• १५ वैशाख २०८१, शनिबार

जावलाखेललाई पुलिसको झट्का

blog

पुलिस टोली । तस्बिर : एन्फा

काठमाडौं, वैशाख १९ गते । शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दौडमा रहेको जावलाखेल युथ क्लबलाई विभागी टोली नेपाल पुलिस क्लबको नमिठो झट्का लागेको छ ।

एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा जावलाखेल रेलिगेसनको दबाबमा रहेको पुलिससँग २-१ गोलले स्तब्ध बन्यो । पुलिसको जितमा दुवै गोल विदेशी खेलाडी मोसेस ग्याबाह र अहमद हिजाजीले गर्नुभयो । जावलाखेलका विपिन कँडेलले सान्त्वना गोल फर्काउनुभयो । मोसेसले ३५औं मिनेटमा गोल गर्दै पुलिसको उत्साह जगाउनुभयो ।

८८औं मिनेटमा हिजाजीले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाउनुभयो । ८९औं मिनेटमा जावलाखेलका विपिनले गोल फर्काएपनि टोलीको हार टरेन ।

लिगमा चौथो जित निकालेको पुलिसले १४ खेलबाट १५ अङ्क बनाएको छ । पुलिस १२औं स्थानमा छ । पराजित जावलाखेल समान खेलबाट २४ अङ्क जोड्दै शीर्षस्थानमा छ । 

यस्तै च्यासल मैदानमा भएको अर्को खेलमा थ्रीस्टार क्लब र एफसी खुमलटारले २–२ गोलको बराबरी खेल्दै अङक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलमा थ्रीस्टारले चौथो मिनेटमा लाकेन लिम्बुको गोलबाट अग्रता लिएको थियो ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा खुमलटारका मेसुके ओलुमोउले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।५०औं मिनेटमा समिर बिनोङले गोल गर्दै खुमलटारलाई अग्रता दिलाउनुभयो । त्यसपछि ६७औं मिनेटमा थ्रीस्टारका आदित्य शाक्यले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

बराबरीसँगै थ्रीस्टारले शीर्षस्थानमा उक्लने मौका गुमायो । दोस्रो स्थानमा रहेको थ्रीस्टारको १४ खेलबाट २३ अङ्क पुगेको छ । समान खेलबाट १४ अङ्क बनाएको खुमलटार अन्तिममा छ ।