• २८ पुस २०८१, आइतबार

वैदेशिक रोजगारीबाट फर्किएका युवाको तथ्याङ्क सङ्कलन हुँदै

blog

कोहलपुर नगरपालिका कार्यालय । तस्विर: सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, जेठ ८ गते । कोहलपुर नगरपालिकाले विदेशमा सिकेको सिपलाई स्थानीयस्तरमा उपयोग गर्ने योजना बनाएको छ । नगरपालिकाको सबैलाई रोजगारी दिने नीतिअनुसार विदेशमा गएर गरेको र सिकेको सिपलाई उपयोग गर्न विदेश गएर फर्किएका युवाको तथ्याङ्क सङ्कलन सुरु गरिएको हो । 

कोहलपुर नगरपालिकाअन्तर्गत सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले दिगो तथा सम्मानित रोजगारीका लागि रोजगारीको सिलसिलामा विदेश गएर फर्किएकाको तथ्याङ्क सङ्कलन सुरु गरिएको बताउनुभयो । 

उहाँले दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो चरणसँगको साझेदारीमा कोहलपुर नगरपालिका क्षेत्रका युवाको तथ्याङ्क सङ्कलन सुरु गरिएको बताउनुभयो । 

परियोजनाको आर्थिक वर्ष २०८९/०८० को कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारबाट फर्केका युवाका लागि सीपसम्बन्धी तथ्याङ्क सङ्कलन, अद्यावधिक कार्यसम्बन्धी अभिमुखीकरणसमेत गरिएको छ ।

सामाजिक विकास समितिका संयोजक विश्वकर्माकाअनुसार तथ्याङ्क सङ्कलनमा खटिने कर्मचारीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

उहाँले कोहलपुरको विकासका लागि सीपयुक्त जनशक्ति परिचालन गर्ने उद्देश्य नगरपालिकाको रहेको बताउनुभयो । 

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले देश विकासका लागि युवाको आवश्यकता महसुस गरेर यो सर्वेक्षण सुरु गरिएको बताउनुभयो ।