शिक्षा मानव जीवनको सबैभन्दा अमूल्य सम्पत्ति हो, जसले चेतना, संस्कार र समाजप्रतिको उत्तरदायित्व निर्माण गर्छ । आजको सामाजिक परिदृश्यमा शिक्षालाई पैसासँग जोडेर मूल्याङ्कन गर्ने प्रवृत्ति बढ्दै गएको छ । महँगो शुल्क लिने विद्यालय, आकर्षक भवन, आधुनिक प्रविधि र विदेशी नामले सजिएका संस्थालाई गुणस्तरीय शिक्षाको प्रतीक मान्ने चलन व्यापक छ । अभिभावकले पनि शुल्कको परिमाणलाई शिक्षाको स्तरसँग तुलना गर्ने र ‘महँगो शिक्षा नै राम्रो शिक्षा’ भन्ने धारणा धेरैको मनमा स्थापित हुँदै गएको छ ।
जहाँ शिक्षा जीवनसँग जोडिन्छ, त्यहाँ ज्ञान मात्र होइन, चेतनासमेत जन्मिन्छ । त्यहीँ साँचो शिक्षाको आरम्भ हुन्छ । यस्तो शिक्षाले विद्यार्थीलाई जीवनका चुनौती सामना गर्न सक्षम बनाउँछ । सर्वश्रेष्ठ शिक्षा त्यहीँ पाइन्छ, जहाँ शिक्षकले हृदय खोलेर विद्यार्थीलाई सोच्न, बुझ्न र जीवनका मूल्य आत्मसात् गर्न प्रेरित गर्छन् । शिक्षक र विद्यार्थीबिचको आत्मीय सम्बन्ध, शिक्षणमा निष्ठा र जीवनसँग जोडिएको पाठ्यक्रम नै साँचो शिक्षाको जग हो ।
शिक्षा कुनै व्यापारिक वस्तु होइन; यो मानवीय चेतना र विवेकको विकास हो । नेल्सन मण्डेलाले भनेका छन्, ‘शिक्षा नै संसार परिवर्तन गर्ने सबैभन्दा शक्तिशाली हतियार हो ।‘ शिक्षा भनेको केवल प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया होइन; यो सोच, व्यवहार र जीवनदृष्टिको रूपान्तरण हो ।
आजको परिवेशमा शिक्षाको मूल उद्देश्य ज्ञान, चेतना र मानवताभन्दा बढी यसको बजारीकरणलाई प्राथमिकता दिइएको देखिन्छ । विद्यालय, कलेज र विश्वविद्यालय ज्ञानको मन्दिर बन्नुभन्दा आकर्षक भवन, भव्य कार्यक्रम, र भौतिक सौन्दर्यको प्रदर्शनमा केन्द्रित हुँदै गएका छन् । शिक्षाको मानवीय पक्ष नैतिकता, सहानुभूति र सामाजिक उत्तरदायित्व अभिमुख गराउने प्रयास क्रमशः ओझेलमा पर्दै गएको छ । हाम्रो समाजमा दक्ष र प्रविधिमा निपुण जनशक्ति त देखिन्छ, तर चरित्रवान्, इमानदार र नैतिक मूल्यमा आस्था राख्ने नागरिकको सङ्ख्या घट्दै गएको छ । साँचो शिक्षा भनेको परीक्षा र प्रमाणपत्रको सीमाभन्दा पर गएर मानिसलाई सोच्ने, अनुभूति गर्ने र जिम्मेवारीपूर्वक समाजका लागि योगदान दिन प्रेरित गर्ने प्रक्रिया हो ।
क्षमता र स्वतन्त्रताको विस्तार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री अमत्र्य सेनले आफ्नो प्रसिद्ध कृति डेभलपमेन्ट एज फ्रिडममा लेखेका छन्, ‘शिक्षा विकासको साधन मात्र होइन, स्वतन्त्रताको अभ्यास पनि हो ।’ शिक्षा यस्तो शक्ति हो, जसले व्यक्तिमा सोच्ने, निर्णय गर्ने र आफ्नो जीवनको दिशा आफैँ तय गर्ने क्षमता अभिवृद्धि गर्छ । यसले मानिसलाई निर्भर होइन, स्वनिर्भर बनाउँछ ।
सामाजिक, आर्थिक र भौगोलिक विविधता भएको हाम्रो जस्तो देशमा शिक्षा केवल रोजगारी पाउने माध्यम होइन; यो समानता, न्याय र सशक्तीकरणको बाटो हो । जब विद्यार्थीले अरूको पीडा महसुस गर्न, समाजको अन्यायप्रति संवेदनशील बन्न र आफ्नो अस्तित्वको अर्थ बुझ्न सिक्छन्, त्यही हो पैसाले किन्न नसकिने शिक्षा । यस्तो शिक्षाले परीक्षा र अङ्कभन्दा पर सोच्न सिकाउँछ, आत्मान्वेषण र सहअस्तित्वको मूल्य बोध गराउँछ ।
वर्तमान शिक्षाले प्रायः विद्यार्थीलाई परीक्षा, अङ्क र प्रमाणपत्रको दौडमा सीमित बनाइरहेको छ । विद्यार्थीको सफलता जिपिए वा विदेश जान सक्ने क्षमताले मापन हुने प्रवृत्ति बढ्दो छ । साँचो शिक्षाको मापन सोच्ने शक्ति, सहानुभूति र सामाजिक उत्तरदायित्वमा हुन्छ । शिक्षाले यथार्थ बुझ्न, आफ्नो र समाजको दायित्व महसुस गर्न र अन्यायविरुद्ध आवाज उठाउन प्रेरित गर्नु पर्छ । शिक्षा पैसाले किन्न सकिँदैन, किनभने यो केवल ज्ञान होइन बोध हो । यो बौद्धिक प्रतिस्पर्धा होइन मानवीय चेतनाको विस्तार हो ।
शिक्षाका आयाम
शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने वा रोजगारीको साधन मात्र होइन; यसले व्यक्तिको सोच, चरित्र र जीवनदृष्टिलाई आकार दिन्छ । पैसाले किन्न नसकिने केही शिक्षाका आयाम छन्, जसले शिक्षाको वास्तविक मूल्य र प्रभावलाई उजागर गर्छन् ।
नेपालका गाउँ–टोलमा पुस्तौँदेखि सञ्चित ज्ञान, संस्कार र जीवनपद्धति विद्यमान छन्, जसमा सहजीवन, सहयोग, कृषि–कौशल, लोककला, र सामुदायिक निर्णयको अभ्यास समावेश हुन्छन् । जब विद्यालयले यस्ता जीवनदर्शनलाई पाठ्यव्रmममा समावेश गर्छन्, विद्यार्थी आफ्नो समाजको आत्मा बुझ्न र अनुभव गर्न पनि सिक्छन् । समुदाय–केन्द्रित शिक्षाले विद्यार्थीलाई स्थानीय समस्या बुझ्न र समाधानमा सव्रिmय सहभागी बन्न प्रेरित गर्छ । यो सुधार सोच, दृष्टिकोण, र सम्बन्धमा आउने सकारात्मक रूपान्तरण हो ।
साँचो शिक्षक ती हुन्, जसले विद्यार्थीको मन र आत्मालाई बुझ्छन् । शिक्षाको सार शिक्षकको प्रेम, सहानुभूति र प्रेरणादायी व्यवहारमा निहित हुन्छ, जसले विद्यार्थीमा आत्मविश्वास जगाउँछ, सोच्ने क्षमता विकास गर्छ, र असफलतालाई सिकाइको अवसरमा रूपान्तरण गर्छ । शिक्षा हृदयबाट सञ्चालित अभ्यास हो र शिक्षकको भूमिका आज पनि पैसाले नकिनिने शिक्षाको केन्द्रीय आधार बनेको छ ।
विद्यालय लोकतन्त्रको प्रारम्भिक अभ्यासस्थल हो, जहाँ विद्यार्थीले समूहमा काम गर्न, विचार आदानप्रदान गर्न र साझा निर्णय लिन सिक्नु पर्छ । जब विद्यालयले प्रतिस्पर्धाभन्दा सहकार्यलाई प्राथमिकता दिन्छन् तब विद्यार्थी जिम्मेवार, संवेदनशील र सहभागी नागरिकका रूपमा विकसित हुन्छन् । नेल्सन मण्डेलाले भने जस्तै शिक्षाले केवल व्यक्तिको चेतना विस्तार गर्दैन, समाजको रूपान्तरण पनि सम्भव बनाउँछ । विद्यालयले नैतिकता, सहिष्णुता, र सामाजिक उत्तरदायित्वको अभ्यास गराउन सके मात्र राष्ट्रले चरित्रवान नागरिकहरू उत्पादन गर्न सक्छ ।
साँचो शिक्षा प्रमाणपत्र प्राप्त गरेपछि समाप्त हुँदैन; यो त जीवनभर निरन्तर चल्ने अभ्यास हो । जो निरन्तर पढ्छ, बुझ्छ र परिवर्तित परिस्थितिमा आफूलाई ढाल्न जान्छ, ऊ नै वास्तवमा शिक्षित हो । नेपालका पुस्तकालय, सामुदायिक शिक्षाकेन्द्र, रेडियो–पाठ, र डिजिटल प्लेटफर्मले आज पनि हजारौँ मानिसलाई नयाँ ज्ञान र अवसरका ढोका खोलिरहेका छन् । शिक्षाको यही निरन्तरता मानवीय प्रगतिको मूल ऊर्जा हो । पैसाले यस्तो जिज्ञासा, आत्मसशक्तीकरण, र खोजीको भावना किन्न सकिँदैन ।
नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले भनेकी छन्, ‘एक बालक, एक शिक्षक, एक किताब र एक कलमले संसार बदल्न सक्छ ।’ अझै पनि बालबालिका जात, लिङ्ग, भाषा, अपाङ्गता वा गरिबीका कारण शिक्षाबाट वञ्चित देखिन्छन् । जबसम्म शिक्षा सबैका लागि समान अवसरको माध्यम हुँदैन, तबसम्म समाजमा न्याय र समावेशी विकास सम्भव छैन । पैसाले किन्न नसकिने शिक्षा भनेको त्यो हो, जसले प्रत्येक बालकको क्षमता पहिचान गर्छ, प्रत्येक आवाजलाई अवसर दिन्छ, र असमानतालाई चुनौती दिन्छ ।
नेपालको शिक्षामा सुधार अत्यावश्यक छ तर त्यो केवल आर्थिक लगानी बढाएर सम्भव हुँदैन । शिक्षाको गुणस्तर मापन शिक्षण–सिकाइको गहिराइ, शिक्षक–विद्यार्थी सम्बन्ध र नैतिक मूल्यको अभ्यासमा केन्द्रित हुनु पर्छ । विद्यालयहरूले मूल्यमा आधारित शिक्षालाई प्राथमिकता दिनु आवश्यक छ, जसले सहानुभूति, उत्तरदायित्व र सामाजिक चेतना विकास गर्छ ।
परीक्षा–केन्द्रित मूल्याङ्कनको सट्टा परियोजना–आधारित र अनुभवजन्य मूल्याङ्कन प्रणाली अपनाउनु पर्छ, जसले विद्यार्थीको सिर्जनशीलता र व्यावहारिक क्षमता उजागर गर्छ । ग्रामीण तथा दुर्गम क्षेत्रका बालबालिकालाई शिक्षामा समान पहुँच दिलाउन र गुणस्तर कायम राख्न विशेष ध्यान दिनु पर्छ । शिक्षकलाई केवल पाठ्यवस्तु पढाउने होइन, प्रेरणा दिने, सोच जगाउने र मूल्य निर्माण गर्ने क्षमता विकास गर्न तालिम र स्रोत उपलब्ध गराउनु जरुरी छ ।
निष्कर्ष
पैसाले भवन, पुस्तक र प्रविधि किन्न सकिन्छ तर इमान, सहानुभूति, सोच्ने क्षमता र जीवनको अर्थ खोज्ने चेतना किन्न सकिँदैन । यही हो साँचो शिक्षा, जसले मानिसलाई जागृत, जिम्मेवार र मानवीय बनाउँछ र जीवनसँग जोड्छ ।
नेपालले अब केवल भौतिक विकासमा सीमित नरही, मानवीय विकासको यात्रा तय गर्न आवश्यक छ । त्यो यात्रा विद्यालयका पर्खालभित्र होइन, शिक्षकको हृदय र विद्यार्थीको चेतनामा प्रारम्भ हुन्छ । पैसाले डिग्री किन्न सकिन्छ तर दृष्टिकोण किन्न सकिँदैन; कक्षाकोठा निर्माण गर्न सकिन्छ तर चरित्र निर्माण गर्न सकिँदैन ।
असल शिक्षा त्यो हो, जसले मानिसलाई केवल ज्ञान मात्र होइन, विवेक, करुणा र सामाजिक उत्तरदायित्व प्रदान गर्छ । जब हाम्रो शिक्षा प्रणालीले यी गुणहरूलाई आत्मसात् गर्छ, तब मात्र नेपाल साँचो अर्थमा ‘शिक्षित राष्ट्र’ बन्न सक्छ जहाँ शिक्षा पैसामा होइन, मानवताका मूल्यमा टेकेको हुने छ । नोबेल पुरस्कार विजेता अमत्र्य सेनले भने झैँ शिक्षा मानवीय स्वतन्त्रताको विस्तार हो । जब नेपालले यस्तो शिक्षा प्रणाली निर्माण गर्छ, जसले विद्यार्थीलाई स्वतन्त्र रूपमा सोच्न, सत्य बोल्न र समाजका लागि उत्तरदायी रूपमा काम गर्न सिकाउँछ, तब मात्र हाम्रो शिक्षाले विकाससँगै मानवताको नयाँ अध्याय लेख्ने छ ।