• ११ वैशाख २०८१, मङ्गलबार

आर्थिक सङ्कटको मारमा उद्योग व्यवसाय

blog

काठमाडौँ, वैशाख २१ गते ।  मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । अर्थतन्त्रको बाह्य क्षेत्र सुधार देखिए पनि आन्तरिक क्षेत्रमा देखिएको समस्याका कारण उद्योग व्यवसाय सङ्कटमा पर्न थालेका हुन् । बैङ्कको उच्च ब्याजदरका कारण समग्र उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालन नभई आर्थिक सङ्कट देखा परेको व्यवसायीको भनाइ छ । बैङ्कको ब्याज तिर्न नसकेका कतिपय ससाना व्यवसाय बन्द भएका छन् । धेरै उद्योग आंशिक रूपमा मात्र सञ्चालन भएको र कतिपय उद्योग बन्द हुने अवस्थामा पुगेको व्यवसायीको भनाइ छ । आर्थिक सङ्कटबाट साना, मझौला र ठूला उद्योग नै प्रभावित छन् । 

उद्योग विभागका अनुसार मुलुकभर आठ हजार ६५६ उद्योग सञ्चालनमा छन् । ती उद्योग आर्थिक सङ्कटका कारण पूर्ण रूपमा सञ्चालन हुन नसकेको उद्योगी व्यवसायीको भनाइ छ । 

दैनिक उपभोग्य वस्तुका अत्यावश्यक उद्योग व्यवसाय नियमित सञ्चालन भए पनि अन्य व्यवसाय भने पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । विशेष गरी खाद्यान्न, मेडिकललगायतका अत्यावश्यक उद्योग नियमित रूपमा सञ्चालन छन् । सुन, लत्ताकपडा, गाडी, जुत्ताचप्पल, निर्माण सामग्रीका सामानको व्यापारमा कारोबार ५० प्रतिशतभन्दा कम भएको व्यवसायीको भनाइ छ । आर्थिक सङ्कटबाट निर्माण सामग्री, गार्मेन्ट, हार्डवेयर, साना तथा घरेलु उद्योग बढी प्रभावित भएका छन् । 

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहका अनुसार आर्थिक सङ्कटका कारण १५ देखि २० प्रतिशतसम्म मात्र निर्माण उद्योग नियमित रूपमा सञ्चालनमा रहेका छन् । “सरकारले समयमा भुक्तानी दिन नसक्दा विकास निर्माणको कार्य ठप्प छ, यसले गर्दा सिमेन्ट, डन्डी, बालुुवा, हार्डवेयर, यातायात पूर्ण रूपमा चल्न सकेका छैनन्” उहाँले भन्नुभयो । पुँजीगत खर्च कम भई विकास निर्माणका काम न्यून हुँदा समग्र उद्योग व्यवसायको अवस्था सङ्कटमा परेको उहाँको भनाइ छ । डिजेलको मूल्य बढेका कारण निर्माण उद्योगमा समस्या परेको छ । 

महालेखा नियन्त्रकको कार्यलयका अनुसार चालु आर्थिक वर्षको वैशाख १९ गतेसम्म पुँजीगत खर्च ३०.९२ प्रतिशत रहेको छ । पुँजीगत खर्च कम हुँदा विकास निर्माणको कामसमेत प्रभावित भएको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैङ्कको उच्च ब्याजदरका कारण उद्योग व्यवसाय सङ्कटमा परेको बताउनुभयो । ७/८ प्रतिशतमा लिएको बैङ्कको ब्याज बढेर १५/१६ प्रतिशत पुगेको छ, सङ्कटमा रहेको उद्योग व्यवसाय माथि उठाई अर्थतन्त्र चलायमान गराउन बैङ्कको ब्याजदर घटाउनुपर्ने उहाँको भनाइ छ । सङ्कटको अवस्थामा रहेका उद्योग व्यवसायलाई माथि उठाउन आगामी बजेटमा सरकारले प्याकेजमै राहतका कार्यक्रम ल्याउन आवश्यक रहेको उहाँको भनाइ छ । 

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अनुसार ३० देखि ३५ प्रतिशत साना तथा घरेलु उद्योग नियमित रूपमा सञ्चालनमा छन् । महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले आर्थिक सङ्कटका कारण उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालन हुन नसकेको बताउनुभयो । बैङ्कको ब्याज उच्च छ, बजारमा पठाएका सामानको उधारो रकम उठ्न सकेको छैन, उपभोक्ताको क्रयशक्ति नै कम हुँदा माग कम भई पर्याप्त उत्पादन नहुँदा उत्पादनमूलक उद्योग बढी प्रभावित भएको उहाँको भनाइ छ । मुलुकभर रहेका चार लाख घरेलु तथा साना उद्योगमध्ये आधाले रकम अभावले नवीकरण नगरेको उहाँको भनाइ छ । 

गार्मेन्ट उद्योग सङ्घका निवर्तमान अध्यक्ष चण्डिका अर्यालले आर्थिक सङ्कटका कारण गार्मेन्टको उत्पादनमा १५ देखि २० प्रतिशत कमी आएको जानकारी दिनुभयो । मुलुकभर निर्यातयोग्य एक सयभन्दा बढी गार्मेन्ट उद्योग छन् । अन्तर्राष्ट्रिय बजारमा सामान निर्यात गर्न अर्डर लिनुपर्छ, आर्थिक सङ्कटका अर्डरअनुसार उत्पादन गर्न नसक्दा निर्यात गर्न कठिन हुने उहाँको भनाइ छ । बैङ्कको ब्याजदर उच्च हुँदा गार्मेन्ट उद्योग पूर्ण रूपमा सञ्चालन हुन नसकेको उहाँको भनाइ छ । आर्थिक सङ्कटका कारण आन्तरिक खपतसँगै बाह्य निर्यातमा समेत उल्लेख्य कमी आएको उहाँको भनाइ छ । 

राष्ट्रिय व्यवसायी महासङ्घका अनुसार आर्थिक सङ्कटका कारण मुलुकभर ३० देखि ३५ प्रतिशत सटर बन्द भएका छन् । खुला भएका सटरमा पनि कारोबार न्यून हुने गरेको व्यवसायी बताउँछन् । आर्थिक गतिविधि सुुस्त गतिमा चलायमान हुँदा व्यापार व्यवसायबाट पलायन हुनेको सङ्ख्या बढ्दै गएको हो । 

महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले आर्थिक सङ्कटका कारण व्यापार व्यवसाय छोडेर धेरैजसो विदेश जान थालेको जानकारी दिनुभयो । घरको भाडा वृद्धि, बैङ्कको चर्काे ब्याजदर र व्यापार नहुँदा किस्ता तिर्न नसक्ने अवस्थामा पुगेपछि पसल बिक्री गरेर जानेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको उहाँको भनाइ छ ।

ग्यास बिक्रेता महासङ्घका अध्यक्ष चन्द्र थापाले होटल व्यवसाय पूर्ण रूपमा चल्न नसक्दा खाना पकाउने ग्यासको खपतमा कमी हुँदा कारोबारमा समेत गिरावट आएको जानकारी दिनुभयो । आमउपभोक्ताको क्रयशक्ति वृद्धि नहुँदा बजारमा माग कम भई उत्पादनमा समेत उल्लेख्य कमी आएको उहाँको भनाइ छ । व्यवसाय नियमित रूपमा सञ्चालन नहुँदा उद्योग व्यवसायबाट धेरैको रोजगारीसमेत गुुम्न थालेको छ । 

मुलुकको अर्थतन्त्रमा सबैतिर सिथिलता छाएको सन्दर्भमा पनि केही राहत दिने कार्य भने पर्यटन व्यवसायमा देखिएको छ । पर्यटन व्यवसायीका अनुसार नेपाल विश्वकै उत्कृष्ट गन्तव्यमध्येको एक भएको र कोभिडको समस्या खासै नभेटिएका कारण पनि नेपाली पर्यटन व्यवसायमा उत्साह थपिएको हो । 

नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको तथ्याङ्कले देखाएको छ । जसका कारण विदेशी सञ्चितिसमेत बढेकाले सरकारले डलर सटही सुविधासमेत बढाएको छ । नेपालको सम्पूर्ण आर्थिक गतिविधिमा पर्यटन क्षेत्रको आयको हिस्सा न्यून भएकाले यस क्षेत्रमा देखिएको सकारात्मक पक्षले खासै असर नगर्ने देखिएको छ । 

मुलुकको आर्थिक गतिविधि ट्र्याकमा आउन आर्थिक क्रियाकलाप चलायमान हुनका लागि ब्याजदर घट्नुपर्ने कुरा मुख्य कारक तत्वझँै देखिएको विज्ञहरूको भनाइ छ ।