फलेवास समाचारदाता
पर्वत, चैत २६ गते । जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रूपमा चिनिने फलेवास क्षेत्रमा फोहोर व्यवस्थापन जटिल बन्दै गएको छ । अव्यवस्थित सहरीकरण, बढ्दो जनघनत्व र बजार विस्तारसँगै फोहोर उत्पादन बढ्दै जाँदा वातावरण प्रदूषण तीव्र बनेको हो ।
सदरमुकाम कुस्मा बजारसँगै जोडिएको फलेवास नगरपालिकाका विभिन्न स्थानमा यत्रतत्र फोहोर थुप्रिन थालेपछि स्थानीय बासिन्दा मारमा परेका छन् । सडक किनार, खोल्सा तथा खाली जग्गामा जथाभाबी फोहोर फालिँदा दुर्गन्ध फैलिनुका साथै पानी र हावासमेत प्रदूषित हुन थालेको स्थानीयको गुनासो छ । स्थानीय व्यवसायीका अनुसार बजार क्षेत्रमा दैनिक रूपमा उत्पादन हुने फोहोर समयमै सङ्कलन तथा व्यवस्थापन नहुँदा व्यापार व्यवसाय प्रभावित हुन थालेको छ ।
नगरपालिकाको बजार क्षेत्र मानिने कार्कीनेटा, थापाठाना, मुडीकुवा, देवीस्थान र खानीगाउँ वडाबाट दैनिक रूपमा निस्कने फोहोरले वातावरण प्रदूषण बढ्दै गएको छ । फलेवास नगरपालिकामा कुल जनसङ्ख्या २० हजार ४६८ रहेको छ । दैनिक चार टन फोहोरमैला उत्पादन हुने औसत अनुमान गरिएको छ । पछिल्लो समय तीव्र गतिमा बढ्दै गएको प्लास्टिकजन्य फोहोरले वातावरण, इकोसिस्टम र जनजीवनमा दीर्घकालीन असर पार्न थालेको पाइन्छ ।
विशेषज्ञका अनुसार प्लास्टिकजन्य फोहोर सयौँ वर्षसम्म नमासिने भएकाले यसको प्रभाव दीर्घकालसम्म रहने खतरा
बढ्दो छ । प्लास्टिकजन्य फोहोरको अव्यवस्थित व्यवस्थापनका कारण नाली र ढल थुनिने समस्या बढ्दै गएको छ । यस्तै खुला रूपमा फालिएका प्लास्टिकजन्य फोहोर गाईवस्तुले खाने गरेका कारण खाद्य शृङ्खला (फुड चेन) मार्फत त्यसको असर मानव स्वास्थ्यसम्म पुग्ने खतरा बढेको पाइन्छ । स्थानीयले फोहोरमैला व्यवस्थापनमा चुनौती बढ्दै गएपछि डम्पिङ साइट निर्माणका लागि पटक पटक आग्रह गरे पनि सुनुवाइ नभएको बताउँदै आएका छन् । स्थानीयको दबाबपश्चात् नगरपालिकाको केन्द्र रहेको फलेवास–५, खानीगाउँमा वडा कार्यालयले प्रशासनिक खर्चमार्फत प्रत्येक महिनाको अन्त्यतिर ट्याक्टरमार्फत फोहोर सङ्कलन गर्दै आएको छ ।
फलेवास नगरपालिकाका योजना अधिकृत प्रकाश लम्सालका अनुसार नगरपालिकामा फोहोर व्यवस्थापनका लागि हालसम्म प्रस्ट र प्रभावकारी योजना बन्न सकेको छैन । फोहोरमैला व्यवस्थापनसम्बन्धी तथ्याङ्क र अध्ययन, दीर्घकालीन योजना, उपयुक्त प्रविधि, वैज्ञानिक व्यवस्थापन, व्यवस्थापन कार्यको नियमित अनुगमन र मूल्याङ्कनको अभावले पनि यसको व्यवस्थापनमा समस्या निम्त्याएको उहाँको भनाइ छ ।
फोहोरलाई मोहरमा परिणत गर्ने जस्ता कार्यक्रम सरकारले ल्याएको भए पनि प्रभावकारी बनेको छैन । फोहोरमैला व्यवस्थापन ऐन, २०६८ ले फोहोरको व्यवस्थापन गर्ने अधिकारी स्थानीय तहलाई दिएको छ । यो विषयमा स्थानीय तह गम्भीर बन्न सकेका छैनन् ।