काठमाडौं, जेठ १ गते । दैनिक जसो खानेपानीको सुविधा पाउँदै आएका उपत्यका बासीले अब तीनदेखि १० दिनको फरकमा खाने पानी थाप्न पाउने भएका छन् । मेलम्ची खानेपानी आयोजनामा मर्मत गर्नुपर्ने भएकाले उपत्यकामा १० दिन पानी नआउने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाएको छ ।
पहिले दैनिकजसो खानेपानी वितरण गर्दै आएको लिमिटेडले अबका केही दिन तीनदेखि दश दिनको फरकमा पानी वितरण गर्न लागेको सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले तीन देखि दश दिनको फरकमा पानी वितरण हुने बताउनुभयो । यस अवधिमा पानी तीन घण्टा छाडिने छ ।
शाक्यका अनुसार अनुसार मेलम्चीको पानी वितरण भइरहेको नयाँ पाइपबाट भने वितरण रोकिनेछ । पुरानो पाइपबाट वितरण भइरहेका स्थानमा मात्र वितरण हुनेछ । उहाँले भन्नुभयो, “मेलम्चीको पानी परीक्षण गरिएका नयाँ पाइपहरुमा १० दिन पानी पूर्णरुपमा बन्द हुन्छ । पुराना पाइपहरुमा मात्र सो समयमा तीनदेखि १० दिनको अन्तरमा पानी पठाउँछौँ ।”

आठ करोड लिटर मात्र पानी वितरण 
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार मेलम्चीको पानी अवरुद्द हुँदा आठ करोड लिटर मात्र पानी वितरण हुने भएको छ । मेलम्चीको पानी आएको अवस्थामा १८ करोड लिटर पानी वितरण भएकोमा अबका केही दिनमा मेलम्चीको १० करोड लिटर पानी नआउने भएकाले आठ करोड लिटर मात्र पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मेलम्चीको पानी आउँदा लिमिटेडसँग पहिलेका स्रोतको आठ करोड लिटर र मेलम्चीको १० करोड सहित १८ करोड लिटर पानी वितरण हुँदै आएको थियो । अव मेलम्चीको अवरुद्द हुँदा आठ करोड लिटर मात्र वितरण गर्नेछौँ ।”
६० हजार धारामा वितरण रोकिने 
काठमाडौं उपत्यकाका नयाँ जडान भएका ६० हजार धारामा अबका १० दिन पानी वितरण रोकिने छ । पहिले मेलम्ची आयोजना परीक्षणका क्रममा रहेका यी धाराहरुमा अवका दश दिन पानी बन्द हुने शाक्यले बताउनुभयो । उहाँका अनुसार पुराना १ लाख ६० हजार धारामा मात्र पानी वितरण हुने उहाँको भनाइ छ ।
वार्षिक ७५ करोड राजश्व उठ्यो
मेलम्ची खानेपानी आयोजनाको पानी थप भए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले एक वर्षमा १० करोड रुपियाँ थप राजश्व सङ्ककलन भएको जनाएको छ । पहिले लिमिटेडले पानी वितरण मार्फत ६५ करोड राजश्व सङ्कलन गर्ने गरेकोमा मेलम्ची आयोजनाको १० करोड लिटर पानी थप भएपछि १० करोड रुपियाँ राजश्व बढेको पनि शाक्यले बताउनुभयो । जसअनुसार लिमिटेडले गत बर्षमा ७५ करोड राजश्व सङ्कलन गरेको छ ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                