प्रेमराज सिम्खडा
कालीकोट, जेठ ८ गते । कालीकोट जिल्लाको महाबै गाउँपालिका वडा नं. ४ पादमघाटस्थित तिला माविका ३० जना विद्यार्थी बेहोस भएका छन् । विद्यार्थी बेहोस भएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ ।
कक्षा कोठामै विद्यार्थी बेहोस भएपछि पठनपाठन गराउन समस्या भएकाले बन्द गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक दिनेशबहादुर शाहीले सोमबार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढलेकोलाई उपचार गरिए पनि निको नभएपछि आज मंगलबारबाट विद्यालय बन्द गरेको जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करन सिंहले स्वास्थ्यकर्मीको सल्लाहमा केही दिन विद्यालय बन्द गर्नु भनेपछि थप जोखिम नहोस् भनेर बन्द गरिएको बताउनुभयो ।
दशदेखि १४ वर्ष उमेर समूहका बालबालिका विद्यालय नजिकैको खोलामा पौडी खेलेर आएपछि कक्षाकोठामा बेहोस भएको अध्यक्ष सिंहको भनाइ छ ।
महाबै आधारभूत अस्पतालका डा. अरुण मण्डलले गर्मीमा पर्याप्त पानी नपिएकाले विद्यार्थीमा डिहाइड्रेसन भएर बेहोस भएको बताउनुभयो ।
शरीरमा सुख्खापनालाई यस्तो भएकाले विद्यार्थीलाई स्लाइन दिएपछि सबैलाई ठीक भइरहेको उहाँले बताउनुभयो ।