• ११ मंसिर २०८१, मङ्गलबार

लामाे खडेरी: मर्स्याङ्दीको जलविद्युत उत्पादन बढेन

blog

आँबुखैरेनी गाउपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत केन्द्रको पावर हाउस । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख ३१ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन बढ्न सकेको छैन । हाल पूर्ण क्षमतामै उत्पादन हुनुपर्नेमा लामो समयसम्म खडेरी भएकाले उत्पादन बढ्न नसकेको केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख बद्री फुँयालले भन्नुभयो ‘‘यतिबेला प्रशस्त पानी पर्ने समय हो तर खडेरी लामो समयसम्म भएकोले नदीमा पानीको वहाब कम भएकाले उत्पादन बढ्न सकेको छैन । ’’ धेरै समय खडेरी परेकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेकाले तथा कतिपय सुकेकाले उत्पादन बढ्न नसकेको केन्द्र प्रमुख फुँयालले जानकारी दिनुभयो ।

यो समय वर्षा मौसमको भए पनि वर्षा नहुँदा पानीको बहाव कम भएपछि उत्पादन घटेको केन्द्रले जनाएको छ । 

नदीमा पानीको मात्रा आधा कम भएकाले उत्पादन पनि सोहीअनुसार घटेको उहाँले जानकारी दिनुभयो । ‘‘साँझ र विहान विजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कमा जम्मा गरेर लैजाने साँझ विहान भने पूर्ण उत्पादन बढाउने गरिएको केन्द्र प्रमुख उहाँले जानकारी दिनुभयो । 

केन्द्रका अनुसार विद्युतको माग साँझ ५ बजे देखि १० बजे सम्म र विहान ५ बजेदेखि १० बजे बढी हुने भएकाले थुनेर राखेको पानीलाई छाडेर करिव पूर्ण क्षमतामै उत्पादन गरिएको छ । यतिबेला गर्मी बढ्दै गएकाले हिउँ धेरै पग्लने  भए पनि जलवायू परिवर्तनले हिमालमा कम हिउँ पर्दा नदीमा बहाव नबढेको हो ।

हाल पानी कम हुँदा घटेर दिउँसो ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुन्छ । विद्युतको माग धेरै भएको समयमा तीनवटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमताअनुरुपको ६९ मेगावाट विद्युत उत्पादन भइरहेको छ । सुख्खा मौसममा विद्युत उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत आयात गर्नुपर्ने वाध्यता हुन्छ । यस केन्द्रबाट उत्पादित विद्युत चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

मर्स्याङ्दी हिमालबाट बगेर आएको मर्स्याङ्दी नदी चिसो मौसममा तापक्रम घट्दै जाँदा हिँउ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाब घटेसँगै विद्युत उत्पादन पनि घट्ने गर्दछ । यसैगरी, गर्मी मौसममा  हिमाल धेरै पग्लने भएकाले पानीकाे मात्रा बढ्दा उत्पादनमा वृद्धि हुने गर्दछ ।