हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), चैत २६ गते । लगातारको वर्षा र हिमपातका कारण प्रभावित भएको मुस्ताङमा बिहीबार बिहानदेखि मौसम सुधार भएपछि पर्यटक र तिर्थालुलाई राहत पुगेको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार, उपल्लो मुस्ताङमा हिमपातका कारण पर्यटक लोमान्थाङ, छोसेर, चराङ, घमी लगायतका क्षेत्रमा रोकिएका थिए। मौसम सुधारसँगै बिहीबार भित्रिने र बाहिरिने पर्यटकको संख्या बढ्न थालेको उनले जानकारी दिनुभयो।
उपल्लो मुस्ताङमा यस सिजनमा पाँच वर्षमा पहिलो पटक ६ पटकभन्दा बढी हिमपात भएको छ। लोमान्थाङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा फागुनदेखि जेठसम्म स्वदेशी तथा विदेशी पर्यटकको चाप हुने गर्दछ। मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनीदेखि लोमान्थाङ हुँदै तिब्बतको सीमाना कोरला नाकासम्मको सडकमा हिमपातले यात्रा जोखिमपूर्ण बनेको छ।

यसैबिच, कागबेनी–मुक्तिनाथ सडकखण्डमा नियमित सवारीसाधन सञ्चालन भइरहेको छ। मुक्तिनाथ मन्दिर ब्यवस्थापन समितिका प्रमुख दिनेश भुषालका अनुसार, विहानैदेखि मन्दिरमा दर्शनका लागि तीर्थालुहरूको भिड लागेको छ। लगातारको हिमपात र वर्षाका कारण जिल्ला प्रशासन कार्यालयले सडकको अवस्थाबारे जानकारी जारी गर्दै यात्रा सहज बनाएको छ।
साथै, सवारीसाधनसँगै पोखरा–जोमसोम हवाई उडान नियमित सञ्चालनमा छ। जिल्ला प्रशासनले जोखिमयुक्त पदमार्गमा यात्रा अघि पूर्वसूचना लिन अनुरोध गरेको छ। जोखिमपूर्ण मार्गमा याकखर्क (५८०० मिटर), थोरङ्लापास (५४०० मिटर), सरिबुङ पास (६००० मिटर) र धम्पुस पिक (५१०० मिटर) रहेका छन्।
प्रतिकुल मौसमका बाबजुत, चैत २५ गते बेनी–जोमसोम सडकखण्डमार्फत पाँच हजार पाँच सय पर्यटक प्रवेश गरेकोमा चार हजार ५४० जना बाहिरिएको छ। थोरङ्लापास हुँदै १०५ जना र हवाई मार्ग हुँदै ६१ जना प्रवेश गरेका थिए, जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

