• २६ चैत २०८२, बिहिबार

सुस्तामा नदी नियन्त्रणको काम तीव्र

blog

विकास अधिकारी

पश्चिम नवलपरासी, चैत २६ गते । नवलपरासीको सुस्तामा नदी नियन्त्रणको काम तीव्र गतिमा भइरहेको छ । नारायणी नदीले कटान गरेको पाँच सय मिटर क्षेत्रलाई दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ । सङ्घीय सरकारको झन्डै १२ करोड रुपियाँ लागतमा सुस्ता बाढी नियन्त्रणको काम सुरु भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय आयोजना चितवनका प्रमुख डा. नारायण सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार नदीको बहाब सिधै सुस्ताको बस्तीतर्फ सोझिएकाले वर्षायाममा हुन सक्ने जोखिमलाई ध्यान दिँदै बाढी नियन्त्रणको उपाय सुरु गरिएको छ । 

नदी तटबन्ध भत्काएर बस्ती प्रवेश गरेको क्षेत्र अहिले पनि पाँच मिटरसम्म गहिरो भएकाले सबै ठाउँमा तटबन्ध लगाउन सम्भव नभएपछि वैकल्पिक उपाय अवलम्बन गरिएको छ । गत वर्ष वर्षायाममा सुस्ताको उत्तरतर्फको भागबाट बाढी बस्तीमा पसेपछि स्थानीयले रातभर जाग्राम बसेर बोरामा बालुवा भरेर बस्ती जोगाएका थिए । 

यस वर्ष वर्षायामअगावै नदी नियन्त्रणको दरिलो संरचना तयार नभए सुस्ता बाढीको भेलसँगै बग्ने भन्दै सुस्तावासीले तत्कालीन भौतिक पूर्वाधारमन्त्रीको ध्यानाकर्षण गराएपछि बजेट व्यवस्थापन गरेर ठेक्का आह्वान गरिएको थियो । 

भत्किएको स्थानमा मर्मत गर्ने र धेरै गहिरो भएको स्थानमा आरसिसी प्रोकुपाइन (त्रिभुज आकारका सिमेन्टका पोललाई प्रयोग गरेर गरिने नदी नियन्त्रण प्रविधि) गरिने आयोजनाका इन्जिनियर बेलबहादुर विश्वकर्माले बताउनुभयो । 

धेरै गहिरो स्थानमा पाँच लाइनमा तीन तहसम्म आरसिसी प्रोकुपाइन गरिने छ । “तीन मिटर लामा छ वटा सिमेन्टका पोललाई त्रिभुज आकारमा जोडेर नदीमा तहगत रूपमा राखिन्छ, जसले बाढी आएको समयमा पानीको बहाब नियन्त्रणको काम गर्छ,” विश्वकर्माले भन्नुभयो, “अहिले त्यही सिमेन्टमा पोल निर्माणको काम धमाधम भइरहेको छ ।”