• १४ मंसिर २०८१, शुक्रबार

भ्रष्टाचारको गन्ध मात्रै आए पनि कारबाही हुन्छ : मन्त्री मोदी

blog

काठमाडौं, वैशाख ३० गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले भ्रष्टाचारको गन्ध मात्रै आए पनि कारबाही हुने चेतावनी दिनुभएको छ । 

प्रेस सेन्टर, नेपाल काठमाडौंको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री मोदीले भन्नुभयो, ‘विभिन्न मन्त्रालयमा हाम्रै मन्त्रालय मातहतका कर्मचारीहरू हुनुहुन्छ, मैले सबैलाई भनेको छु, भ्रष्टाचारको गन्ध मात्रै आएको खण्डमा पनि कारबाही हुन्छ ।’

भ्रष्टाचारलाई निर्मूल पारी सुशासन कायम गर्नेगरी कार्यसम्पादन गर्न आफूले सबैलाई निर्देशन दिएको बताउँदै उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूको पहिलो अभियान भनेको सुशासन हो । सामाजिक न्याय, सुशासन र विकास र समृद्धि अहिलेको सरकारको मुख्य अभियान हो । यसबाहेक अन्य कुरामा ध्यान दिएको खण्डमा सबैलाई जुनसुकै हदसम्मको कारबाही हुन्छ । सङ्घीय निजामती सेवा ऐन ल्याउने र सुशासन कायम गर्ने विषय नै मेरो पहिलो प्राथमिकताको विषय हो, अहिले हामी निमित्तको शासन हटाउने काममा लागेका छौँ ।’ 

मन्त्री मोदीले थप्नुभयो, ‘मैले मन्त्रालयको नेतृत्व सम्हालेपछि स्थानीय तहमा निमित्त नदिने, जसको जहाँ दरबन्दी छ त्यहाँ फर्किनेगरी नीतिगत निर्णय गरेका छौँ । अहिले झण्डै एक सयको हाराहारीमा निमित्त हटाएका छौँ, यो क्रम जारी रहन्छ ।’ 

उहाँले कसैको सोर्सफोर्स नसुनेर बढुवा भएका उपसचिवहरूलाई स्थानीय तहमा खटाएको समेत बत्ताउनुभयो । हामीले स्थानीय तहमा पदस्थापन गरेका छौँ । सोर्सफोर्स लगाएर काठमाडौंको वरिपरि मात्रै केन्द्र बनाएर बसेका र विकट क्षेत्रमा खटाएको ठाउँमा जान रमाना नलिएकाहरूको सेवा अवधि रोक्ने समेत उहाँले चेतावनी दिनुभयो ।

आफूले दुई महिनामा सबै सरोकारवालासँग छलफल गरेर सङ्घीय निजामती सेवा ऐन कानुन र अर्थ मन्त्रालयमा रायका लागि पठाएको बताउँदै उहाँले भन्नुभयो, ‘कुनै पनि हालतमा सङ्घीय निजामती ऐन ल्याई छाड्ने अहिलेको सरकारको सङ्कल्प हो, हामीले सबै पक्षसँग छलफल गरेर यो ऐन रायका लागि कानुन र अर्थ मन्त्रालयमा पठाएका छौँ, यो ऐन हामी कुनै पनि हालतमा ल्याउँछौँ ।’

मन्त्री मोदीले समाजको खराब मनोविज्ञान चिर्नका लागि प्रेस सेन्टरले अग्रमोर्चामा रहेर भूमिका निर्वाह गर्नुपर्ने बताउँदै सरकारको काम कारबाहीलाई सकारात्मक रूपमा प्रचारप्रसार गर्नका लागि यो क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको समेत औँल्याउनुभयाे ।

कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले श्रमजीवी पत्रकारहरूको पक्षमा लागेको बताउनुभयो ।

यस्तै, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य कुमार पौडेलले जनता र देशको पक्षमा कलम चलाउन आग्रह गर्नुभयो । सोही कार्यक्रममा प्रेस सेन्टर, नेपालका अध्यक्ष विष्णुप्रसाद सापकोटाले सङ्घीयताको मर्मअनुसार देशभर पत्रकारहरूको सङ्गठन निर्माण गरेको बत्ताउनुभयो । 

कार्यक्रममा काठमाडाैँ जिल्लामा सो सङ्गठनले एक दर्जनभन्दा बढी नगरपालिकास्तरीय समिति निर्माण गरेको काठमाडाैं अध्यक्ष अजित अधिकारीले जानकारी दिनुभयो ।