• १२ असार २०८१, बुधबार

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित

blog

सुदूरपश्चिम प्रदेश सभा भवन । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, वैशाख २९ गते । सुदूरपश्चिम प्रदेश सभाको बैठकको अझै टुङ्गो लाग्न सकेको छैन । प्रदेश सरकारले पूर्णता पाउनमा ढिलाइ हुँदा त्यसको असर प्रदेश सभामा परेको हो । सरकार पूर्ण नभएका कारण प्रदेश सभा बैठकबारे अहिलेसम्म कुनै टुङ्गो नलागेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताउनुभयो । “सभामुख पनि संघीय राजधानीतिरै हुनुहुन्छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म बैठकबारे कुनै टुङ्गो छैन । सरकारले पूर्णता नपाउँदासम्म यस्तै हो ।” 

यसअघि, मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिन फागुन २१ गते प्रदेश सभाको बैठक सञ्चालन भएको थियो । त्यसपछि अनिश्चित समयका लागि स्थगन भएको बैठक बस्न सकेको छैन । अघिल्लो बैठक बसेको पनि दुई महिनाभन्दा बढी समय बितिसकेको छ । 

प्रदेश सभाले बजेट अधिवेसनको तयारी गर्ने बेलामा सुदूरपश्चिम प्रदेश सभाको अहिलेसम्म पहिलो अर्थात हिउँदे अधिवेसन नै समापन भएको छैन । बैठकको टुङ्गो लागेपछि पहिलो अधिवेसन एक दुई दिनभित्रै टुङ्ग्याएर अर्को अधिवेशन आह्वान गर्नुपर्ने सचिव बोगटीले बताउनुभयो । “जेठ २० गतेबाट त बजेट अधिवेसन नै गर्नुपर्छ” उहाँले भन्नुभयो । 

प्रदेश सभा सञ्चालनका लागि सचिवालयमा विजनेस पनि पर्याप्त मात्रामा छैन । एक वटा संशोधन विधेयक मात्रै सचिवालयमा दर्ता हुन आएको बोगटीले जानकारी दिनुभयो । जनताको सवाल उठाउने, विधेयक, कानुन बनाउने प्रदेश सभालाई सरकारले अनिर्णयको बन्दी बनाएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आरोप छ । सो पार्टीका प्रदेश सचिवसमेत रहनु भएका प्रदेश सभा सदस्य धर्मराज पाठकले सरकारले न राम्रो काम गर्न सक्यो, न त सदनलाई विजनेस दिन नसकेको बताउनुभयो । 

सरकारका प्रवक्तासमेत रहनु भएका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले मन्त्रीपरिषद् विस्तारपछि प्रदेश सभाको बैठक सञ्चालन हुने बताउनुभयो । लामो समयसम्म प्रदेश सभाको बैठक सञ्चालन हुन नसक्दा सचिवालय फूर्सदिलो भएको छ ।