• २४ वैशाख २०८१, सोमबार

बिरामी नआएपछि सुनसान छ वीरको विशिष्ट उपचार कक्ष

blog

काठमाडौं, वैशाख २५ गते । देशकै पुरानो अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान  (वीर अस्पताल) को पुरानो भवनमा विशिष्ट व्यक्ति (भिआईपी र भिभिआइपी) उपचार कक्षहरू लामो समयदेखि सुनसान छ । वीर अस्पतालमा नै सुविधा सम्पन्न भीआइपी–भिभिआइपी कक्ष भए पनि विशिष्ट व्यक्तिको रोजाइमा पर्न नसकेर धुलो टकटकाउँदै ताल्चा लगाएर राख्न त्यहाँका कर्मचारी बाध्य छन् ।

वीर अस्पतालको सो सुविधा सम्पन्न कक्षबारे नेपालका राजनीतिज्ञ वा विशिष्ट व्यक्तिलाई जानकारी नभएको भने होइन । विगतमा राजारानी र राजपरिवारकै व्यक्तिहरू उपचार गर्ने वीर अस्पतालको सो कक्ष पछिल्लो समय कसैको रोजाइमा पर्न सकेको छैन । अधिकांश विशिष्ट व्यक्तिको रोजाई विदेशको उपचार भएपछि वीरका विशिष्ट कक्ष ओझेलमा परेको छ ।

विगतमा राजारानी र राजपरिवारकै व्यक्तिहरू उपचार गर्ने वीर अस्पतालको सो कक्ष पछिल्लो समय कसैको रोजाइमा पर्न सकेको छैन । 

सरकारी खर्चमा विदेशमा उपचार गराउने गरेको भनेर राज्यका उपल्ला तहका विशिष्ट व्यक्तिको आलोचना भइरहेका बेला वीर अस्पतालको सुविधासम्पन्न उपचार कक्ष सेवाग्राही कुरेर बसेको छ । नेपालका सरकारी अस्पतालप्रति नै आम जनमानसमा राम्रो सन्देश नगइरहेको गुनासो चिकित्सकहरूको छ । 

वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले वीरको भिभिआइपी–भीआइपी कक्ष सेवाग्राही कुरेर बसेको बताउनुभयो । विशिष्टीकृत उपचार कक्ष सेवाग्राहीको प्रतीक्षारत रहे पनि लामो समयदेखि भिभिआइपी कक्षमा विशिष्ट व्यक्तिको नजर नपर्नु दुखद भएको उहाँको भनाइ छ ।  

उहाँका अनुसार भिभिआइपी–भीआइपी कक्षमा सेवाग्राही आएपछि तत्काल अन्य वार्डसँग समन्वय गरी डाक्टर, नर्स व्यवस्थापन गर्नेगरी तयारी अवस्थामा राखिएको हुन्छ । अस्पतालमा नेपालमा भित्रिएका सुविधासम्पन्न उपकरण हुनुका साथै विशेषज्ञ चिकित्सक सेवा उपलब्ध हुने कार्यकारी निर्देशक डा. पौडेलले प्रष्ट पार्नुभयो ।  उहाँले भन्नुभयो, “नेपाल भित्रिएका उपचारमा आवश्यक पर्ने उपकरण ल्याब टेक्टोलोजीहरु अस्पतालमा उपलब्ध छन् । रोगका विशिष्टीकृत उपचार गर्ने चिकित्सक पनि अस्पतालमा उपलब्ध छन् । उपचारमा कुनै पनि हिसाबले हामी कमजोर छैनौँ ।” 

नेपालका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारत जानु भएपछि फेरि वीर अस्पतालको भिभिआइपी उपचार कक्षको चर्चा सुरु भएको छ । विगतमा पनि सरकारी उच्च अधिकारी र अन्य विशिष्ट व्यक्ति उपचारका लागि विदेश जाँदा सर्वसाधारण र नागरिक समाजले वीर अस्पतालको भिभिआइपी उपचार कक्षको चर्चा गर्ने गरेका छन् । 

राजपरिवारको सेवा 

राजपरिवारका सदस्यलाई नेपालमा उपचार गराउने उद्देश्यले बि.स २०४६ सालमा वीर अस्पतालको सुविधासम्पन्न उपचार कक्ष स्थापना गरिएको हो । सो समय तत्कालीन रानी ऐश्वर्यले वीरको भिभिआइपी क्याबिनमै बसेर उपचार गराउनुभएको थियो । राज परिवारका अन्य सदस्यले पनि सो क्याबिनमा पटक पटक उपचार गराएको अस्पतालको रेकर्डमा उल्लेख छ ।  

तत्कालीन रानी ऐश्वर्यले वीरको भिभिआइपी क्याबिनमै बसेर उपचार गराउनुभएको थियो । राज परिवारका अन्य सदस्यले पनि सो क्याबिनमा पटक पटक उपचार गराएको अस्पतालको रेकर्डमा उल्लेख छ ।  

नेपालमा गणतन्त्र आएपछि राष्ट्रपति र प्रधानमन्त्रीले वीर अस्पतालको सो उपचार कक्षबाट सेवा लिनुभएको छैन । सेवा लिने मन्त्रीको सङ्ख्या भने एक जना मात्र रहेको अस्पतालले जनाएको छ । २०६२–६३ को जनआन्दोलनपछि भिभिआइपी कक्ष प्रयोगविहीनजस्तै बनेको थियो । २०७१ मा काठमाडौंमा भएको सार्क शिखर सम्मेलनका बेला उपचार कक्ष सञ्चालनमा ल्याउन लाखौँ रुपियाँ खर्च गरेर मर्मत गरिएको थियो । 

भिभिआइपी कक्षमा भर्ना नभए पनि पूर्व राष्ट्रपति डा. रामवरण यादव र विद्यादेवी भण्डारीले वीर अस्पतालमा दाँतको उपचार गराउनुभएको थियो । त्यसका साथै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि वीर अस्पतालमा उपचार गराउनुभएको डा. पौडेलले जानकारी दिनुभयो । 

३९ जनाले लिए सेवा 

भिभिआइपी तथा भीआइपी उपचार कक्षकी इन्चार्ज सीता घिमिरेका अनुसार सात वर्षमा ३९ जनाले मात्रै सेवा लिएका छन् । भीआइपी कक्षमा सेवा लिनेमा (२०७२ देखि २०७९) सम्म सेवा लिनेमा मन्त्री, राज्यमन्त्री, पूर्वमन्त्री, सचिव, सांसदहरू रहेका छन् । 

तथ्याङ्कअनुसार २०७२ मा २ जना उपचारका लागि भर्ना भएका थिए । त्यस्तै २०७३ मा २ जना, २०७४ मा ४ जना, २०७५ मा ५ जना, २०७६ मा ९ जना, २०७७ मा ५ जना, २०७८ मा ८ जना, र २०७९ मा ४ जना उपचारका लागि भर्ना भएका थिए ।

भिभिआइपी तथा भीआइपी उपचार कक्षकी इन्चार्ज सीता घिमिरेका अनुसार सात वर्षमा ३९ जनाले मात्रै सेवा लिएका छन् । 

अस्पतालको सुविधा सम्पन्न कक्षमा राज्यले गरेको लगानीको अनुपातमा सेवा लिनेको सङ्ख्या न्यून रहेको अस्पताल प्रशासनको भनाइ छ । ‘उहाँहरूलाई सरकारी अस्पतालप्रति नै विश्वास नभएको हो कि ? सुविधा सम्पन्न उपचार कक्ष प्रयोगविहीन हुनु दुखद हो’ अस्पतालका एक कर्मचारीले बताउनुभयो ।  

गणतन्त्र आएको १४ वर्षपछि मन्त्रीले वीर अस्पतालको विशिष्ट कक्षमा उपचार सेवा लिएको देखिन्छ । वि.स. २०७८ मा ज्येष्ठ नागरिक, महिला तथा बालबालिका मन्त्री उमा रेग्मीले सो विशिष्ट कक्षमा उपचार सेवा लिनुभएको थियो । विसं. २०७९ मै स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले दुई पटकसम्म भर्ना भई उपचार गर्नुभएको थियो । राज्यमन्त्री हिराबहादुर केसीले पनि उपचार गराएको अस्पतालको तथ्याङ्कले देखाएको छ । 

पछिल्लो सात वर्षमा विशिष्ट कक्षमा एकाध नेताहरूले सुविधा लिनुभएको छ । जसमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा (एमाले) का सचिव योगेश भट्टराईले उपचार गराउनुभएको थियो । एमाले नेतृ एवम् पूर्व सांसद शान्ता चौधरी, कांग्रेस नेता एवम् पूर्व सांसद मीनबहादुर विश्वकर्मा, पूर्व मन्त्री रामकुमारी झाँक्रीलगायतले उपचार गराउनुभएको छ । 

गणतन्त्रपछि राज्यका संवैधानिक निकायका प्रमुखहरूले वीर अस्पतालको सो सुविधा  उपचार कक्षबाट सेवा नलिएको अस्पतालले जनाएको छ । 

सुविधा सम्पन्न सेवा 

भिभिआइपी र भीआइपी कक्ष सुविधा सम्पन रहेको छ । बिरामीका लागि उपचार कक्षका साथै बिरामीका आफन्त सुत्ने कोठा, आगन्तुकसँग भेटघाट गर्ने कोठा, सुरक्षाकर्मी नर्स, डाक्टर बस्ने कोठा, वेटिङ कोठा र किचनसहित आठ वटा कक्ष छन् । 

उक्त कक्षमा भेट्न आउने आगन्तुको सुविधाका लागि आकर्षक सोफा राखिएको छ । सबै कक्षमा एयरकन्डिसनका साथै एट्याच बाथरुमका साथै कोठामा आकर्षक बत्ती तथा पर्दाहरूले सजाइएको छ ।

उपचार कक्षमा सुविधासम्पन्न भेन्टिलेटर जडित बेडहरु छन् । बेडको साइडमा बिरामीको स्वास्थ्य अवस्था देखाउने ‘बेडसाइड मनिटर’ छ ।

 उपचार कक्षमा सुविधासम्पन्न भेन्टिलेटर जडित बेडहरू छन् । बेडको साइडमा बिरामीको स्वास्थ्य अवस्था देखाउने ‘बेडसाइड मनिटर’ छ । उक्त मनिटरले बिरामीको हृदय गति, श्वास–प्रश्वास, रक्तचाप, शरीरको तापक्रमको अवस्थाबारे जानकारी दिने इन्चार्ज घिमिरेले जानकारी दिनुभयो । 

कक्षमा चिकित्सक बिरामीलाई आवश्यक पर्ने सेन्ट्रल अक्सिजन पाइपलाइन, सेक्सन, डिफिब्रिलेटरलगायत आपत्कालीन उपचारका निम्ति आवश्यक औषधि तथा सामग्री उपलब्ध छन् । नजिकैको कोठामा इसिजी मेसिन छ । 

सरसफाइका लागि कर्मचारी

अस्पतालले उक्त कक्षको सरसफाइ र रेखदेखका लागि सरसफाइकर्मी र नर्स राखिएका छन् । भिभिआइपी उपचार कक्ष सरसफाइका लागि हप्ताको एक पटक खोल्ने गरेको इन्चार्ज घिमिरेले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “यो कक्षमा महँगा सामग्री छन् । दिदीहरूले हप्तामा एक पटक यो कक्ष खोलेर सफा बेड कभर पर्दा, सोफाका कभर, कार्पेट सफा गर्नुहुन्छ । धुलो जम्ने डरले सबै महँगा सामानहरू कपडाले छोपेर राखिएको छ । बाहिरी मान्छेलाई अनुमतिबिना प्रवेश निषेध गरिएको अस्पताल प्रशासनको भनाइ छ । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।