काठमाडौँ, पुस ५ गते । गोरखापत्र डिस्कोर्स अन रिकभरी एन्ड रिजिलेन्स अर्थात् ‘दृढतासहित पुनरुत्थान गोरखापत्र बहस’ बिहीबार भव्य रूपमा ललितपुरमा सम्पन्न भयो ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न बहसमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, नेपाल राष्ट्र बैँकका गभर्नर डा. विश्व पौडेल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसहित विभिन्न मन्त्रालयका सचिव, उद्योगी, व्यवसायीको सहभागिता रहेको थियो ।
गोरखापत्र संस्थानले देशको अर्थतन्त्रलाई गतिशील बनाउने दिशामा योगदान पुर्याउने उद्देश्यसाथ आयोजित ‘गोरखापत्र डिस्कोर्स’ मा सरकारका उच्च अधिकारी, नीति निर्माता, उद्योगी व्यवसायी, विज्ञ, विश्लेषक तथा मूलधारका सञ्चारकर्मीको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
गोरखापत्र दैनिकको १२५औँ (शताब्दी रजत) वर्ष तथा दी राइजिङ नेपालको ६१औँ वर्ष प्रवेशका अवसरमा गोरखापत्र संस्थानद्वारा आयोजित बहसमा ‘स्मार्ट पूर्वाधार विकास र व्यवस्थापन’, ‘कस्तो मनोबल ?’ ‘पुँजी परिचालन र नीतिगत सहजीकरण’ सहित तीन वटा शीर्षकमा प्यानल छलफल भएको थियो ।























