• ११ पुस २०८१, बिहिबार

वीरगञ्जमा जथाभाबी फोहोर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा

blog

सडकमा फालिएको फोहोर । फाइल तस्बिर

वीरगञ्ज, वैशाख १६ गते । कहीँ तपाई वीरगञ्ज महानगर क्षेत्रमा जथाभाबी फोहोर त फाल्दै हुनुहुन्न ? यदि जथाभाबी फोहोर फाल्दै हुनुहुन्छ भने अबदेखि नफाल्नुहोला । नत्र तपाईँमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा दर्ता गरिनेछ ।

मधेश प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रलाई सुन्दर, सफा, नमुना महानगर बनाउने उद्देश्यले नियमित सरसफाइसँगै जथाभाबी फोहोर फाल्नेमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ । महानगरका सडक तथा गल्लीमा जथाभाबी फोहोर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याँक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले जानकारी दिनुभयो ।

“जथाभाबी फोहोर फाल्नेसँग हामीले गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउँदै आएका छौँ, अझै फोहोर फाल्ने क्रम रोकिएको छैन”, सरसफाइ शाखा प्रमुख सरफदिन मियाँले भन्नुभयो, “जरिवाना गर्दा फोहोर फाल्ने केही कम त भएको छ, तर अपेक्षाकृतरुपमा घटेको छैन ।” त्यसैले अब फोहोर फाल्नेलाई जरिवाना मात्रै होइन सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने  तयारी गरिएको उहाँले बताउनुभयो ।

गत पुस १७ गतेदेखि हालसम्म जथाभाबी फोहर फ्याँक्ने व्यक्ति र संस्था गरी तीन सय ६२ जनाबाट महानगरले रु आठ लाख ७१ हजार जरिवानाबापत राजस्व सङ्कलन गरेको छ । “घर, पसल र कार्यालयबाट निस्किने फोहर जताततै फ्याँक्ने प्रवृत्ति छ”, मियाँले भन्नुभयो, “त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहोर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ  ।” यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उहाँको भनाइ छ ।

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । महानगरपालिको वडा नम्बर १ देखि ३२ वडामा वीरगञ्जस्थित पृथी तारा एमके इनरनेशनल जेभीसँग गत २०७६ साल जेठ २ सम्झौला गरी नियमित सरसफाइ गर्दै आएको छ । 

विगतमा डम्पिङसाइड नहुँदा फोहोरमैला व्यवस्थापनमा समस्या हुँदै आएकोमा चार वर्षअघि महानगरले आफ्नो डम्पिङसाइड बनाएपछि फोहोरमैला व्यवस्थापनमा कुनै अहिले कुनै समस्या नरहेको उहाँले बताउनुभयो ।    

विगत केही वर्षअघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरको रूपमा परिचित महानगर क्षेत्रलाई सरसफाइ दृष्टिले मुलुककै नमुना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि यतिबेला वीरगञ्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको छ ।

केही वर्षअघिसम्म अतिक्रमण र फोहोरको चपेटामा परेको आदर्शनगर, घण्टाघर, बिर्ता, माईस्थानलगायतका सडक सफा र सुन्दर भएका छन् । आर्थिक राजधानीको रूपमा चिनिएको वीरगञ्ज महानगरको पर्यटन प्रवर्द्धनका लागि नगरक्षेत्रको सरसफाइलाई उच्च प्राथमिकतामा राखेर काम थालेको नगरप्रमुख राजेशमान सिंहले बताउनुभयो ।    

“बढ्दो जनघनत्व र सडकमै फोहोर फ्याल्ने प्रवृत्तिका कारण नगरक्षेत्र दुर्गन्धित र फोहोर देखिएको थियो”, नगरप्रमुख सिंहले भन्नुभयो, “फोहोर व्यवस्थापन गरी वीरगञ्जलाई सफा, सुन्दर र पर्यटकीय नगरी बनाउने मैले सङ्कल्प लिएको छु ।” बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण वीरगञ्ज महानगरपालिकामा दैनिक फोहोर उत्पादन बढ्दै गएको छ । रासस