• ८ वैशाख २०८१, शनिबार

बहत्तर हजार वैदेशिक श्रमिक आबद्ध

blog

काठमाडौँ, वैशाख १८ गते । सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जोड्न सुरु गरेको एक महिनामा ७२ हजार ३९३ श्रमिक सूचीकरण भएका छन्। वैदेशिक रोजगारी र विदेशमा स्वरोजगार रहेका नेपालीलाई चैत ८ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गर्न सुरु गरिएको थियो। 

सामाजिक सुरक्षा कोषका सहप्रवक्ता रोहित रेग्मीले वैशाख १७ सम्म वैदेशिक रोजगारीमा जाने वा गएका ७२ हजार ३९६ जना योजनामा आबद्ध भएको जानकारी दिनुभयो। सो अवधिका विदेश जानेबाट कोषमा लगभग ११ करोड रुपियाँ जम्मा भएको छ।  

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एवं सामाजिक सुरक्षा कोषका बोर्ड अध्यक्ष एकनारायण अर्यालले वैदेशिक रोजगारीमा गएका, जाने तयारीमा रहेका तथा विदेशमा स्वरोजगार रहेका नेपालीको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा उत्साहजनक सहभागिता भएको बताउनुभयो। कोषमा सूचीकरण भएकामध्ये अधिकांश वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिन आवेदन दिएका श्रमिक छन्। 

सरकारले औपचारिक क्षेत्रका श्रमिक मात्रै योजनामा समावेश गर्दै आएकोमा चैत पहिलो साताबाट वैदेशिक रोजगारीमा रहेका सबै श्रमिकलाई योजनामा सामेल गराउन सुरु गरेको हो। नयाँ जाने श्रमिकले श्रमस्वीकृतिकै क्रममा योजनामा अनिवार्य आबद्ध हुनुपर्छ। वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रमस्वीकृति लिने बेला र श्रमस्वीकृति नवीकरण गर्ने बेला योजनामा समावेश हुन सक्ने कोषले जनाएको छ।

यसैगरी नवीकरण गर्ने समय नभएकालाई पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको सहकार्यमा तयार गरिएको अनलाइन प्रणालीमार्फत सूचीकृत हुन सक्ने गरी व्यवस्था गरिएको छ। योजनामा समावेश हुने श्रमिकले मासिक दुई हजार दुई रुपियाँ बुझाउनुपर्नेछ। रकम एकमुष्ट बुझाए जम्मा गरेको रकममा १० प्रतिशत छुट पाइनेछ। 

कोषका अनुसार यो रकम खल्ती, इसेवा र कनेक्ट आईपीएसमार्फत पनि जम्मा गर्ने व्यवस्था मिलाइएको छ। वैदेशिक रोजगारीमा रहेका २२ लाख श्रमिकलाई कोषमा समेट्ने तयारीसहित योजना सुरु गरिएको हो। कोषले अनौपचारिक र स्वरोजगार, सरकारी अस्थायी तथा करारमा रहेका श्रमिक र निजी तथा सङ्गठित क्षेत्रका श्रमिक समेट्ने योजना बनाएको छ। योजनामा आबद्ध भएपछि वैदेशिक रोजगारीमा रहेका श्रमिकले दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा सुविधा पाउनेछन्। सरकारले औद्योगिक क्षेत्रका श्रमिकका लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको कम्तीमा २१ दशमलव ३३ प्रतिशत योगदान गर्ने गरी योजनाको घोषणा गरेको हो।

यस्तो योगदान रकम कोषले दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७.४८ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत छुट्याएको छ। योगदानकर्ताले निवृत्तिभरण योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ट लिने वा सो रकमलाई १६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना जीवनभर निवृत्तिभरण रोज्न पाउनेछन्।

यसका साथै योगदानकर्ता दुर्घटनामा परेर अस्पताल भर्ना भए एक लाख रुपियाँसम्म उपचार खर्च पाउँछन्। कोषले उपचारको ८० प्रतिशत वा प्रतिवर्ष एक लाख रुपियाँ पाउने जनाएको छ।