• २२ असार २०८१, शनिबार

सडक सञ्जालमा जोडियो शान्नीत्रिवेणी

blog

प्रतीक्षाको ६ वर्षपछि मुम्र्रामा गाडी पुगेपछि उपाध्यक्षलाई स्वागत गदै स्थानीय । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, वैशाख २३ गते । कालीकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । गाउँपालिकाले काप्डीखोलाको चटन फुटाएपछि पालिका सडक सञ्जालमा जोडिएको हो । कर्णाली कोरिडोरसँग प्रत्यक्ष सम्पर्क भएको गाउँपालिका भए पनि वडा नं. ६ देखि वडा नं. ७, ८ र ९ वडा जोड्ने सडक निर्माण गर्न पालिकालाई निकै सकस भएको थियो । 

चटानी क्षेत्र धेरै भएकाले तीन वर्ष सम्म काप्डीखोलाको भीर फुटाउन नसक्दा वडा नं. ७, ८ र ९ का नागरिक रास्कोट नगरपालिका हुँदै गाउँपालिका आउन बाध्य थिए । अब भने काप्डीखोलाको चट्टान फुटाएपछि गाउँपालिका आउजाउ गर्न सहज भएको छ ।

गाउँपालिका उपाध्यक्ष पार्वती सिंह सज्यालले आफ्नो चुनावी प्रतिबद्धता पूरा हुने क्रम जारी रहेको बताउनुभयो । उहाँले आज काप्डीखोलाको चट्टान फुटाएर सबै नागरिकलाई सडकमार्फत पालिका जोड्न पाएको भन्दै बाँकी कामहरू सम्पन्नका लागि सबैलाई सहयोग गर्न अपिल समेत गर्नुभयो । 

अघिल्लो सरकारले धेरै लगानी गरेको भए पनि चट्टानलाई फुटाउन नसक्दा तीन वटा वडाका नागरिकहरू गाउँपालिका पैदल आउन बाध्य थिए । २०७९ को स्थानीय निर्वाचनमा विजय भएसँगै आफू र गाउँपालिका अध्यक्षले साझा रूपमा प्रतिबद्धता गरेको र त्यही अनुसार बजेट केन्द्रित गरेर काप्डीखोला चट्टान फुटाएर सडक साबिकको मुम्रा पुगेको पालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रबहादुर शाहीले सबै वडा सडक सञ्जालमा जोड्न निकै दुःख भएको बताउनुभयो । 

भौगोलिक रूपमा निकै कठिन ठाउँ भएकाले सबै वडालाई प्रत्यक्ष पालिकाको केन्द्रसँग जोड्न समय लागे पनि अब भने सहज भएको बताउनुभयो । अब सबै वडामा सडक पुगेका छन् । वडा नं. १ देखि ३ सम्मको सडक पनि आगामी आर्थिक वर्षमा सम्पन्न भएपछि पालिका भित्रका सबै बस्ती सडक सञ्जालमा जोडिने भएकाले बाँकी वर्षहरूमा मर्मत सुधारमा काम गर्ने बताउनुभयो ।