• १५ जेठ २०८१, मङ्गलबार

सुडानबाट नेपालीको उद्धार जारी

blog

काठमाडौँ, वैशाख १९ गते । नेपाल सरकारले सुडानमा रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारमा अधिकतम प्रयास गरिरहेको जनाएको छ । पछिल्लो समय सुडानमा उत्पन्न युद्धको अवस्थाले त्यहाँ रहेका नेपाली नागरिकको जीवनमा बढेको असुरक्षालाई ध्यानमा राख्दै सबै तरहको कूटनीतिक संयन्त्रलाई सक्रिय बनाएर उद्धारको पहल गरिरहेको परराष्ट्र मन्त्रालयले स्पष्ट गरेको छ । 

मन्त्रालयले अहिलेसम्म सुडानमा रहेका नेपाली नागरिकसँग निरन्तर सम्पर्कमा रही इजिप्टको कायरोस्थित नेपाली दूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको जनकारी दिएको छ । मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीबाहेक हालसम्म अन्य ३० जना नेपाली नागरिक कायरोस्थित नेपाली दूतावाससँग सम्पर्कमा आएका छन् । 

कायरोस्थित नेपाली दूतावासले गरेको अनुरोधअनुसार साउदी अरेबिया सरकारको सहयोगमा पोर्ट सुडान पुगेका १९ जना नेपाली पानीजहाजबाट जेद्दा सहरमा सुरक्षित तवरले सकुशल पुगेको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ। यसअघि नै एक जना नेपाली सकुशल जेद्दा पुगेको र जेद्दा आइपुगेका सबै नेपालीको नेपाल फिर्तीका लागि सहजीकरण भइरहेको छ। 

नेपाली दूतावास, कायरोसँग सुडानमा सम्पर्कमा रहेका बाँकी ११ जना नेपालीमध्ये पाँच जना पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेका र एक जनालाई खार्तुमबाट पोर्ट सुडान पु-याउने प्रयास भइरहेको छ। अरू तीन जना रोजगारदाता कम्पनीको सहयोगमा पोर्ट सुडान पुगी स्वेच्छाले त्यहाँस्थित एक होटेलमा बसेको र दुई जनालाई रोजगारदाता कम्पनीले खार्तुमबाट इजिप्टको सिमाना नजिकैको सुरक्षित स्थानमा लैजाने व्यवस्था मिलाएको दूतावासले जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

१५ दिनअघि सुडानी सेना र विद्रोही पक्षको अर्धसैनिक बलबीच बढेको द्वन्द्वका कारण युद्धग्रस्त सुडानका रूपमा परिणत भएको छ।