• २० वैशाख २०८१, बिहिबार

महासंघ प्रतिष्ठान शाखाले चार पत्रकारलाई पुरस्कृत गर्दै

blog

नेपाल पत्रकार महासङ्घ, गोरखापत्र प्रतिष्ठान शाखाबाट पुरस्कृत हुन लाग्नुभएका पत्रकार ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २२ गते । नेपाल पत्रकार महासङ्घ, गोरखापत्र प्रतिष्ठान शाखाले  ‘गोरखापत्र पत्रकारिता पुरस्कार’ गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै,  ‘गोरखापत्र सक्रिय पत्रकारिता पुरस्कार’ गोरखापत्र दैनिकमा कार्यरत दीपक श्रेष्ठलाई प्रदान गरिने भएको छ । त्यस्तै,  ‘सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कार’ दि राइजिङ नेपालमा कार्यरत अन्जन खड्का र गोरखापत्रकी यलु जोशीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।

गोरखापत्र संस्थानको १२३ औं वर्ष प्रवेशको अवसरमा सो पुरस्कार प्रदान गरिने जनाइएको छ । नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाको पुरस्कार उपसमितिले विहीवार सो निर्णय गरेको हो । गोरखापत्र दैनिकको निमित्त प्रधान सम्पादक भट्टराई खोटाङ जिल्लाको लामीडाँडामा २०२५ साल जेठ ७ गते जन्मनुभएको हो । 

उहाँ २०४९ साल फागुन १ गते तह ७ को उपसम्पादकमा गोरखापत्र संस्थानको सेवामा प्रवेश गर्नुभएको हो । यस अघि निमित्त महाप्रबन्धकको जिम्मेवारी समेत सम्हाल्नुभएका निमित्त प्रधान सम्पादक भट्टराई वि।स।२०७४ देखि ०७८ सम्म मुना मासिकको प्रधान सम्पादक हुनुहुन्थ्यो । उहाँले आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएको छ । 

गोरखापत्र दैनिकमा कार्यरत दीपक श्रेष्ठ वि.स. २०५९ मा करार तथा २०६६ मा स्थायी सेवामा प्रवेश गर्नुभएको हो । उहाँले व्यवस्थापन विषयमा स्नातक गर्नुभएको छ । यस्तै, २०६५ असार ९ गतेदेखि गोरखापत्र दैनिकमा उपत्यका समाचारदाताको रूपमा सेवा प्रवेश गर्नुभएका यलु जोशी अहिले खेलकुद र जीवनशैली विटमा रिपोर्टिङ गर्नुहुन्छ ।   

दि राइजिङ  नेपालमा कार्यरत पत्रकार अन्जन खड्का सन् २०११ देखि सेवा प्रवेश गर्नुभएको हो । उहाँ हाल खेलकुद रिपोर्टिङ गर्नुहुन्छ । गोरखापत्र संस्थानको १२३ औं वर्ष प्रवेश अवसरमा आइतवार राजधानीमा आयोजना गरिने कार्यक्रममा सो पुरस्कार प्रदान गरिने नेपाल पत्रकार महासङ्घ, गोरखापत्र प्रतिष्ठान शाखाले जनाएको छ ।