• ११ मंसिर २०८१, मङ्गलबार

झिमरुक गाउँपालिकाले पाठ्यक्रम निर्माण गर्ने

blog

बिमल प्रसाद पोख्रेल 

प्युठान, जेठ ३ गते । प्युठानको झिमरुक गाउँपालिकाले स्थानीय पाठ्यक्रम निमार्ण गर्नका लागि वृहत गोष्ठि आयोजना गरेको छ । स्थानीय आवश्यकताका आधारमा परिवेश अनुकुलका विषयहरु समावेश गरि आगमि शैक्षिक सत्रबाट कक्षा एकदेखि आठसम्म लागू हुने गरि वृहत गोष्ठि आयोजना गरेको हो ।

स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका सदस्य बालाराम पोख्रेलले अन्य स्थानीय तहको पाठ्यक्रम र स्थानीय आवश्यकताको पहिचान र गहन अनुसन्धान गरि पाठ्यक्रम तयार गरिएको जानकारि दिनुभयो । शिक्षा विकास तथा समन्वय इकाइ प्युठानका प्रमुख शिवराज पण्डितले पाठ्यक्रम उपयोगी र असल कुराहरुको उजागर गर्ने र विकृतिको निरुत्साहित गर्नुपर्ने बताउनुभयो । 

समय, ऋण र क्यालेन्डर हेरेर विद्यालय जाने शिक्षकले रुचिकर तरिकाले विद्यार्थीलाई सिकाइ उपलब्धी दिन नसक्ने उहाँको तर्क छ । "स्थानीय कला संस्कृति भेषभुसा तथा पौराणिक मठ मन्दिर आदिलाई समावेश गरेर पाठ्यक्रम तयार हुनेछ", शिक्षा शाखा प्रमुख मोहन बुढा क्षेत्रीले भन्नुभयो, "विभिन्न विषयगत ग्रुप  बनाइआएका महत्त्वपूर्ण सुझाव ग्रहण गर्ने गरि ग्रुप विभाजन गरिएको छ ।"

निवर्तमान गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले सबैको सक्रिय सहभागिता भएको भन्दै स्थानीय पाठ्यक्रम झिमरुकमा सुहाउँदो हुनुपर्ने बताउनुभयो । "विद्यार्थीको स्तर अनुसारको पाठ्यक्रम तयार गर्न निकै अफ्ट्यारो छ", उहाँले भन्नुभयो, "पाठ्यक्रम बनाउने ठूलो होइन विषयवस्तु बुझ्ने खालको हुनुपर्छ ।" उहाँका अनुसार शिक्षा सीप रोजगार र प्रयोगमुखी शिक्षालाई प्राथमिकता दिनुपर्छ किनभने शिक्षा जीवन र जगत बुझ्ने अस्त्र हो । परम्परागत शिक्षालाईभन्दा आयमुलक तथा आधुनिक प्रविधि शिपको प्रयोगमा अगाडी बढाउन व्यवहारिक शिक्षामा जोड दिनुपर्नेमासमेत उहाँले जोड दिनुभयो । 

गाउँपालिका उपाधङ प्रमोद पोख्रेलले हाम्रो झिमरुक राम्रो झिमरुक बनाउने गरि अगाडि बडनुपर्ने बताउनुभयो । "जल जमिन जङ्गल लाई महत्व दिएर पाठ्यक्रम निर्माण हुनुपर्छ", उहाँले भन्नुभयो, “स्थानीय स्रोत साधनको उचित प्रयोग गरेर पाठ्यक्रम बनाउनुपर्छ ।" 

झिमरुकको पाठ्यक्रम जिल्ला लगाएत पालिलिकाको लागि पनी काम लाग्ने गरि पाठ्यक्रम बनाउन सबैको सहयोग आवश्यकता रहेको पोख्रेलले बताउनुभयो । सुझावको आधारमा पाठ्यक्रमको ड्राफ्टलाई अन्तिम रुप दिने उहाँको भनाइ छ । एक फरक प्रसङ्गमा उपाध्यक्ष पोख्रेलले भने स्थानीय स्तरमा निर्माण हुने योजनाको काम गुणस्तरीय हुनुपर्ने बताउनुभयो । 

झिमरुक गाउपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले शिक्षाको विकास बिना अन्य विकास सम्भव नहुने भन्दै शिक्षामा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । अध्यक्ष एमसीले भन्नुभयो,“शिक्षाको विकास र शैक्षिक गुणस्तर कायम गर्न सबै लाग्नुपर्छ । झिमरुकको समृद्धिको लागि हामिले निर्माण गर्ने शिक्षा नीति र पाठ्यक्रममा भरपर्ने भएकोले त्यसतर्फ सुझबुझका साथ लाग्नुपर्नुछ ।"

"राजनीतिबाट माथी उठेर सबै जनप्रतिनिधि जनताको पक्षमा काम गर्नुपर्ने धारणा छ । यो कार्यशालाले झिमरुकको समृद्धि र शिक्षामा आमूल परिवर्तन ल्याउन सक्ने खालको बनाउन प्रयत्न गर्नुपर्छ", उहाँले भन्नुभयो ।

यस्तै, कार्यान्वयनमा आएका योजना तथा कार्यक्रम समय सिमाभित्र सम्पन्न गर्न कर्मचारी जनप्रतिनिधि उपभोक्ता समिति फिल्डमा खट्नुपर्ने उहाँले बताउनुभयो ।