• २० कात्तिक २०८२, बिहिबार

पर्यटकको चापले उडान वृद्धि

blog

सन्तोष राउत

सोलुखुम्बु, कात्तिक २० गते । सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल यतिबेला निकै व्यस्त बनेको छ । यस विमानस्थलमा अहिले हवाईजहाज र हेलिकोप्टर गरी दैनिक १६० भन्दा बढी उडान हुन थालेको छ । सगरमाथालगायत विभिन्न हिमशृङ्खला अवलोकन गर्न आउने पर्यटकको चाप बढेसँगै विमानस्थलको व्यस्तता बढेको हो । 

हिमाल आरोहणको मुख्य सिजनमा केही दिन मौसम प्रतिकूल भएर विभिन्न स्थानमा रोकिएका पर्यटक अहिले धमाधम आउने जाने गर्न थालेका छन् । यतिबेला सोलुखुम्बुको माथिल्लो क्षेत्रको मौसममा पनि सुधार आउन थालेकाले पर्यटकको चहलपहल बाक्लिन थालेको छ । 

पर्यटक बढेपछि लुक्ला विमानस्थलमा विभिन्न कम्पनीलाई उडान भर्न भ्यानभ्याइ छ । मङ्गलबार तारा एयरलाइन्स, सीता एयरलाइन्स, समिट एयरलाइन्सका हवाईजहाजले मात्र ८० उडान गरेको र विभिन्न कम्पनीका हेलिकोप्टरले दुई सयभन्दा बढी उडान गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका सिनियर एटिसी अफिसर अमनचन्द्र झाले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार हवाईजहाजले ६० र हेलिकोप्टरले एक सयभन्दा बढी उडान गरिसकेका छन् ।

पर्यटकको चापका कारण यो सिजनमा लुक्ला विमानस्थलमा बढी उडान हुने गर्छ ।  अहिले लुक्लामा हवाईमार्गबाट मात्र दैनिक एक हजार पाँच सय पर्यटकको आवतजावत हुने गरेको छ । यसबाहेक पदमार्गबाट आउने पर्यटक पनि बढेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय जोरसल्ले प्रवेशद्वारका कर्मचारीले बताएका छन् । पदमार्ग र हवाईमार्ग हुँदै सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकले जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नु पर्छ । केन्द्रले पर्यटकलाई खुम्बु क्षेत्रमा जाँदा अपनाउनपर्ने नियम, ध्यान दिनुपर्ने विषयमा जानकारी दिने गरेको छ ।