधारसहित वर्न वार्ड स्थापना गर्न सकिन्छ, यो अत्यावश्यक छ । 

आगलागीका घटनामा सामान्यबाहेकको उपचार नेपालमा सम्भव छैन तर सर्वसाधारण विदेशमा पुगेर उपचार गराउन सक्दैनन् । बढीजसो आधारभूत तहकै व्यक्ति जलनमा पर्ने भए पनि आगोले सानो ठुलो हैसियत हेर्दैन । नीति निर्णायक हैसियतवालाको प्राथमिकतामा यो समस्या नपरेको जलन उपचारको संस्थागत संरचना बन्न नसकेको यथार्थ हो । विपन्न उपचार नपाएर अकालमा मृत्यु हुनुपर्ने तर कतिपय पहुँचवालाले राज्यकोषको रकम खर्च गरेर विदेशमा उपचार गर्ने पद्धतिको अन्त्य गरिनु पर्छ । आगलागीका घटनाका पीडितको उपचार पनि दीर्घरोगीलाई राज्यले उपलब्ध गराउने न्यूनतम सुविधासँगै जोड्न सके उपचार केही सहज बन्ने छ ।